टोपबहादुरको निर्लज्ज दिग्विजय मुद्राले खिन्न अर्घाखाँची

टोपबहादुरको निर्लज्ज दिग्विजय मुद्राले खिन्न अर्घाखाँची

२०६९ को दाेस्राे संविधानसभा निर्वाचनताका अर्घाखाँचीकाे ढाकावाङ्गमा चुनावी सभालाई सम्बाेधन गर्दै तत्कालीन माओवादी नेता टाेप बहादुर रायमाझीले भनेका थिए- ‘अर्घाखाँचीमा राष्ट्रिय याेजना आयाेगकाे राताे किताबमा सालझण्डी-सन्धिखर्क-ढाेरपाटन सडक मार्फत त्यसको श्री गणेश मैले गरेँ,टाेपबहादुर रायमाझीले गर्याे।’

करिब एघार वर्षपछि नक्कली भुटानी शरणार्थी प्रकरण मार्फत नागरिकलाई अनागरिक बनाउने गिराेहसँगकाे मिलाेमताेमा ठूलो स्केलकाे भ्रष्टाचारकाे श्री गणेश पनि उनै टाेप रायमाझीले गरेको देखियो।

अहिलेसम्म सार्वजनिक भएको अनुसन्धान विवरण, पक्राउ पूर्जी जारी भए लगत्तै रायमाझीले गरेको व्यवहार अनि छोरासँगै पक्राउ परेका उनका हितैसीले यो केवल आरोपमात्र हैन भन्ने देखाउँछ नै।

रायमाझी संबद्ध पार्टी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उनको संग्लनतालाई इन्कार गर्दै उनको बचाउमा सार्वजनिक रूपमै उत्रिए। उनमा जुन छट्पटी देखियो त्यतिनै छट्पटीमा हुने नै भए उनलाई मतदान गरेका अर्घाखाँचीवासी।

पक्राउ परेका अन्य आराेपीहरूकाे बयानका आधारमा उनी अनुसन्धानकाे दायरामा तानिएका थिए। नेपाल प्रहरीले काठमाडौं जिल्ला अदालतमार्फत पक्राउ पुर्जी माग्दै उनलाई प्रक्राउ गर्ने प्रक्रिया अघि बढायो। उनी वैशाख २० गते बुटवलबाट फरार भए।

रायमाझी फरार हुनुको अर्थ आरोप मित्थ्या हैन भन्ने बलियो प्रमाण बन्ने नै भयो। संलग्न नभए किन भागेको? किन लुकेको? उनको संलग्नतामा यही प्रश्नको उत्तर नै बलियो भयो।

उनको बचाउमा लबिङ गरिरहेका ओली लगायतकाले अन्तिमसम्म बचाउ गर्लान् नै तर, उनका मतदाता अर्घाखाँचीवासीले भने आफ्नो जनप्रतिनिधिले गरेको कुकर्म देखेर चुकचुकाएका छन्।

अर्घाखाँची उनको लाेकप्रियताको पुष्टि ०६४ देखि निरन्तर राम्रै मतान्तरले निर्वाचित हुनुले पनि गर्छ। ०६९ मा माओवादी रक्षात्मक हुँदा पनि उनले चुनाव जिते। अर्घाखाँचीमा उनलाई धेरैले विकास निर्माणका प्रणेता नै ठान्छन्।

रायमाझीकै पहलमा जिल्लामा सडकको पहुँच गाउँ-टाेलसम्म पुगेको छ। भलै ती कति दिर्घकालीन छन् अध्यानकाे पाटाे रहला। सडककाे स्तरोन्नतिदेखि एयरपोर्टसम्म निर्माणाधीन छन्। यसमा उनको योगदान छैन भन्न सकिन्न।

जिल्लामा हिउँदे सडक विस्तारलाई विकास मान्ने धेरै छन। उनले यसैलाई "क्यास"गर्दै ०६४ यता निरन्तर चुनाव जित्दै आइरहेका पनि छन्।

