बुढानिलकण्ठ घटनामा न्याय हराएको ४१ महिना, नैतिक प्रश्नको घेरामा तीन न्यायाधीश

बुढानिलकण्ठ घटनामा न्याय हराएको ४१ महिना, नैतिक प्रश्नको घेरामा तीन न्यायाधीश

काठमाडौँ : शक्तिले मैमत्त एक जवानको अपराधलाई झन्डै बदनियत राखेका न्यायाधीशले अन्जानमा भएको दुर्घटना बनाइदिएका थिए। ४१ महिनाको लामो कानुनी लडाइमा कानुनले सत्मार्ग समात्यो। तर सजाय सुनाइएका कहाँ छन् पत्तो छैन।

प्रसङ्ग हो २०७६ मङ्सिर २७ गते बूढानीलकण्ठमा भएको एक दुर्घटनाको जसमा मदिराको मस्तीमा मैमत्त भएका एक युवाले बिहान मर्निङवाकमा निस्किएकी लीला देवकोटालाई मुढा ढाले जस्तै सडकमै ढालेका थिए।

ती थिए पृथ्वी मल्ल। उनले मदिराको तालमा तीव्र गतिमा चलाएको बा१४च ६१२३ नम्बरको स्वीफ्ट कारले देवकोटालाई अकालमै आफ्नो परिवारबाट छुटाएर लगेको थियो। मदिरामा मस्त भएर सवारी चलाउँदा घटना भएको यथेष्ट प्रमाण भए पनि शक्तिको आडमा न्यायमुर्तीको कुर्सीमा भएकाको न्यायिक मन प्रभाव पार्दै उनले अपराध अनुसारको सजायबाट उन्मुक्ति पाइरहेका थिए।

जिल्ला अदालतका न्यायाधीशले गरेको बदनियतपूर्ण फैसला उच्चले उल्टाउँदै उनलाई अपराध अनुसारको दण्ड र जरिवाना तोकिदियो आइतबार। ६ महिना कैद अनि एक हजार जरिवानाको सामान्य सजाय सुनाइएका मल्ल अब चार वर्ष कैदमा बस्नुपर्ने छ। ३० हजार जरिवाना तिर्नुपर्ने छ।

न्यायमाथि चलखेल

कारले सडकको दक्षिण दाहिने पेटीबाट हिँड्दै गरेकी पैदल यात्री देवकोटालाई गलत साइडमा गएर ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। नजिकै रहेको बिजुलीको पोल अनि मोटरसाइकलमा समेत क्षति पुर्याएकाले कारको गति सहजै अनुमान गर्न सकिन्थ्यो।

अस्पताल पुर्याइए पनि देवकोटाको ज्यान बच्न सकेन। उनको मृत्यु भयो। उनको पोस्टमार्टम रिपोर्टमा छातीमा ठूलो धक्काका साथ ठक्कर दिएकाले मृत्यु भएको उल्लेख थियो।

मल्ल घटनास्थलमै फेला परेकाले प्रहरी वृत्त महाराजगन्जले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गर्यो। अनुसन्धानमा उनी रातभर साथीहरूसँग ठमेल लगायतका क्षेत्रको रात्रिकालीन क्लबमा बसेर मदिरा पिएको खुल्यो।

बिहानीपख भोक लाग्यो भन्दै उनी साथीहरू लिएर बूढानीलकण्ठमा रहेको बुढानिलकण्ठ रिसोर्टमा गएर खाजा र मदिरा पिएर फर्कनेक्रममा दुर्घटना भएको खुल्यो। मदिरा पिएर सवारी चलाउँदा दुर्घटना हुँदा जानाजान दुर्घटना गराएको ठहरिने थियो। यसले सिधै सवारी ज्यान आकर्षित हुन्थ्यो।

उनले मदिरा नपिएको बनाउन अनेक चलखेल सुरु भयो। तर उनको रात्रिकालीन दैनिकीले मदिरा नपिएको ठहर्याउन कठिन थियो। मदिरा मात्रै पिएको हैन उनीसँग सवारी चालक अनुमति पत्र समेत नभएको खुल्यो। सवारी चालक अनुमति पत्र छ भन्ने देखाउन नक्कली अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्र देखाइयो।

