हिरासतमा रहेका खाँणप्रति कांग्रेस अझै नरम, अनुसन्धानमा सघाएको भन्दै गरेन निलम्बन

हिरासतमा रहेका खाँणप्रति कांग्रेस अझै नरम, अनुसन्धानमा सघाएको भन्दै गरेन निलम्बन

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने समूहलाई सघाएको आरोपमा पक्राउ पुर्जी जारी हुँदा पनि एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गर्न सकेन।

जब कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे बल्ल एमालेले रायमाझीलाई निलम्बन गर्यो।

त्यही सकस अहिले कांग्रेसमा सरेको छ। पक्राउ पुर्जी मात्र हैन खाँण अहिले काठमाडौं जिल्ला अदालतको अनुमतिमा न्यायिक हिरासतमै छन्। तर दोषी प्रमाणित नभएको भन्दै निलम्बन गर्न कांग्रेसले पन्छिरहेको छ।

बुधबार र बिहीबार यही विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बस्यो तर निलम्बनको निर्णय भएन।

निलम्बन र निस्कासन फरक विषय हुन्। मुद्दाको अन्तिम किनारा नलागेसम्म निलम्बन अनी सफाई पाएको खण्डमा फुकुवा सामान्य प्रक्रिया भए पनि खाणलाई पार्टीको केन्द्रीय सदस्यकै हैसियतमा हिरासतमा बस्ने सुविधा दियो कांग्रेसले।

कारण आरोप लाग्दैमा दोषी नहुने तर्क गरिरहेका छन् कांग्रेस नेता। दोषी ठहर भएमा निलम्बन हैन निस्कासनको निर्णय हुनुपर्ने हो। तर कांग्रेस पदाधिकारी संगठित अपराधको आरोपीप्रति अझै सद्भाव देखाइरहेका छन्।

निलम्बन किन गरेन? पार्टीका सहमहामन्त्री जीवन परियार कुनै मुद्दामा व्यक्ति पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने र अदालतबाट फैसला भइसकेपछि मात्रै दोषी ठहर हुने भएकाले निलम्बन नगरिएको दाबी गरे।

परियारले पत्रकारहरूसँग भने ‘दोषीलाई छोड्न हुँदैन, निर्दोष पर्न हुन्न। सरकारले निष्पक्ष अनुसन्धान गर्नुपर्छ।’

उनले खाँणले अनुसन्धानलाई सहयोग पुर्याइरहेको थप दाबी समेत गरेका थिए। तर निलम्बन गर्ने निर्णय स्थायी कारबाही नभई विचाराधीन निर्णय भए पनि कांग्रेस नेताहरूले यसलाई स्थायी कारबाही जस्तै व्यवहार गरिरहेका छन्।

खाँण मात्रै हैन कांग्रेस केन्द्रीय सदस्य तथा सांसद आरजु राणा अनि मन्जु खाण समेत यो प्रकरणमा जोडिएका छन्।

दुवैले यो प्रकरणमा रकम लिएको दाबी गरिएको एक अडियो सार्वजनिक भएको थियो। राणाले अडियोबारे छानविन गर्न प्रहरीको साइबर ब्यूरो उजुरी दिएकी छिन्। मन्जु प्रेस काउन्सिल पुगेकी थिइन्।

२८ बैशाख, २०८०, २१:३०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।