भुटानी शरणार्थी अनुसन्धानमा खाँणविरुद्ध कमजोर प्रमाण, अख्तियार प्रमुखदेखि आईजीपीसम्मको पद संकटमा

भुटानी शरणार्थी अनुसन्धानमा खाँणविरुद्ध कमजोर प्रमाण, अख्तियार प्रमुखदेखि आईजीपीसम्मको पद संकटमा

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका आरोपीहरूले आफूलाई उल्टो पीडित रहेको भन्दै एकले अर्कालाई पोल्दै बयान दिएका छन्।

पक्राउ परेकामध्ये जो-जो यस प्रकरणका मुख्य योजनाकार देखिएका छन्, उनीहरूले त आफूलाई सबैभन्दा पीडित भएको दाबी गरेका छन्।

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे अनि सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईको संलग्नताबारे प्रहरीले आवश्यक प्रमाण जुटाएको सरकारी वकिलको कार्यालयमा पुगेको प्रस्तावित राय र सुझावले देखाउँछ।

तर बयानमा भने उनीहरूले आफूलाई सबैभन्दा अब्बल राष्ट्र सेवक भएको दाबी गरेका छन्। रायमाझीले बयानमा राईको संलग्नता छ है भन्ने सङ्केत गर्दै मन्त्रालयभित्र सानु भण्डारी र केशव दुलालसँग झगडा परेको प्रसङ्ग उल्लेख गरेका छन्।

अन्य तीन जनाले आरोप पूर्ण रूपमा अस्वीकार गर्दै आफूले यस्तो सोच्न पनि नसक्ने तर्क गरेका छन्। प्रस्तावित राय सुझावमा उल्लेख भए अनुसार सबैभन्दा बलियो प्रमाण ईन्द्रजित राई अनि सचिव पाण्डेविरुद्ध देखिन्छ।

खाँणबारे पनि केही प्रमाण नभएका हैनन् तर यी दुवैमाथिको आरोप पुष्टि हुने तहको देखिएन। खाँणमाथिको आरोप पुष्टिका लागि उनको कार्यकालमा भएको निर्णय, पक्राउ परेका केही आरोपीको बयान, टेकनारायण पाण्डेले हिरासतमा हुँदा लेखेर पठाएको ‘सानु र केशवलाई इन्कारी बयान दिने वातावरण बनाउन’ दिएको सुझाव प्रमाण देखिएका छन्।

खाँणको हकमा लेनदेनको पुष्टि हुने तहको प्रमाण देखिएन। रायमाझीको हकमा समेत तुलनात्मक रूपमा प्रमाण केही बलियो देखिन्छ।

सानु भण्डारीसँग रामबहादुर थापाका छोरा प्रतीकको लेनदेन भएका प्रमाणहरू प्रतिवेदनमा देखिए। तर प्रतीकले सो लेनदेन एकै कम्पनीमा साझेदार हुँदा भएको कारोबार रहेको दाबी गरेका छन्।

सबैभन्दा बलियो प्रमाण देखियो इन्द्रजित राईविरुद्ध। उनको संलग्नता पुष्टिका लागि उनी गृहमन्त्रीको सुरक्षा सल्लाहकार भएदेखि उकासिएको आर्थिक अवस्थाले नै देखिन्छ।

पक्राउ मुख्य आरोपीहरूको बयानअनुसार त उनी यो शरणार्थी प्रकरणको मुख्य योजनाकारै देखिन्छन्। बयानको रोचक पक्ष गिरोहका मुख्य बिचौलिया देखिएका केशव दुलाल, सानु भण्डारी अनि सन्देश शर्मा तीनै जनाले बयानमा आफूलाई ईन्द्रजित राईले भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर ठगेको बयान दिएका छन्।

राष्ट्रघातका चार रणनीतिकार

खाँण : पहिला गिफ्ट लिने, पोल खुल्ने भयले फ्याक्ट्री रिसेट

बालकृष्ण खाँणले बयानमा सबै आरोप अस्वीकार गरेका छन्। तर प्रहरीले प्रतिवेदनमा खाँणले तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, प्रतिवादी केशव प्रसाद दुलाल, नरेन्द्र केसी,आङटावा शेर्पा समेतलाई प्रत्यक्ष परिचालन गरेर सङ्गठित ठगी र राष्ट्रहित प्रतिकुल काम गरेको र अपराधको नेतृत्वदायी र सक्रिय भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको छ।

