नक्कली भुटानी शरणार्थी प्रकरणमा थपिए दुई आरोपीः पाँच जना अझै फरार, हिरासतमा १२ जना

नक्कली भुटानी शरणार्थी प्रकरणमा थपिए दुई आरोपीः पाँच जना अझै फरार, हिरासतमा १२ जना

काठमाडौँः नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहको सदस्यमा दुई आरोपी थपिएका छन्।

तत्कालीन गृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक थापा र नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पासमेत यो गिरोहमा संलग्न रहेको भन्दै उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति नै जारी भएको हो। 

थापाका सुरक्षा सल्लाहार इन्द्रजित राई पक्राउ परिसकेका छन्। राइसँगै सो गिरोहलाई सघाउनेमा प्रतीकसमेत संलग्न देखिएपछि प्रहरीले औपचारिक रूपमा अनुसन्धानको दायरामा ल्याएको हो।

यो प्रकरण सार्वजनिक भएसँगै प्रतीक फरार छन्। 

कांग्रेस पूर्वसांसद शेर्पा हिरासतमा रहेका व्यक्तिहरूसँग भेटेर अनुसन्धान प्रभावित पार्न संलग्न रहेको देखिएको थियो।

पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न उनले हिरासतमा रहेका गिरोहका सदस्यहरूलाई भेटेको र केही रकमसमेत दिएको आरोप लागेको थियो।

उनीसमेत संलग्न रहेको थप प्रमाण खुलेपछि प्रहरीले अदालतबाट औपचारिक रुपमा पक्राउ अनुमति लिएको हो।

तर शेर्पा खाँण पक्राउ पर्नु अगाडि नै सम्पर्कविहीन भएका थिए। खाँणको मैजुबहालमा रहेको डेरा र शेर्पाको घरको दूरी एक किलोमिटर छ। उनको घरमा ताल्चा लागेको छ। 

इन्द्रजित राईका छोरा निरजविरुद्ध समेत पक्राउ पुर्जी जारी भए पनि उनीसमेत फरार छन्।

एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि फरार छन्। पूर्वगृहमन्त्री खाँणलगायत १२ जना हिरासतमा छन्।

३१ बैशाख, २०८०, १५:५२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।