तर,अन्य आधारभूत सुविधामा जिल्ला निकै पछि छ। जिल्ला अस्पताल मृत प्राय छ। जिल्ला अस्पतालकाे काम प्राथमिक उपचारबाहेकका बिमारीलाई बुटवल रिफर गर्नु मात्र हाे। जसले गर्दा निजी अस्पताल माैलाएका छन् जिल्लामा। सामान्य समस्याकाे लागि पनि बुटवल झर्नुपर्ने बाध्यता छ।

आफ्नै जिल्लामा सुविधासम्पन्न अस्पताल अनि दक्ष जनशक्तिको प्रबन्ध गर्न सकेनन् उनले। शैक्षिक गुणस्तर न्यून छ,कयौं सार्वजनिक विद्यालयकाे नतिजा शुन्य उत्तीर्ण देखिन्छ।

केन्द्रीय राजनीतिमा जबर्जस्त प्रभाव पार्ने रायमाझीले चाहेका भए चार पटक सांसद् र पाँचपल्ट मन्त्री हुँदा दीर्घकालीन महत्त्वका जनप्रिय कामहरू गर्न सक्थे। दीर्घकालीन प्रभाव पार्ने काम त गरेछन् तर नकारात्मक।

उनले जिल्लामा आफूसम्बद्ध पार्टीका नेता-कर्याकर्तादेखि अन्य पार्टीका नेता सम्मलाई सर्वदलीय संयन्त्रका नाम चिउरा चाउचाउ जस्तै रकम बाढ्थे भन्ने सुनिथ्याे।

सर्वदलीय संम्यन्त्रमा भ्रष्टाचार भयो भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा पुगेको पनि थियो। तर निष्कर्ष आएको देखिएन।

नागरिकलाई राजतन्त्रको चंगुलबाट मुक्त गराउन सशस्त्र द्वन्दमा होमिएका उनी आफ्नै नागरिकलाई अनागरिक बनाउने राष्ट्रघातमा गएर जोडिए।

उपप्रधानमन्त्री तथा पटक-पटक सांसद भएका उनी फरार भएको समाचार पढ्न बाध्य भए मतदाता। पक्राउ त परे तर मदिरामा झुल भएको अवस्थामा। अदालत पुग्दा विजयी भाव देखाए नकी कुनै संकोच।

सोचेनन् गम्भीर अपराधको आरोपमा अदालतको प्राङगणमा देखाएको त्यो नक्कली भावले अर्घाखाँचीवासीको मन कति घोच्छ होला। आफ्नो मतको यति भद्दा दुरुपयोग हेर्दा कति मन पोल्छ होला।

अर्घाखाचीको जनप्रतिनिधि भएकाले अली बढि यहाँका मतदाताको मन पोल्नु स्वभाविकै हो। तर थकथक त सबै नेपाली नागरिकलाई नै लागेको छ जनप्रतिनिधीको भित्री चरित्र देखेर।

नेताले पाए देशै बेच्छन् भन्ने आरोप फगत भाषणवाजीका शब्द मात्र हैनन् भन्ने पुष्टि हुँदा अनि आफ्नै उपप्रधानमन्त्री, गृहमन्त्री अनि सचिव मिलेर आफ्नै देशको नागरिक बेच्न लागेको गम्भीर घटना कसरी सहज रूपमा लिनसक्छन् र आम नागरिकले!

अनुसन्धानमाथि केही संशय अझै छ। अदालतमा हुनसक्ने खेल बाँकी नै छ।

तै पनि जुन तहका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउने हिम्मत गर्यो त्यसका लागि सरकारलाई धन्यवाद भन्नैपर्छ। प्रहरीलाई स्यावासी दिनैपर्छ अनि अदालतमा निगरानी गर्नैपर्छ।

३ जेठ, २०८०, १२:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।