दिल्लीसँग हारेपछि प्लेअफ दौडबाट टाढियो पञ्जाव, मुम्बई र बेंग्लोरको हारको कामना

दिल्लीसँग हारेपछि प्लेअफ दौडबाट टाढियो पञ्जाव, मुम्बई र बेंग्लोरको हारको कामना

इन्डियन प्रिमियर लिग-१६ को ६४ औं खेलमा शीर्ष ४ को दौडबाट बाहिर रहेको दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको छ।

यो हारपछि प्लेअफको दौडमा पञ्जाब किंग्सको बाटो कठिन भएको छ। अब टोलीले अन्तिम खेल जितेर पनि अंक तालिकामा १४ अंक मात्र जोड्न सक्नेछ।

यस्तो अवस्थामा प्लेअफमा पुग्नका लागि पञ्जावले बेंग्लोर र मुम्बईले एक-एक खेल हारोस् भनेर प्रार्थना गर्नुपर्छ।

हिमाञ्चलको धर्मशाला मैदानमा पञ्जावले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनाएको थियो। २१४ रनको लक्ष्य पछ्याएको पञ्जाबका ब्याटरले २० ओभरमा ८ विकेट गुमाएर १९८ रन मात्रै बनाउन सके।

शून्य रनमा कप्तान शिखर धवनको विकेट गुमाएपछि पञ्जाबलाई प्रभसिमरन सिंह र अथर्व तायडेले सम्हालेका थिए। दुवैले दोस्रो विकेटका लागि ३३ बलमा ५० रनको साझेदारी गरे। अक्षर पटेलले प्रभसिमरनलाई आउट गर्दै यो साझेदारी तोडेका थिए।

२१४ रनको लक्ष्य पछ्याउने क्रममा खलील अहमदले पञ्जाबका अगाडि पहिलो ओभर मेडेन फ्याँके। टोलीले दोस्रो ओभरमै शिखर धवनको विकेट पनि गुमाएको थियो। तेस्रो नम्बरमा आएका अथर्व तायडेले प्रभसिमरन सिंहसँग इनिङ्स सम्हालेका थिए। टोलीले ६ ओभरमा एक विकेट गुमाएर ४७ रन बनाएको थियो। 

दिल्लीका रिले रुसोले आफ्नो आईपीएल करियरको पहिलो अर्धशतक बनाएका छन्। उनले २५ बलमा अर्धशतक पूरा गरे । उनले ३७ बलमा २२१.६२ को स्ट्राइक रेटमा ८२ रन बनाए। उनले ६ चौका र ६ छक्का प्रहार गरे।

दिल्लीका ओपनर पृथ्वी शाले पनि सिजनको पहिलो अर्धशतक बनाए। उनले ३६ बलमा अर्धशतक पूरा गरे। आईपीएलमा पृथ्वीको यो १३ औं अर्धशतक हो।

कप्तान डेभिड वार्नर र पृथ्वी शाको साझेदारीले दिल्लीलाई बलियो सुरुवात गराएको थियो। दुवैले पहिलो विकेटका लागि ६२ बलमा ९४ रन जोडेका थिए।

यो साझेदारी साम करनले डेभिड वार्नरलाई आउट गरेर तोडेका थिए। वार्नर ३१ बलमा ४६ रन बनाएर आउट भएका थिए। 

पञ्जावका लिभिङ लिभिङस्टोनले ४८ बलमा ९४ रन बनाए पनि टोलीको हार टरेन। यस क्रममा उनले ९ वटा छक्का र ५ वटा चौका प्रहार गरे। 

३ जेठ, २०८०, २३:५४:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।