बिहारबाट काम खोज्न काठमाडौं आएका राजेश भन्छन्, ‘राजा मरिसकेछ, अनि फेरि भागेर घरै गएँ’
२१ वर्षअघि काठमाडौं आएका राजेश यादवको घर भारतको बिहार हो। कलिलो उमेरमै काम खोज्न हिँडेका उनी काठमाडौंको ताहचलमा डेरा गरेर बस्छन्। अनि निस्किन्छन कवाडीका सामान उठाउन।
जसोतसो गर्जो टारिरहेका राजेश भारतीय भूमि छाडेर पैसा कमाउनकै लागि नेपाल आए।
'अरू साथीहरू पन्जाब गयो, दिल्ली गयो, बम्बै गयो। म काठमाडौँ आएँ। काम सिक्ने इच्छा थ्यो। यहाँ आएर मलाई एउटा मात्र इच्छा भनेको पैसा कमाउने नै हो,’ ४० वर्षीय राजेश यादवले गाउँ छोडेर यहाँ आएको पल सम्झिए।
सुरुवातका केही महिना फर्निचरमा काम गरेका उनलाई त्यो फापेन। अनि त्यसपछि बने 'कवाडीवाला'।
'बिहारमा धेरै मजबुरी छ। त्यै भएर यहाँ आएर काम गर्न पर्यो,’ उनले सुनाउँदै गए, 'त्यतै काम गर्न चाहेको भए पनि पाउँथ्यो। तर, दिल्ली बम्बै गएर काम गर्न अलि बढी समय लाग्छ। चार-पाँच दिन नै लाग्छ। त्योभन्दा यहाँ पैसा धेरै छ। सजिलो पनि छ।’
हुर्किँदै गएपछि उनका सबै साथी बिहारबाट भारतकै मुख्य सहरहरू लागे। तर, उनी भने काठमाडौँ आए।
'म काठमाडौँमा आउँदा शनिबारको दिन थ्यो। थाहा पाएँ, राजा मरिसक्यो। अनि फेरि भागेर घर गएँ। छ-सात महिनाको बाद आयो,’ राजेशले आफ्नै लवजमा भने।
किन डर लाग्यो भन्ने प्रश्नमा उनी भन्छन्, 'हो, एकदम, यहाँ त नारा भएको थ्यो। शनिबार कलंकीमा बसबाट झर्यो। खाजा खाएर बेलुका बस समाएर भाग्यो।’
उनको गाउँकै एक जना दाइ कैंचीमा धार लगाउने काम गर्न यहाँ आएपछि भने उनी फेरि उनै दाइसँग काठमाडौं आए।’
राजेशको परिवार भारतको बिहारमा खेतीपातीको काम गर्छन्। अहिले उनका दाइले ट्याक्टर किनेका रहेछन्। त्यो पनि उनले सुनाए।
'पहिला त पैसा थिएन। अहिले त पैसा पनि भयो, काम पनि भयो। पहिला जग्गाहरू पनि धेरै थ्यो। तर, बाढ (बाढी) आएर सबै खत्तम गर्यो,' उनले दुःख सुनाए।
भैंसी चराएर बितेको बाल्यकाल
बाल्यकाल बिहारमा बिताएका उनको दिनचर्या खेतमै बित्यो। पढ्न पाएनन्। उनी मात्र हैन, उनका पुस्तासम्म आइपुगेका कसैले पनि पढ्न पाएनन्। 'तर, अब सबै बच्चाहरू पढिरहेको छ। सरकारले त्यो सब सुविधा दिएको छ,' उनी खुसी देखिए।
'भैंसी पनि चार-पाँच वटा थ्यो। जंगलमा गएर चराउन पर्थ्यो,’ बाल्यकाल सम्झेर उनी हाँसे।
उनलाई अहिले पनि कुन सिजनमा के खेती गर्ने सब थाहा छ। त्यै भएर खेतीको समय भने उनी प्रायः आफ्नै घर फर्किन्छन्। अब केही दिनपछि धान रोप्न जाने उनले बताए।
पहिलो पटक ताहाचलको महेन्द्र रत्न क्याम्पस अगाडि नै उनको कवाड कारोबार हुने ठाउँ थियो।
अहिले भने क्याम्पसभन्दा अलि भित्र उनको कवाड गोदाम छ।
बिहारबाट आएका करिब १२-१५ जना अधबैंशे पुरुषहरूले सञ्चालन गरिरहेको उक्त कवाड पसलमा सबैभन्दा पुराना कामदार वा व्यापारी जे भने पनि राजेश नै हुन्।
उनी साइकल चलाउँदै हरेक दिन हरेक चोक र गल्ली पुग्छन्। बिहानै उठ्छन्, नजिकैको होटेलमा गएर नास्ता खाएर दिनभर साइकल डोहोर्याउँदै हिँड्छन्।
खाना खाँदा कहिले दिउँसोको एक त कहिले तीन नै बज्छ। दिनभरको सामान बोकेर साँझ साहुलाई सामान बेच्न पुग्छन्।
'पाँच सय कमायो भने दुई सयको खाने, तीन सय बचाउने’
धेरै सामान ल्याएको बेला भने निकै खुसी लाग्ने राजेश बताउँछन्। 'धेरै समय त खाली हात पनि आउनुपर्छ। के गर्ने निराश त हुन्छ नि। पाँच सय कमायो भने दुई सयको खाने, तीन सय बचाउने,’ अनुहार बिगार्दै उनी भन्छन्।
बिहारमा जन्मेका उनलाई काठमाडौँको घाम पचाउन कुनै समस्या भएन। एउटा पातलो सर्ट लगाएर तातो घाममा पनि सजिलै निस्किन्छन्। तिर्खा लागे होटेलमा गएर पेट नभरुञ्जेल पानी पिउँछन्। अनि फेरि आफ्नै काममा निस्किन्छन्, 'कवाडी' को भाका हाल्दै।
