रेक्चावासीको दुःख, एक दिनको लागि जम्मा दुई गाग्री पानी

रेक्चावासीको दुःख, एक दिनको लागि जम्मा दुई गाग्री पानी

सुर्खेत : खडेरी लागेसँगै चौकुने गाउँपालिका–४ रेक्चाका स्थानीयलाई हरेक वर्ष पानीको अभाव खड्किन्छ। १२ महिना मध्ये असार, साउन र भदौ गरी यी तीन महिनामा मात्र पर्याप्त पानी पिउन पाउँछन् यहाँका स्थानीय।

हरेक निर्वाचनमा रेक्चावासीलाई पानीको आश्वासन दिइन्छ। तर, त्यो कहिल्यै पुरा हुँदैन। पानीको अभाव पुरा गर्नका लागि एउटा आयोजना त सञ्चालन भएको छ। तर उक्त आयोजनाले पनि गति लिन सकेको छैन।

‘विगतका निर्वाचन होस् या हरेक पटकका स्थानीय निर्वाचनमा नेताहरुले रेक्चामा पानी ल्याइदिन्छौं भनेर आश्वासन दिन्छन्। जितेर गएपछि यहाँको समस्या उनीहरुको प्राथमिकतामा पर्दैन,’ स्थानीय नवराज जैसीले भने, ‘कुवाको पानी पनि सुक्न थालिसक्यो। एकघरलाई दुई गाग्री पानीले प्यास मेटेका छौं। त्यो पानी पिउन र खाना पकाउनका लागि पनि पुग्दैन।’

सरसफाइ तथा नुहाई धुवाई र वस्तुभाउलाई पानी खुवाउन तीन घण्टाको पैदल यात्रा गर्नुपर्छ।

जैसीका अनुसार पानीकै अभावका कारण गाईवस्तुलाई केही दिन बिराएर मात्र पानी खुवाइन्छ भने बटुवालाई समेत पानी दिइन्न यहाँ।

रेक्चा गाउँभरि करिब १० वटा कुवा छन्। तीमध्ये ८ वटा बिग्रिएका छन्। दुई गाग्री पानीका लागि पनि घरको एक जना कुवाको पानी भर्ने लाइनमा बस्नुपर्ने वाध्यता छ।

खडेरीले गाउँका २ वटा कुवा पनि सुक्न थालेपछि चौकीदार राखेरै प्रतिघर दुई गाग्री पानी वितरण गर्ने गरिएको जैसीको भनाई छ । सरसफाइ तथा नुहाई धुवाई र वस्तुभाउलाई पानी खुवाउन तीन घण्टाको पैदल यात्रा गर्नुपर्छ।

वर्षामा आकासको पानी तथा हिउँद र खडेरीमा तालमा जम्मा भएको पानी खान बाध्य छन् रेक्चावासी। यहाँका अधिकांश पुरुष रोजगारीका लागि कालापहाड जान्छन्।

पानीको अभाव भोग्दै आएको रेक्चालाई तीनै तहका सरकारले प्राथमिकता दिन सकेका छैनन्।

गाउँमा हुने शुभ, अशुभ कार्यमा दुई घण्टा टाढाबाट पानी बोकेर ल्याउनुपर्ने वाध्यता रहेको अर्का स्थानीय रतन वीसीले बताइन्।

त्यति मात्रै होइन रेक्चामा सडक, विद्युत, विद्यालय र स्वास्थ्य संस्थाको पनि पहुँच छैन। गाउँमा कक्षा ५ सम्म विद्यालय छ। विद्यालयमा पनि बालबालिकाले घरबाटै पानी बाकेर लाने गर्छन्। कक्षा ६ पढ्न पनि गाउँबाट गुटुबजार कोठा लिएर बस्नुपर्ने वाध्यता छ।

यस गाउँमा केही वर्ष अगाडि ११५ घरधुरीको बसोबास थियो। अहिले घटेर ८० मा सिमित भएको छ। रेक्चामा खानेपानीसँगै विद्यालय, स्वास्थ्य संस्था, विद्युत, सडकको अभाव छ।  

‘पानी कै अभाव भए पछि यहाँबाट बसाइँसराई गरेर कैलाली, नेपालगञ्ज, गुटु र बिजौरा गएका छन्,’ वीसीले बताइन्, ‘पहिला तीन सय घरधुरी रहेको यो क्षेत्रमा अहिले ८० मात्रै छ।

चौकुने–४ रेक्चा, पुच्मा, नाउली र चौकुने–१ को धनरास लगायतका पहाडी ठाउँहरूमा अहिले पनि पानीको हाहाकार छ।

पानीको अभाव भोग्दै आएको रेक्चालाई तीनै तहका सरकारले प्राथमिकता दिन सकेका छैनन्। अघिल्लो वर्ष कर्णाली प्रदेश सरकारले एक करोड २६ लाखको लागतमा लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो।

एकातिर आयोजनाका लागि उक्त बजेट पर्याप्त भएन, अर्कोतिर विद्युतको पहुँच नहुँदा अहिले सो आयोजना नै अलपत्र छ। 

खडेरी सुरु हुने बित्तिकै रेक्चावासीले कि दूषित पानी पिउने त कि पानीकै कारण काकाकुल भई गाउँबाट विस्थापित हुनुपर्ने अवस्था रहेको रिटमा उल्लेख गरिएको थियो।

गत चैत २ गते मानवअधिकारको टोली रेक्चा पुगेर स्थलगत अनुगमन गरेको थियो। त्यसपछि इन्सेकले रेक्चावासीले शुद्ध पिउने पानी नपाएको प्रतिवेदन तयार गरेको थियो। सोही प्रतिवेदनका आधारमा अधिवक्ता प्रकाश बाबु ऐडी र इन्सेक कर्णाली प्रदेशमा कार्यरत कार्यक्रम अधिकृत परिष्कृत पौडेलले उच्च अदालतमा रिट दायर गरेका थिए।

रिट प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार मन्त्रालय र चौकुने गाउँपालिकालाई विपक्षी बनाई दायर गरिएको थियो। खडेरी सुरु हुने बित्तिकै रेक्चावासीले कि दूषित पानी पिउने त कि पानीकै कारण काकाकुल भई गाउँबाट विस्थापित हुनुपर्ने अवस्था रहेको रिटमा उल्लेख गरिएको थियो।

उक्त रिटमा उच्च अदालत सुर्खेतले विपक्षीलाई कारण देखाउ आदेश जारी गरेको छ। १५ दिनभित्र प्राविधिक समेतको सहयोगमा दैनिक न्यूनतम् खानेपानीको परिपूर्ति गर्न के कस्तो प्रबन्ध गर्न सकिन्छ भन्ने विवरण तयार गर्न आदेश जारी भएको छ।

३० बैशाख, २०८०, १२:१८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।