'श्रीकृष्ण श्रेष्ठले लाइटम्यानको काममा लगाइदिए, ‘वरपिपल’ फिल्ममा ७ हजार दिने भनेर काम लगाए, दिए ३ हजार'

'श्रीकृष्ण श्रेष्ठले लाइटम्यानको काममा लगाइदिए, ‘वरपिपल’ फिल्ममा ७ हजार दिने भनेर काम लगाए, दिए ३ हजार'

पशुपति मन्दिर क्षेत्रमा 'बागमती रानी' नामक फिल्मको सुटिङ भइरहेको थियो। उकेराकर्मी मन्दिर परिसर पुग्दा घामलाई सेतो पर्दाजस्तोले कसैले छेकिरहेका थिए। उनी थिए, हरि बहादुर श्रेष्ठ।

हरी पेसाले लाइटम्यान। उनले नेपाली फिल्म क्षेत्रमा  लाइट मिलाएकै २७ वर्ष भयो। त्यसयता उनी कलाकारको अनुहारमा सिधै घामको किरण नपार्न व्यस्त छन्। 

कुनै समय गाउँमै साधारण व्यापारमा लागेका हरिलाई फिल्म क्षेत्रमा ल्याउने व्यक्ती कलाकार श्रीकृष्ण श्रेष्ठ रहेछन्।
 
२०४४ सालमा श्रीकृष्ण हरिको गाउँ सिन्धुपाल्चोक गएका थिए। त्यसबेला हरी व्यापारमा संलग्न थिए। व्यापार अगाडि बढाउन नसकिने भएपछि श्रीकृष्णलाई काम  खोज्न आग्रह गरे। उनैसँग बस चढेर काठमाडौं आए। नभन्दै, श्रीकृष्णले हरिलाई काम मिलाइदिए। हरी लाइटम्यान भए।

‘२०४४ सालमा श्रीकृष्ण काका गाउँ जानुभएको थियो। म व्यापारमा राम्रो नभएर बसिरहेको थिएँ। त्यसपछि उहाँले मलाई बसमा चढाएर काठमाडौं ल्याउनु भयो। त्यो बेला काठमाडौंमा श्रीकृष्णको घर बागबजारमा पनि थियो। म पनि त्यही बस्थें,’ उनले सम्झिए। 

व्यापार छोडेर जागिरे
सिन्धुपाल्चोक र चीनको सिमानामा पर्छ, हरिको घर। खासा भन्छन् त्यसलाई।साथीहरूले चीनबाट सामान ल्याएर बेच्ने गरेको देखेपछि उनलाई पनि त्यही व्यापार गर्न मन लाग्यो।

सामान्य आर्थिक हैसियतका हरिको परिवारमा जेठो सन्तान उनै थिए। त्यसैले पनि कामको खोजी गर्नैपर्ने बाध्यता थियो।

सामान्य परिवार भएपनि हरिलाई बुवाले पढाइरहेका थिए। ६ कक्षा पुगेपछि जम्मा ७ दिन स्कुल गएका उनी त्यसपछि स्कुलको बाटो छोडेर खासाको बाटोतिर लागे।

उनले खासाबाट सामान ल्याउँदा लगानी हजार रूपैयाँ मात्रै थियो। अनि उनको उमेर थियो, ११ वर्ष। 

‘गाउँका साथीभाइहरूसँगै सामान लिन खासा जाने गर्थें। त्यतिबेला मेरो उमेर मात्रै ११ बर्षको थियो,’ उनले सुनाए। 

व्यापार गरेर आफ्नो भविष्य कोर्न हिँडेका हरिलाई माओवादीको १० वर्षे 'जनयुद्ध'ले त्यसमा टिक्न दिएन। 'जनयुद्ध'ताका उनले खासाबाट ज्याकेट, रेडियो, फूलहरू ल्याएर बेच्ने गर्थे। उनले खासाबाट ल्याएको सामान कहिलेकाहीं काठमाडौंसम्म पनि आउँथ्यो। 

तर, बाटोमा माओवादी, प्रहरी र कर उठाउन राखेको ढाटको कारणले व्यापारमा फाइदा भन्दा पनि घाटा व्यहोर्नु परेको हरिको अनुभव छ। त्यसपछि उनले व्यापारबाट हात झिके। 

‘माओवादी कालमा पुलिस, माओवादीले बाटोमै पैसा माग्ने गर्थे। कर पनि तिर्नै पर्थ्यो। त्यसैले व्यापार भनेजस्तो फस्टाउन सकेन। त्यसपछि छोडिदिएँ,’ उनले सम्झिए। 