दुर्घटनामा परेको कार।

जिल्ला न्यायाधीवक्ताको कार्यालय काठमाडौंले सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ को दफा १६१ को उपदफा २ अनुसार लापरबाहीपूर्ण रूपमा सवारी चलाएको माग दावी गर्दै सोही अनुसारको सजायको माग गरेको थियो।

अनेक चलखेलहुँदा, जिल्ला अदालतबाट २०७८ चैतमा ऐनको दफा १६१ को उपदफा ३ बमोजिम सजाय तोकियो।

उपदफा २ मा लापरबाहीपूर्ण रूपमा सवारी चलाएर ज्यान गएको हकमा १० वर्षसम्म कैद र ३० हजारसम्म जरिमानाको प्रावधान छ। अदालतले फैसला गर्दा समातेको उपदफा ३ मा कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा दुर्घटना भएर कसैको ज्यान गएको अवस्थामा एक वर्ष कैद र २ हजार जरिमानाको प्रावधान छ।

न्यायाधीश सूर्यप्रसाद अधिकारीको एकल इजलासले आंशिक मात्रै माग दावी पुग्ने फैसला गर्दै जम्मा ६ महिना कैद र १ हजार जरिवाना तोकेर गम्भीर अपराधबाट उन्मुक्ति दिए। फैसलाको आलोचना भएपछि जिल्ला न्यायाधीवक्ताको कार्यालयले पुनरावलोकन गर्ने निर्णयमा पुग्यो र गयो पनि।

सोही पुनरावलोकनको आधारमा आइतबार उच्च अदालत पाटनबाट जिल्ला अदालतको फैसला उल्टिँदै मल्लले लापरबाहीपूर्ण रूपमा सवारी चलाएर पैदल यात्रीलाई ठक्कर दिएको ठहर गर्दै चार वर्ष कैद अनि ३० हजार जरिमानाको सजाय

रक्सी खाएर सवारी चलाए तर हैन भने

घटनाको मिसिलमा घटनाको दिन मल्लसहित चार दिन रातभर ठमेल क्षेत्रका लाउन्ज र रेष्टुरेन्टहरुमा बसेर रक्सी खाएर बिहान भोक लागेपछि खाना लिन बूढानीलकण्ठमा रहेको रिसोर्टमा गएको पुष्टि हुने प्रमाणहरू रहेका थिए। उनीहरू रिसोर्टबाट फर्कँदा यो दुर्घटना भएको थियो।

जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरी निरीक्षक अनिता महतले मल्लसँग लिएको बयानमा उनले 'ज्याक डेनिअल्स नामक रक्सी खाएको थिएँ, नसाको सुरमा के कति खाएँ थाहा भएन। मादक पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना भएको हो’ भनेर स्विकारेका थिए।

दुर्घटनाको बेलामा कारमै रहेका करिश मास्केको बयानमा उनले सबैभन्दा पहिला नै बियर खाएको देखिएकै थियो। एलओडी लगायतका रेष्टुरेण्टमा बसेर रातभर रक्सी खाएर बसेका उनीहरू क्लब बन्द भएपछि भोकले रन्थनिएर बूढानीलकण्ठमा रहेको रिसोर्टतिर लागेको प्रमाणहरू थिए मिसिलमा।

उनले रक्सी खाएको तथ्य चिरायु अस्पतालमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत पुष्टि गरेको थियो। अस्पतालको इमर्जेन्सीमा लगेर गरिएको मल्लको स्वास्थ्य परीक्षणमा अल्कोहल ब्रेथ प्लस लेखिएकै थियो। तर अदालतको जिरहकोक्रममा मापसे गर्दै नगरेको बनाउने प्रयत्न भयो।

नेपाली सवारी चालक अनुमति पत्र छैन, अन्तराष्ट्रिय नि नक्कली

प्रहरी अनुसन्धानको क्रममा उनले नेपाली सवारी चालक अनुमति पत्र पेस गर्न सकेनन्। चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी चलाउने अनुमति पत्र पाएको तर रक्सी खाएर गाडी चलाउँदा ट्राफिकले भेटेर चिट काटेर लाइसेन्स लिएको तर्क गरे। पछि त उनीसँग सवारी चालक अनुमति पत्र नै नभएको खुल्यो।