‘आपराधिक समूहका अन्य प्रतिवादीहरूलाई परिचालन गरी जाहेरवालाहरू समेतबाट सङ्कलन गरिएको ठगीको रकम बाँडफाँड गर्ने र लिने खाने काममा संलग्न देखियो’, प्रतिवेदनमा उल्लेख छ।

गृहमन्त्री रहँदा भुटानी शरणार्थी समस्या समाधानको आवरणमा उनले गरेका र गराएका निर्णय, पहिलेको मन्त्रिपरिषद्बाट फिर्ता भएको प्रतिवेदनसँग मिल्ने समानान्तर प्रतिवेदन बनाएर मन्त्रिपरिषद्बाट स्वीकृत गराउने, केशव प्रसाद दुलालले एक करोड २४ लाख दिएको बयानलाई प्रमाण मानेको छ।

खाँणलाई दुलालले रकम दिने, गिफ्ट दिने लगायतका संवाद, पक्राउ पर्नु अगाडि प्रमाण मेट्न मोबाइलको फ्याक्ट्री रिसेट गराउनुलाई समेत प्रमाणको रूपमा उल्लेख गरिएको छ।

सचिव पाण्डे पक्राउ परिसकेपछि हिरासतबाटै उनले खाँणलाई कसुरबाट जोगाउन प्रधानमन्त्री समेतलाई भनेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन नदिन तथा दुलाल र सानु भण्डारीले दिएको रकम फिर्ता गरेर इन्कारी बयान गर्न लगाउने ब्यहोराको सूचना खाँण र उनको स्वकीय सचिव नरेन्द्रबाटै बरामद भएको उल्लेख छ।

खाँणले आङटावा शेर्पालाई भण्डारी र दुलाललाई हिरासतमा भेट्न पठाएको, दुवै सहमत भएपछि शेर्पामार्फत एक करोड रकम फिर्ता गरेको विषयलाई समेत प्रमाण लिएको देखियो।

२- गिरोहसँग ह्वाट्सएपमा गहिरो संवाद, बहाना सुराकीको

सचिव टेकनारायणको हकमा ह्वाट्सएप र भाइवरमा फेला परेका विवरण सबैभन्दा बलियो प्रमाणको रूपमा लिएको देखिन्छ। सरकारी निर्णय पठाउने, लामा संवाद गर्ने, फाइनान्सियल अरेन्ज गर्ने, गिफ्ट दिने जस्ता संवादलाई समेत मुद्दामा प्रमाण लिइएको छ।

उनले बयानमा शरणार्थी समस्यालाई राजनीतिक परियोजनाको रूपमा विकास गरेको अनि मन्त्रालयमा राजनीतिक सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिने दाबी गरेका छन्।

उनले गिरोहका सदस्य अझ विशेष दुलालसँग नियमित सम्पर्कमा बस्ने अनि सरकारी निर्णय पठाउनुको कारण ‘आवश्यक सूचनाका लागि केशवप्रसाद दुलालसँग सम्पर्क गरेको, सूचना लिन निकटता कायम गर्नुपर्ने भएकाले बढी कुराकानी भएको देखिएको’ दाबी गरेका छन्।

कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्मै नपुगी सचिवस्तरिय निर्णय गरेर छुट भएका शरणार्थी प्रमाणीकरण गर्न कार्यदल बनाउने, नक्कली प्रतिवेदन बनाएको, गृहमन्त्रीले गर्ने बैठकको परम्परा तोडेर युएनएचसिआरका प्रतिनिधिसँग आफैँ बैठक गरेको, दुलालबाट एक करोड २४ लाख लिएको र विभिन्न बैङ्क खातामा आठ महिनाको अवधिमा ८४ लाख जम्मा गरेको देखिएकोलाई समेत प्रमाणको रूपमा उल्लेख छ।

पक्राउ पर्नुअघि उनले मोबाइल फर्म्याट गरेका थिए। यसमा उनले कारण देखाएका छन्- ‘दिल्लीमा जाँदा मोबाइल बिग्रिएर बनाउन दिँदा डेटा उडेको हुनसक्ने।’

- टोपबहादुर रणनीतिकार तर बन्दैछन् अनजान

टेकनाथ रिजाललाई नेपालीलाई भुटानी बनाउन सहयोग गर्न आग्रह गरेको, प्रतिवादीहरूसँग बारम्बार मिटिङ गरेको अनि दुई करोड नगद लिएको विवरण उनीविरुद्धका प्रमाण हुन्।

