सोमबारदेखि लुम्बिनी केबुलकार सञ्चालन हुने, तोकियो टिकटको मूल्य

सोमबारदेखि लुम्बिनी केबुलकार सञ्चालन हुने, तोकियो टिकटको मूल्य

बुटवल : आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकार जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सञ्चालन हुने भएको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी केबललकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार जेठ १५ गते बिहान ८ बजेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने जानकारी दिए।

‘जेठ १५ गते विहान ८ बजेदेखि आम सर्वसाधारण चढ्न पाउने गरी व्यावसायिक सञ्चालनमा आउँछ,’ अध्यक्ष ढकालले भने, ‘जेठ २५ गते औपचारिक रूपमा प्रधानमन्त्रीबाट उद्घाटन हुन्छ।’

बुटवलको वडा नं ३ मा बटम स्टेशन र पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ बसन्तपुरमा टप स्टेशन रहेको केबलकारले दुवै वडाका स्थानीयलाई केबलकार चढ्दा लिइने शुल्कमा ४५ प्रतिशत छुट दिइनेसमेत ढकालले बताए।

शिलान्याश गरेको तीन वर्षभित्रै केबलकार सञ्चालनमा आउनु महत्वपूर्ण उपलब्धी भएको उनले बताए। केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका थिए।

प्रालिले प्रति टिकट शुल्कको १–१ प्रतिशत रकम बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्याएको छ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा छ। बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ।

२.६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा संसारकै राम्रो मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला रहेको आयोजना प्रमुख गोकुल साउदले बताए।

पाँच अर्ब रुपैयाँको लागतमा बनेको केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटललगायतका संरचना निर्माण हुने उनले जानकारी दिए।

एक हजार दर कायम गरिएएको टिकट शुल्कमा विद्यार्थीलाई ४५ प्रतिशत छुट र ८० वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क गरिएको छ। यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ रुपैयाँ कायम गरिएको छ।

उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ।

१४ जेठ, २०८०, २०:५५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।