जिल्ला न्यायाधिवक्ताको रोहबरमा दिएको बयानमा उनले यो सबै स्वीकार गरे तर अदालतमा गएर बयान बदले। अदालतमा दिएको बयानमा उनले रक्सी नखाएको दाबी मात्र गरेनन्, कहिल्यै रक्सी नखाने दाबी समेत गरे।

नक्कली अन्तराष्ट्रिय लाइसेन्स।

उनले प्रहरी बयानमा आफूले सवारी चालक अनुमति पत्र पाएको र त्यसमा ए क्याटोगरी अर्थात् २ पाङ्ग्रे र बि क्याटोगरी अर्थात् हलुका चार पाङ्ग्रे सवारीसाधन चलाउने अनुमति रहेको बयान दिएका थिए।

उनले २०७२ साल जेठ २१ मा लाइसेन्स निकालेको देखियो। उनले मापसेमा परेर ट्राफिकले नै लाइसेन्स लगेको र आफूले ननिकालेको भनेपछि प्रहरीले यातायात व्यवस्था विभागमा उनको विवरण मगायो। विवरण आउँदा उनले दुई पाङग्रेको मात्र अनुमति लिएको र परीक्षामा त्यही पास गरेकाले २ पाङ्ग्रे सवारीसाधन चलाउने अनुमति मात्र पाएको पत्र पठायो।

विभागको पत्रले उनले सवारी चलाउन पाउने अनुमति नै नलिई सवारी चलाएको पुष्टि भयो। जब उनको झुटको पोल खुल्यो अनि खेल सुरु भयो अन्तर्राष्ट्रिय सवारी चालक अनुमति पत्रको।

अदालतमा पुन बयान बदल्दै नेपालमा चार पाङ्ग्रे सवारी चलाउने अनुमति पत्र नलिएको तर सन् २०१९ मा अमेरिकाको फ्लोरीडाबाट इन्टरन्यासनल ड्राइभिङ लाइसेन्स लिएको दाबी गरे। उनले फ्लोरिडाको लाइसेन्स पेस गरे।

अन्तर्राष्ट्रिय लाइसेन्स भएको हकमा नेपालमा पनि सवारी चलाउन पाइन्छ। तर उनले पेस गरेको अन्तर्राष्ट्रिय लाइसेन्स समेत नक्कली थियो।

पोस्टमार्टम र घटनाका साक्षीमाथि अविश्वास

मल्लले चलाएको गाडीले हिर्काउँदा लीला देवकोटा घाइते भएको देख्नेहरू प्रशस्तै थिए। नजिकैको वर्कसप सञ्चालकदेखि कारभित्रै रहेकाहरूले समेत कार अनियन्त्रित भएर आफ्नो साइड छाडेर विपरीत दिशाको फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको पुष्टि गरेको थियो।

घटनास्थलको मुचुल्कामा 'उत्तर तर्फको सडकमा अगाडिको भाग सबै फुटेको अवस्थामा बा१४च ६१२३ नम्बरको स्वीफ्ट कार रहेको। सोही स्थानमा विष्णुमती खोला तर्फबाट पृथ्वी मल्लले चलाई ल्याएको कारले सडकको दक्षिण दाहिने पेटीबाट हिँड्दै गरेकी पैदल यात्री लीला देवकोटालाई गलत साइडमा गएर ठक्कर दिई गम्भीर घाइते बनाउनुका साथै बिजुलीको पोल र मोटरसाइकलमा समेत क्षति पुर्याएको' उल्लेख छ।

देवकोटाको पोस्टमार्टम रिपोर्टमा छातीमा ठूलो धक्काका साथ ठक्कर दिएकाले मृत्यु भएको उल्लेख छ। उनी घाइते अवस्थामा घटनास्थलमा भेटिएकी थिइन् र उपचारका लागि नजिकैको न्युरो अस्पताल पुर्याउँदा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए।

तर जिल्ला अदालतमा यी सबै प्रमाणको अपव्याख्या भएको थियो घटनालाई अन्जानमा भएको दुर्घटना बनाउन।