ईन्द्रजितको कार्यकक्षमा हातपातै हुँदा उनले सहजकर्ताको भूमिका खेलेको समेत प्रतिवेदनमा उल्लेख छ। रायमाझीले बयानमा आफू गृह मन्त्रालयमा हुँदा ईन्द्रजितको कोठाबाट ठूलो आवाज आएपछि गएर हेर्दा दुलाल र भण्डारीसँग झगडा भइरहेको बयानमा खुलाएका छन्।

योजनामा संलग्न गिरोहका सदस्यहरूसँगको लामो उठबस अनि सानु भण्डारीको डायरीको विवरणलाई समेत प्रमाणको रूपमा उल्लेख गरिएको छ।

४-ईन्द्रजित : धूर्त असुलीकर्ता

कार्यदल गठनकै चरणबाट सक्रिय देखिए ईन्द्रजित। सानु भण्डारीको सिफारिसमा विषय विज्ञता विना नै गणेशबहादुर केसीलाई कार्यदलमा राखेको, चार करोड ५० लाख लिएको बयान र विवरण अनि उकासिएको आर्थिक हैसियत उनीविरुद्धका मुख्य प्रमाण हुन्।

अनुसन्धान प्रतिवेदनमा राईको नेपाल इन्भेस्टमेन्टमा रहेको  खातामा २०२१ सेप्टेम्बर ६ देखि अक्टोबर ३ सम्ममा तीन करोड ४५ लाख जम्मा भएको विवरण उल्लेख छ।

यहीबीचमा २०७६ असोज ९ मा श्रीमतीको नाममा ८ आना जग्गा ७७ लाखमा किनेको, २०७८ वैशाख १४ मा चार आना जग्गा एक करोड ८३ लाखमा किनेको अनि २०७७ असार २ मा अर्को चार आना जग्गा किनेको विवरण समेत जुटाएको देखियो प्रहरीले।

प्रमाण भएर आरोपी नभएकाहरू

नक्कली भुटानी प्रकरणमा आरोपी बनाइएकाहरूलाई पक्राउ गर्दा खुलेका अधिकांश आधार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, उनको श्रीमती नैनकला थापा, तत्कालीन गृह सचिव प्रेम राई अनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको हकमा पनि खुलेका छन्।

यति मात्रै हैन, काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर विद्या सुन्दर शाक्य, प्रदेश मन्त्री अजय क्रान्तिसम्म रकम लेनदेनमा पोलिएका छन्।

नक्कली भुटानी शरणार्थीको विषयमा प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रस्तावित राय अनि सुझावमा संलग्न प्रमाण अनि आरोपीहरूको बयानमा एक ठाउँमा हैन बारम्बार पोलिएका छन् उनीहरू।

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ पर्नुको अन्य कारणहरूमध्ये सानु भण्डारीको डायरीमा उनको नाममा लेखिएको रकम विवरण पनि प्रमुख देखियो प्रतिवेदनमा।

यति नै प्रमाणका आधारमा अन्य व्यक्तिहरू पक्राउ पर्दा यी चार भने अनुसन्धानको दायराबाट बाहिरै रहे।

रकम लेनदेनको बयान र केही प्रमाणको आधारमा बादल र नैनकलाका छोरा प्रतीक थापाविरुद्ध पक्राउ आदेश जारी भयो। त्यति नै प्रमाण देखियो हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको हकमा। तर उनी अनुसन्धानको औपचारिक दायरामै तानिएनन्।

बादल अनि नैनकलाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल्ने गिरोहबाट पैसा लिएको आरोपीहरूको बयानमा देखिन्छ।

अरू त अरू तत्कालीन प्रधानमन्त्री ओलीका स्वकीय सचिव बज्राचार्यले कहाँ कसरी अनि कति पैसा लिए भन्ने विवरण खुल्दा समेत उनी आरोपी नबन्दा प्रहरी अनुसन्धान प्रभावमा परेको प्रस्टै देखियो।

बालकृष्ण खाँण योजनाकारकै आरोपमा पक्राउ परे। उनीसँगै उनको श्रीमती मञ्जु खाँणले समेत यो गिरोहबाट ६ करोड पैसा लिएको अडियो सार्वजनिक भएको थियो। मञ्जुसँगै आरजु राणाको नाम समेत पोलिएको थियो अडियोमा।