१९ वर्षको उमेरमा काठमाडौँ आउँदा उनीमाथि जति जिम्मेवारी थियो, अहिले झन् थपिएको छ। कारण, श्रीमतीसँगै पाँच जना बालबच्चा। त्यै भएर पनि उनलाई अहिले झन् धेरै पैसा कमाउनु छ।
सुरुवाती दिनहरूमा काम गाह्रो लागे पनि अहिले भने उनलाई सजिलो भइसक्यो।
'यो काम गर्न गाह्रो केही छैन। घाममा हिँड्नुपर्छ। खानाको टाइम हुँदैन, भन्ने मात्र हो। पहिला यो काम मजबुरीले नि गर्न पर्यो। अहिले सजिलो र राम्रो लागेको छ,’ उनी भन्छन्, ’सिसी बोतल, फलाम, कागज सबै कवाडी काठमाडौँमा घुमेर किन्ने अनि कवाडीमा ल्याएर बेच्ने। त्यति गाह्रो त हैन।’
अहिले भने कवाडका सामानहरू पाउन उनलाई गाह्रो हुन थालेको छ। 'पहिला सामान किन्ने मान्छे कम थ्यो। अहिले सामान किन्ने मान्छे धेरै छ। सामानहरूचाहिँ कम आउँछ।’
मानिसहरूले काम नलाग्ने सामानहरू पुनः प्रयोगमा ल्याउन थालेको उनलाई लागेको छ।
खेती पनि गर्ने, कवाड पनि बेच्ने
लगातार एउटै काम गरिरहँदा उनलाई कामप्रति दिक्क भने लागेको छैन। 'बिजनेस हो। बोर किन लाग्थ्यो। तर, भूकम्पले बिजनेस सबै फ्लप भयो। अहिले बिस्तारै बिस्तारै आइरहेको छ। त्यो बेलामा पनि गाउँ गएर खेती नै गर्ने हो।’
उनलाई खेतीपाती र कवाडको काम दुवै उस्तै लाग्छ। दुवै काममा मजा आउने उनी बताउँछन्।
कार्टुन १४, किताब १५ र फलाम ४० रुपैयाँका दरले किलोमा बजारमा बच्छन् राजेश। पहिला पहिला त सामानहरू उठाउँदा हातमा चोट लाग्ने गरेको पनि उनी सुनाउँछन्। तर, अहिले त उनका हातले धेरै पीडा सहिसके। आजभोलि भने उनलाई दुख्दैन रे।
'यो त सबै फोहोर हो नि। फोहोर उठाएर ल्यायो। केलायो। बेच्यो। हात पनि काट्छ। घाउ पनि भएको थ्यो। अहिले त घाउ भए पनि छिट्टै निको हुन्छ,’ उनी सहजै भन्छन्।
उनलाई कामभन्दा बढी मौसमको चिन्ता लाग्छ। मौसमले साथ नदिँदा उनको काम नै रोकिने गर्छ। पानी परेको बेला उनलाई सबैभन्दा गाह्रो हुने गर्छ। वर्षामा उनी बाहिर निस्किन पाउँदैनन्। त्यस दिन उनको रोजीरोटी खोसिन्छ।
पानी पर्दा उनलाई 'यस्तो काम गरेर के जिन्दगी' भन्ने लाग्छ।
'यहाँ कत्ति मान्छेहरू घुम्छ, हामी चै दिनका दिन एउटा साइकल बोकेर हिँड्छ। के गर्नु, काम त गर्ने पर्छ। पैसा चाहियो।'
कुनै दिन पाँच हजार रुपैयाँ त कुनै दिन खाजा खानेसमेत पैसा नहुने उनी चिन्ता गर्छन्। भन्छन्, 'आफ्नो किस्मत हो।’
सामान खोज्दै उनी काठमाडौँ मात्र नभएर भक्तपुर, कीर्तिपुरसम्म पुग्ने गरेका छन्। अहिले गर्मीको मौसम भएकाले उनले संकलन गर्ने सामान भनेको धेरैजसो बियरको बोतल हो। जुन उनी एक रुपैयाँका दरले बिक्री गर्छन्। यसमा भने उनलाई खासै फाइदा बच्दैन। धेरैजसो भने उनले फलाम नै भेट्ने गरेका छन्।
कवाडीका सामग्री उठाएर आफूले पहिलो पटक महिनाको १२ सय रुपैयाँ कमाएको उनलाई सम्झना छ। तर अहिले भने करिब १५ देखि २० हजार रुपैयाँ कमाइ हुने गरेको उनी बताउँछन्।
यसबाहेक अरू काम उनले सोचेका छैनन्। 'काम सिकेको भए पनि सिक्न त ५-७ वर्ष लागि नै हाल्थ्यो। पैसा चाहिएको बेला के काम सिक्नु ? अब जबसम्म सकिन्छ यही काम गर्ने,’ कामप्रतिको सन्तुष्टि उनी यसरी बताउँछन्।
घरमा छोराछोरीहरूले काम गर्न नभने पनि उनी भने मान्दैनन्। तर, राजेश अहिले नै काम छोडेर खेतीपाती मात्र गरेर बस्न चाहँदैनन्।
उनलाई आफ्नो बच्चाहरूलाई धेरै पढाउनु छ। भन्छन्, 'छोराछोरीहरूले नै पढिसकेपछि केही काम गर्यो भने मात्र मैले काम छोड्नेबारे सोच्ने हो, अहिले त काम भएन भने गाह्रो हुन्छ।’
जेठ १, २०८० सोमबार १६:५३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।