संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बालेनको उद्घोष, वडाध्यक्षहरूको पनि समर्थन

संघीय सरकारविरुद्ध मुद्दा हाल्ने बालेनको उद्घोष, वडाध्यक्षहरूको पनि समर्थन

काठमाडौं : काठमाडौं महानगरपालिकाले संघीय सरकारविरुद्ध मुद्दा दायर गर्ने भएको छ।

महानगरको १५औं कार्यपालिका बैठकमा महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले संघीय सरकारविरुद्ध संवैधानिक इजलासमा मुद्दा दायर गर्न लागेको जानकारी गराएका हुन्।

कर्पोरेट घरबहाल कर स्थानीय तहमा तिर्नुपर्नेमा आन्तरिक राजश्व कार्यालय(आईआरडी)मा तिरिरहेको व्यवस्थालाई खारेज गर्नका लागि मुद्दा दायर गर्ने तयारीमा रहेको उनले बताए।

‘घरबहाल कर स्थानीय तहले उठाउनुपर्ने हो, कर्पोरेट घरबहाल कर पनि स्थानीय तहमा तिर्नुपर्नेमा आईआरडीमा तिर्नुहुन्छ, त्यसको लागि हामी संवैधानिक इजलासमा मुद्दामा जाने तयारीमा पनि छौं’, उनले भने।

आन्तरिक राजश्व कार्यालयमा तिरे पनि स्थानीय सरकारलाई पैसा आउनुपर्ने माग गर्दै मुद्दामा जान लागेको उनले जानकारी गराए।

‘उता (आन्तरिक राजश्व कार्यालय) तिरे पनि स्थानीय सरकारलाई पैसा आउनुपर्यो, यता तिरे पनि उता मिनाह गरिदिनुपर्यो अथवा मिलान गरिदिनुपर्यो भन्ने कुराको लागि हामी मुद्दामा जाँदैछौं।’

प्रमुख बालेनले यति भन्दै गर्दा वडाध्यक्षहरूले टेबल बजाएर यसको समर्थन गरेका थिए।

त्यसअघि केही वडाध्यक्षहरूले कर्पोरेट घरबहाल करदाताहरूसँग घरबहाल कर भुक्तानी गर्न पत्राचार गर्दा आफूहरूले आन्तरिक राजश्व कार्यालयलाई तिरेको भन्दै त्यसलाई वडामै ल्याउनका लागि प्रमुखसमक्ष आग्रह गरेका थिए।

त्यसैगरी प्रमुख बालेनले महानगर र वडाले मुद्दा जितेर ल्याएको हाँडीगाउँमा रहेको सार्वजनिक जग्गा स्थानीय तहको सहमति र अनुमतिविना नै मन्त्रिपरिषद्ले भाडामा दिएको विषय बदर गर्नका भूमिसुधार मन्त्रालयललाई ध्यानाकर्षण गराएका छन्।

महानगर र वडाको सहमति र अनुमितविना भएका अन्य भाडा सम्झौता पनि बदर गर्न उनले मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई ध्यानाकर्षण गराउने भएका छन्।

४ जेठ, २०८०, १६:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।