गजेन्द्र र सानु भण्डारीबीचको संवादको अडियोबारे प्रहरीले बयानमा आरोपीहरूसँग प्रश्न सोधेको देखिन्छ। संवादबारे अधिकांशले जानकारी नभएको बयान दिएका छन्। सानुले भने अडियो आफ्नो भएको तर पहिल्यै योजना बनाएर बोलेको दाबी गर्दै मञ्जु अनि आरजुसँग भेटघाटै नभएको दाबी गरेका छन्।

सचिव पाण्डे पक्राउ परेका आरोपीबीचको ह्वाट्सएप संवादले प्रहरी महानिरीक्षक बसन्त कुँवरको भूमिका समेत शंकास्पद देखायो। उनी यसअघि नै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयको प्रमुखमा रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपी छाडेको विवादमा तानिइसकेका थिए।

आर्थिक लेनदेनको संकेत गर्दै भएको संवादले उनीमाथि नैतिक दबाब बढ्ने देखिन्छ।

ठूलो प्रमाण बन्यो आफ्नै मोबाइल

अनुसन्धानमा पक्राउ परेका आरोपीहरूका लागि सबैभन्दा ठूलो शत्रु उनीहरूकै मोबाइल बनेको छ। अनुसन्धानमा सबैभन्दा ठूलो प्रमाण सन्देश शर्माको मोबाइल भएको थियो।

त्यसमा अन्य आरोपीका मोबाइलले पनि अनुसन्धानमा सघायो। प्रहरीले मोबाइलको अनुसन्धान गर्न थालेको खबर बाहिरिएपछि भएका डेटा मेट्न अनेक जुक्ति निकाले।

सचिव पाण्डेले माेबाइल फ्याक्ट्री रिसेट गरेका थिए। उनले यसको बहाना दिल्ली जाँदा मोबाइल बिग्रिएर बनाउँदा दिँदा डेटा मेटिएको होला भन्ने बहाना बनाए। तर प्रहरीले उनको मोबाइलबाट अधिकांश आवश्यक प्रमाण रिकभर गर्यो।

खाँणले पनि उही जुक्ति निकाले। उनको मोबाइलका अधिकांश डेटा अझै रिकभर भएको छैन।

हज कमिटीका अध्यक्ष शमशेर मियाँको मोबाइलै फेला परेन। बयानमा उनले पक्राउ पर्ने डरले सिम निकालेर भाँचेको अनि भारतको गोरखपुरको खोलामा मोबाइल फ्याकेको बयान दिए।

सबैभन्दा बलियो प्रमाण सानुको बयान र डायरी

नक्कली भुटानी शरणार्थी प्रकरणमा सबैभन्दा बलियो प्रमाण देखियो आरोपी सानु भण्डारीको घरमा फेला परेको डायरी जहाँ अधिकांश लेनदेनका विवरण टिपिएको थियो।

अनि उनको बयान जहाँ आफूलाई पीडित भएको दाबी गर्दै अन्यबारे महत्त्वपूर्ण विवरण खुलाएका छन्।

उनले बयानमा २०७३ चैत १० देखि २०७४ जेठसम्म गरेर टोपबहादुर रायमाझीलाई दिएको रकम खुलाएका छन्। उनको डायरीमा ‘टोपबहादुर मामा’ भनेर हिसाब लेखिएको छ। मामा भनेका उनै पूर्व उपप्रधानमन्त्री टोपबहादुर भएको बयानमै खुलाएका छन्।

२०७३ वैशाख ९ मा ‘नीरज सरलाई दिएको नगद’ भनेर लेखेको पानामा २०७६ असार ३ मा ५० लाख, असार २३  मा नीरज राई सरलाई ३५ लाख, २०७६ असार २६ मा नीरज राई सरलाई फेरि नगद र डा. ईन्द्रजित राई सरलाई दिएको ६५ लाख भनेर लेखिएको हिसाब छ। उनले यी सबै ईन्द्रजित राई र उनको छोरासँगको कारोबार रहेको खुलाएका छन्।

उनको डायरीको १४औं पानामा भुटानी शरणार्थीको रकमबाट भएको खर्च विवरण भनेर उल्लेख गरिएको छ। त्यसमा २०७६ असार २० गते टोपबहादुरलाई ५० लाख नगद अनि २६ गते पुन तीन लाख दिएको, सन्दीप भाइलाई तीन लाख लेखेको छ। सन्दीप भाइ भनेको टोपबहादुरका छोरा हुन्।

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत नायब सुब्बा सुरेन्द्र कुमार दाहालसँग प्रेम राईले चिनाएको, पैसा फिर्ता माग्दा ईन्द्रजित र प्रतीकले प्रेम कुमार राईको नाम लिएर धम्क्याएको समेत खुलाएका छन्।