व्यापार सोचेजस्तो नभएपछि उनी श्रीकृष्ण श्रेष्ठसँग काठमाडौं आए। 

पहिलो तलब ७ हजार, तर हातमा जम्मा ३ हजार
२०४४ सालमा काठमाडौं आएपछि हरिले लाइटम्यानको जिम्मेवारी पाए। त्यसबेला उनलाई पहिला काम सिकाउने क्यामराम्यान पुरुषोत्तम प्रधान रहेको उनी सम्झिन्छन्।  

‘सुरुमा पुरुषोत्तम प्रधान क्यामराम्यान हुनुहुन्थ्यो। उहाँले नै सिकाएको हो। अर्काे राजकृष्ण महर्जन भन्ने दाइले पनि सिकाएका थिए। काम जानेपछि त आफैंले गरियो' उनले भने। 

उनले काम गरेको पहिलो फिल्म 'वर पिपल' थियो, जहाँ श्रीकृष्ण श्रेष्ठ मुख्य कलाकार थिए।

हरिले गरेको पहिलो फिल्ममा उनलाई ७ हजार दिने सर्तमा काममा राखिएको रहेछ। तर, काम पूरा भएपछि हातमा जम्मा ३ हजार आएको उनी सुनाउँछन्। 

‘वरपिपल फिल्ममा काम गर्दा ७ हजार भनेर राखेका थिए तर, हातमा आयो- जम्मा ३ हजार। त्यो बेला हातमा ३ हजार पर्दा पनि निकै खुसी लागेको थियो,’ उनले भने। 

त्यस फिल्मका निर्माण पक्षसँग पछि भेट्दा बाँकी पैसाको कुरा समेत गरेको उनले सुनाए। तर, उनलाई पहिलो पटक हो भन्दै टारेको उनी सम्झिन्छन्। यसरी  उठ्न बाँकी पैसा करिब डेढ लाख जति रहेछ।

‘काम भइसकेको हुन्छ। उनीहरुले बुझेर दिनुपर्ने हो तर दिदैनन् अब के गर्नु?’ उनी भन्छन्। 

उनलाई माओवादी 'जनयुद्ध'को कारणले यो क्षेत्रमा नआएको भए व्यापारी नै हुन्थे कि भन्ने लाग्ने रहेछ। तर, फिल्मी क्षेत्रमा आए पनि उनलाई दुख मनाउ भने रहेनछ। 

‘मेरो एउटा मात्रै छोरा। ऋण गरेर विदेश पठाएको छु। अब कमाउन त उसले पढेपछि कमाउला। ऋणको ब्याज मेरै कमाइले तिर्न पाए हुन्थ्यो भन्ने छ,’ उनले भने। 

पछिल्लो समय प्रविधिले लाइटम्यानको काम घट्दै गएपनि उनको हातमा कामको कमी भने छैन। आफू पुरानो लाइटम्यान भएकाले काम पाइरहेको उनी बताउँछन्। 

‘प्रविधिको विकासले हाम्रो काम भन्दा पनि क्यामराम्यानको काम चाहिं सहज बनाएको छ। धेरै वर्ष भयो काम गरेको। धेरैले चिनेका छन्, काममा बोलाउँछन्। अब कहिलेकाहीं भने खाली हुन्छु। तर धेरै खाली हुनु पर्दैन,’ उनले सुनाए। 

हरिलाई अहिले नै काम छोडेर बस्न मन नलाग्ने रहेछ। पहिला-पहिला भने काम परिवर्तन गर्न मन लाग्थ्यो। तर, अरू काम गर्न जाँदा फेरि सुरुबाटै सिक्नु पर्ने भएकोले पनि उनलाई काम परिवर्तन गरिहालौँ जस्तो लागेन। अहिले यो काम छोडिहाल्ने मनस्थितिमा पनि उनी छैनन्। 

‘छोरा पढ्न गएको छ। अब कमाउला पनि। तर, छोराले कमायो भन्दैमा म काम छोडि हाल्दिन। आँखाले देखेसम्म काम गर्नुपर्छ। मलाई अहिले नै काम छोडेर बसौँ भन्ने चाहिं छैन। फेरि हाम्रो काम भारी बोक्ने पनि त होइन। लाइट सार्ने न हो। गाह्रो छैन,’ उनले सुनाए।  

माघ २१, २०८१ सोमबार १९:५५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।