कारण अधिक मापसे तर बहाना प्राविधिक खराबी

मल्लले अदालतमा दिएको बयानमा गेयर जाम हुँदा कार अनियन्त्रित भएको दाबी गरे। तर उनले प्रहरी बयानमा रातभर रक्सी खाएर नसुत्दा कार चलाउँदा चलाउँदै झ्याप्पै निद्रा लाग्दा घटना भएको स्विकारेका थिए।

प्रहरीले गराएको गाडीको प्राविधिक परीक्षणमा गाडीको गियर अनि ब्रेक सकुशल रहेको प्रतिवेदन मिसिलमै संलग्न थियो। तर जिल्लाको ध्यान प्रतिवेदनमा हैन मल्लको बयानमा केन्द्रित भएको थियो।

सिसिटिभीको दृश्यलाई समेत प्रमाण नमान्ने न्यायाधीश

अर्को प्रमाण थियो घटनाको क्लोज सर्किट टेलिभिजनको दृश्य। प्रहरीले अदालतमा त्यो पेस गरेकै थियो। त्यसमा बिहान १०:२० को समयमा दुर्घटना गराएको दाबी गरिए पनि सिसिटिभी हेरेर दुर्घटना बिहान १० बजेर १९ मिनेटमा भएको देखिएको थियो।

दुर्घटनाको दृश्य बुढानिलकण्ठ स्कुलको कम्पाउन्डमा जडान गरिएको क्लोज सर्किट टेलिभिजनले कैद गरेको थियो। प्रहरी सहायक निरीक्षक ओमप्रकाश बैठाले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा सिसिटिभीबारे बुझाएको प्रतिवेदन मिसिलमा संलग्न थियो जसले कुन अवस्थामा दुर्घटना भएको देखाएको थियो। तर जिल्लाले त्यसलाई बलियो प्रमाणै स्विकारेन।

पहिला निस्कियो धरौटी, अनि बदलियो सजायको दफा

सबै प्रमाणले देवकोटाको ज्यान जानुको कारण लापरबाही मात्रै देखाएको थियो। कानुन उही सवारी ज्यान। तर जिल्ला अदालतबाट फैसला आउँदा मल्ललाई जम्मा ६ महिना कैद सजाय सुनाइयो थप कैद बस्नै नपर्ने चलाखी गर्दै

किनकि कारागारको रेकर्डमा मल्ल सात महिना कारागार बसिसकेको देखिन्थ्यो। तर कारागार चलान भए पनि उनी उपचारको बहानामा अस्पतालमा बसेका थिए। १ हजार जरिवानालाई बाँकी एक महिना बढी बसेको सजायबाट कट्टा गराएर उन्मुक्ति दियो अदालतले नै।

काठमाडौँका जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको इजलासले २०७६ पुस २३ मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए। उच्च अदालत पाटनमा अदालतको आदेश पुनरावलोकनका लागि परेको निवेदन सदरै भएको थियो।

तर सर्वोच्च अदालतमा परेको निवेदनमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र मनोजकुमार शर्माको संयुक्त इजलासले उनलाई दम र डिप्रेसनको रोगी देखिएको भन्दै धरौटीमा छाड्न आदेश दियो।

जिल्लाको फैसलामा थप कैदमा बस्नै नपर्ने सजाय सुनायो। अनि उनी बेपत्ता भए। अब चार वर्ष कैद सजाय त भयो तर उनी कहाँ छन् एकिन छैन।

सर्वोच्चका न्यायाधीश मल्ल अनि शर्माले उनलाई धरौटीमा बाहिरिन सहयोग भयो। न्यायाधीश सूर्यप्रसाद अधिकारीले सवारी ज्यान मुद्दालाई सवारी दुर्घटनाको रुपमा व्याख्या गरे। 

उच्चको फैसला नै अन्तिम फैसला हैन। दोषी ठहरिएको पक्ष उच्चको फैसलाविरुद्ध ३५ दिनभित्र सर्वोच्च अदालतमा पुनरावेदन जाने कानुनी अधिकार हुन्छ नै। धरौटीकै घटनाक्रम सर्वोच्चमा त नदोहरिएला नि? उकेरा निगरानी जारी रहनेछ।

बुढानिलकण्ठ दुर्घटनामा उकेरा फलोअप

७ जेठ, २०८०, २०:१५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।