पूरक बयानमा उनले २०७६ असार २ मा नीरज राई र ईन्द्रजितलाई होटेलमा भेटेर एक करोड ५० लाख दिएको अनि पछि राईले किनेको घरका धनीलाई नगद एक करोड दिएको समेत बयान दिएका छन्।

साउन २५ मा मन्त्री क्वाटर गएर नैनकला थापालाई एक करोड दिएको, ईन्द्रजितले ‘सचिवको गाडी हो पैसा राखिदिनु’ भनेपछि प्रेम राईको गाडीमा एक करोड राखिदिएर सचिव प्रेम राईको कार्यकक्षमा गएपछि ‘अब काम हुन्छ’ भनेको समेत खुलाएका छन्।

बयानमा उनले २०७६ असार ८ गते रायमाझीको घरमै गएर एक करोड ६० लाख दिएको अनि ४० लाख रायमाझीको छोरा सन्दीपलाई चेकबाट भुक्तानी गरेको बताएका छन्।

बयानहरूबाट टेकनाथ रिजालको घरमा गएर ११ लाख दिएको, उनले भुटानी शरणार्थीमा नाम छुटेको निवेदन लेख्न लगाएर हस्ताक्षर गर्न लगाएको देखिन्छ।

टङ्क गुरुङ, केशव दुलाल अनि सन्देश शर्मा बायोमेट्रिक गराउनदेखि पैसा असुल्न संलग्न देखिएका छन्। रिजालले परिचय पत्र बनाइदिएर फोटो खिच्न लगाएको केही आरोपीको बयानमा उल्लेख छ।

टेकनाथ रिजालको बाकस बोकेर झापा लगेको र नक्कली भुटानी परिचय पत्र जलाउन लगाएको समेत बयानमा खुल्छ।

राईले भण्डारीसहित उनका परिवारका सदस्यलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर रकम लिएको र ललितपुरमा रहेको घर आइसीएफसी फाइनान्समा राखेर पैसा दिएको विषय समेत बयानमा खुलेको छ।

मास्टरमाइन्ड केशव आफैँ बने पीडित

केशवप्रसाद दुलाल नक्कली भुटानी प्रकरणको सबैभन्दा सक्रिय देखिन्छन्। तर उनले बयानमा अन्यलाई मज्जाले पोलेर आफूलाई निर्दोष मात्र हैन उल्टो पीडित भएको दाबी गरेका छन्।

उनले बयानमा कसले कति पैसा लिएको खुलाएका छन्। तर सानुले भनेको भन्दै प्रमाण अर्कातिर पन्छाएका छन्। उनले त्रिपुरेश्वरमा रहेको आँगन होटेलमा भेटेर डा. ईन्द्रजित राईलाई एक करोड ५० लाख दिएको सानुले भनेको, सन्देश शर्माले केशव दुलाललाई ह्वाट्सएपमा भुटानी शरणार्थी सम्बन्धी सरकारले गरेको विभिन्न निर्णय पठाएको खुलाएका छन्।

आफूले उच्च अधिकारी र प्रधानमन्त्रीसँग भुटानी शरणार्थीबारे कुरा नगरेको, सन्देश शर्मा र गजेन्द्र बुढाथोकीबीच मञ्जु र आरजुबारे भएको कुराकानीबारे थाहा नभएको भन्दै उनले सन्देश शर्माले आफू र आफन्तलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भनेर एक करोड लिएको ठगेको दाबी पो गरेका छन्।

उनले श्रीमतीको नाममा जम्मा भएको २० लाख ऋणको रकम भएको दाबी गरेका छन्।

उनले ईन्द्रजित राईसँग त्रिपुरेश्वरको आँगन रेस्टुरेन्टमा भेटेर एक करोड ५० लाख नगदी दिएको भनेका छन्। सोही दिन ईन्द्रजित आफू र सानु भएको बेलामा ईन्द्रजितले पैसा लिएको हुँ भनेको बयानमा उल्लेख छ।

सानुले हिमालय होटेलमा थप दुई करोड दिएको जानकारी गराएको, नैनकलालाई एक करोड दिएको भनेको, छोरा प्रतीकले नैनकलालाई फोन गरेर पैसा पाउनुभयो भनेर सोधेको र उनले पाएँ भनेको पनि बयानमा छ।

