रेशम चौधरी दोषी भएर जेलबाट निस्कए : रवि लामिछाने

रेशम चौधरी दोषी भएर जेलबाट निस्कए : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टीकापुर घटनामा निर्दोष छु भन्ने रेशम चौधरी दोषी भएर जेलमुक्त भएको टिप्पणी गरेका छन्।

पार्टीबाट समानुपातिक सांसद्को रूपमा सोमबार बिन्दबासिनी कंसाकारले सपथ लिएपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले कैद माफ हुनु निर्दोष हुनु नभएको बताए।

आफूले दुई दिनअघि भेट्दा चौधरीले निर्दोष छु भनेको स्मरण गर्दै लामिछानेले कैद माफ पाएर रिहा हुनु भनेको निर्दोष हुनु नभएको बताए।

‘हामी लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा थियौँ। चौधरी निर्दोष हुन् भने सोही अनुसार हुनुपर्ने पक्षमा थियौँ,’ उनले भने, ‘तर कैद माफ भएर जेलबाट छुट्दा उहाँमाथि न्याय भएन। थारु समुदायको जित भएन।’

लामिछानेले तीनै तहको अदालतबाट दोषी ठहर भएको अवस्थामा जुन प्रक्रियाबाट उनलाई मुक्त गरियो सो प्रक्रिया गलत भएको प्रतिक्रिया दिए।

गणतन्त्र दिवस पारेर सरकारको सिफारिसमा जन्मकैद पाएका रेशमको करिब १४ वर्ष बाँकी रहेको कैद राष्ट्रपति रामचन्द्र पौडेलले कैद माफ गरेपछि उनी आजै डिल्लीबजार जेलबाट रिहा भएका थिए।

जेठ १५, २०८० सोमबार १६:११:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।