अमेरिका जाने डकुमेन्ट माग्दा सचिव कृष्णहरी पुष्करले अनुचित लाभ लिन खोजेको मेयरको दाबी

अमेरिका जाने डकुमेन्ट माग्दा सचिव कृष्णहरी पुष्करले अनुचित लाभ लिन खोजेको मेयरको दाबी

काठमाडौं : सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्ग्याल जङ्बु शेर्पाले अमेरिकाको एक कार्यक्रममा जान आवश्यक डकुमेन्ट माग्दा सचिवले घुस मागेको दाबी गरेका छन्।

सामाजिक सन्जालमा लेख्दै शेर्पाले संघीय मामिला मन्त्रालयका सचिव  कृष्णहरि पुष्कर र उपसचिव प्रल्हाद कार्कीले अनुचित लाभको अपेक्षासहित बार्गेनिङ गरेर असहयोग गरेको गम्भीर आरोप लगाएका हुन्। 

उनको दाबी अनुसार अमेरिकामा मे २१ हुन लागेको नेपाल डे परेडमा उनलाई सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखको हैसियतले विशिष्ट अतिथिको रूपमा सहभागी हुन निमन्त्रणा आएको थियो।

नेपाली राजदूतवास वासिङ्टन डिसीले समेत भ्रमणको आधिकारिकता पुष्टि गरी संघीय मामिला मन्त्रालयलाई पत्र पठाएको र वैशाख ३१ गते संघीय मामिला मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले वैदेशिक भ्रमण स्वीकृत भएको उनले उल्लेख गरेका छन्।

‘मेरो भ्रमणसँग सम्बन्धित आवश्यक डकुमेन्ट उपलब्धताको विषयमा मन्त्रालयको सम्बन्धित शाखामा सम्पर्क राख्दा अनुचित लाभको अपेक्षसहित बार्गेनिङ गरी उपसचिव प्रह्लाद कार्की र सचिव कृष्णहरि पुष्करले असहयोग गरेको कारण मेरो भ्रमण तयारी समयमा पूरा हुन सकेन’, उनले लेखेका छन्।

अब तयारीको लागि समयसमेत पर्याप्त नभएको भन्दै उनले अमेरिकामा आयोजना हुने ‘नेपाल डे परेड’मा सहभागी हुने सम्भावना कम रहेको उल्लेख गरेका छन्।

२ जेठ, २०८०, १६:१३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।