सानुले प्रेम राईलाई मन्त्रालयमा भेटेर एक करोड, रायमाझीलाई पनि पैसा दिएको अनि राईले झुटो कागज बनाएर राखेको सानुले भनेको भन्दै उतै पन्छाएका छन्।

सानुको डायरीमा २०७६ जेठ २९ देखि २०७६ असार २७ सम्म दुलाल मामा भनेर उल्लेख गरेको विवरण स्वीकार्दै दुलालले भनेका छन्- ‘मैले बुझाएको रकमको विवरण हो। त्यो मेरो आफ्नै पैसा हो। भुटानी भएर अमेरिका जान ईन्द्रजितलाई दिन सानुलाई पैसा दिएको हो।’

पूरक बयानमा उनले गृह मन्त्रालयमा पाण्डेको कार्यकक्षमा रहेको गोप्य कोठामा पटक-पटक लगेर पैसा दिएको, बादलले तपाईं र तपाईंको परिवारलाई अमेरिका पठाउँछु भनेर मन्त्री क्वाटरमा बोलाएर राष्ट्रिय सभाको निर्वाचन अगाडि प्रतीक थापामार्फत तीन करोड लिएको दाबी गरेका छन्।

प्रितमले नक्सालमा बोलाएर २०७६ असारमा एक करोड लिएको उनको दाबी छ। उनले टोपबहादुरको स्वकीय सचिव लीला जिसीमार्फत राजेश बज्राचार्यले बालुवाटारमा बोलाएर २०७६ असोजमा एक करोड नगद बुझेको दाबी गरेका छन्।

जिसीले पछि सामाजिक समितिबाट निर्णय गराउन भनेर असोजमै मन्त्री क्वाटरमा बोलाएर एक करोड लिएको, ओलीका सल्लाहकार डा. अजयक्रान्ति शाक्य र काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले एक करोड बुझेको प्रतिवेदनमा दाबी छ।

सानुले पनि बयानमा आफू पनि अमेरिका जाने भनेर फसेको तर्क गरेका छन्।

ईन्द्रजित राईले आफूसहित परिवारका सदस्यलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर पैसा लिएको अनि पैसाको स्रोत चाहिँ ललितपुरमा रहेको घर आइसिएफसि फाइनान्समा राखेको दाबी गरेका छन्।

सन्देश शर्माको बयान अनुसार केशव योजनाकार

अर्का गिरोहका सदस्य सन्देशको बयान पत्याउने हो भने सबै काम केशवले गरेका हुन्। उनी निर्दोष छन्। उनी पनि भुटानी शरणार्थी बनेर अमेरिका जाने लोभमा फसेका हुन्।

उनको बयान जे भए पनि अन्य तथ्य प्रमाणले भने उनी यो खेलको मास्टरमाइन्डमध्ये एक भएको देखाउँछ।

उनले बयानमा तीन वर्ष अगाडि भुटानी बनेर अमेरिका जान पाइन्छ भन्ने सुनेर खोज्दा केशव दुलाल भेटिएको,  दुलालले रामकुमार रेग्मीलाई चिनेको छु कुरा गरौँला भनेको बताएका छन्।

पछि गजेन्द्र बुढाथोकी अमेरिकाबाट नेपाल आएर दुलाल र रेग्मीसँग बसेर अमेरिका जाने र लैजानेबारे छलफल भएको, केशव दुलालले भुटानी शरणार्थीबारे सबै जानकारी गराएको उनको बयानमा उल्लेख छ।

केशवले माथिल्लो निकायका सबैलाई चिन्छु कागज मिलाएर नेपालीलाई अमेरिका पठाउन सकिन्छ भनेको, जाहेरीकर्ता कसैलाई नचिन्ने, कसैसँग रकम नलिएको अनि केशव दुलालले पठाएको डकुमेन्ट जाहेरीकर्ता रामकुमार रेग्मीको ह्वाट्सएपमा पठाएको भन्दै उनले २० जनाबाट तीन करोड ८५ लाख लिएको अस्वीकार गरेका छन्।

उनले गजेन्द्र बुढाथोकी र रेग्मीले पैसा उठाएर केशवलाई बुझाएको, मञ्जु र आरजुबारे गजेन्द्रसँगको अडियो वार्तालाप आफ्नो भएको स्वीकार गरे पनि उनले 'हामीले भनेको मान्छेलाई पैसा दिएको हो भनेर भन्नु भनेर पहिला सिकाए अनुसार कुरा गरेको हास्यास्पद दाबी गरेका छन्।

१० जेठ, २०८०, ०६:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।