जंगलभित्र बाटो खन्दै गर्दा चारैतिरबाट आगोले घेरेपछि....

जंगलभित्र बाटो खन्दै गर्दा चारैतिरबाट आगोले घेरेपछि....

नेपालगञ्ज : दैलेखको आठबिस नगरपालिका–६ का भैरव विक विगत लामो समयदेखि भारतमा मजदुरी गर्थे। यो वर्ष मात्रै उनको नाम प्रधानमन्त्री रोजगार कार्यक्रममा परेपछि गाउँमै बसेर काम गरिरहेका थिए।

बुधबार बिहान उनी साढे १० बजे खाना खाएर मेल्तडी जंगलमा बाटो खन्ने काम गर्न गए। उनीसहित सोही गाउँका १२ जना स्थानीयहरु पनि काममा थिए। दिउँसो दुई बजे भामे ठूला मेला सामुदायिक वनको लागेको आगोले उनीहरुलाई चारैतिरबाट घेर्यो। भाग्न खोजे तर कतै ठाउँ भएन।

नजिकैको सानो कोप्चोमा आश्रय लिएका १२ जनालाई आगोले जलायो। त्यही आगोमा परि एकै गाउँका ८ जना गम्भीर घाइते भए। चार जना सामान्य घाइते छन्।

‘अहिले घाइते भएका सबै जना भारतमा मजदुरी गर्ने मान्छे हुन्। यो वर्ष प्रधानमन्त्री रोजगारमा नाम आएपछि भारत नगएर यहीँ बसेका थिए,’ स्थानीय खगेन्द्र शाहीले भने।

त्यस सामुदायिक वनमा मंगलबारदेखि नै आगो लागिरहेको थियो।

‘हामीले बाटो खनिरहेको ठाउँमा आगो आयो। नजिकै रहेको एउटा ओडारमा गएर बस्यौं। ओडारमा आगो आउँदैन होला भन्ने ठान्यौं। तर, पछि चारैतिरबाट आगो बल्दै हामी भएको ठाउँमा समेत आइपुग्यो। भाग्ने ठाउँ पनि भएन। अनि ओडारमै बसेको बेला शरीरमा आगो सल्कियो,’ आगोले जलेकी १८ वर्षीय छत्रा विकले भनिन्।

‘हामी चिच्चायौं, करायौं तर कसैले सुनेन, कराउँदा कराउँदै धेरै जना आगोले जलिसक्नु भएको थियो। आगो निभेपछि मात्रै बाहिर आयौं। त्यतिबेलासम्म उद्धारको लागि कोही पनि आएन। अनि मेरो दाई प्रज विकले स्थानीयलाई खबर गरे,’ उनले थपिन्।

छत्राले आगो लागेको समयमै स्थानीय जुना विक र मिना विक त्यहाँबाट भाग्न सफल भएकाले आगोले धेरै पोल्न नपाएको बताइन्।

हाल उनी लगायत ८ जनाको हाल नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पताल बाँकेमा उपचार भइरहेको छ।

नेपालगञ्ज मेडिकल कलेजमै उपचाररत ५५ वर्षीय मोतिराम कामीका अनुसार बाटो खन्दै गर्दा आगो एक्कासि कताबाट आयो थाहै भएन।

‘बाटो काट्न लागेका थियौं। यताबाट आगो निभेको थियो। तर, खनिरहेको समयमा अर्को ठाउँबाट एक्कासि आगो आयो। त्यहाँबाट भग्यौं। त्यही नजिक ओडार थियो। त्यो ओडारमा टाँसियौं। तलमाथिबाट परेको आगोको झिल्काले हामी पोलियौं। बाहिर भएकालाई धेरै पोल्यो। भित्र भएका कम पोलियौं,’ उनले भने।

नेपालगञ्ज मेडिकल कलेजमा मोतिराम, छत्रा विकसँगै अन्दाजी ३५ वर्षीया बसुन्धरा विक र अन्दाजी २४ वर्षीया जौकला विकको पनि उपचार भइरहेको छ।

नेपालगञ्ज मेडिकल कलेजका डाक्टर विनोद कर्णले दुई जनालाई काठमाडौं रिफर गर्नुपर्ने अवस्था हुनसक्ने बताए।

‘उपचार सुरु गरेका छौं। घाउहरुमा मलहम लगाउने, दुखाई कम र सुन्निएको कम गर्नका लागि औषधीहरू प्रयोग गरेका छौं। एन्टिबायोटिक कुनै पनि चलाएका छैनौं। दुई जनाको अवस्था सामान्य छ। दुई जनालाई काठमाडौं रिफर गर्नुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने।

यस्तै, घाइते अन्य चार जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ। भेरी अस्पतालका कार्यवाहक मेसु डाक्टर राजन पाण्डेले उपचार भइरहेका चार जना मध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिए।

‘यहाँ उपचाररत चार जना मध्ये दुई जना, ५५ वर्षीया भैरव विक र ३३ वर्षीय नवीन विकको अवस्था गम्भीर रहेको छ। अहिले प्राथमिक उपचार गरिरहेका छौं,’ उनले भने, ‘उहाँहरुलाई भोलि काठमाडौं वा लखनउ रिफर गर्नुपर्ने अवस्था आउन सक्छ।’ 

पाण्डेले गम्भीर घाइते भैरव विकको करिब ९० प्रतिशत शरीर जलेको र नविन विकको फिसियल यरियामा आगोले धेरै घाउ बनाएकोले उनिहरुको आईसीयूमा उपचार भइरहेको बताए। भेरी अस्पतालमै उपचाररत ३२ वर्षीया नैना विक र ३१ वर्षीया प्रजे विकको अवस्था सामान्य रहेको छ।

जिल्ला प्रशासन कार्यालय दैलेखको पहलमा गम्भीर घाइतेलाई उपचारको लागि नेपालगञ्ज ल्याइएको थियो। उनीहरुमध्ये चार जनाको भेरी अस्पताल र चार जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।

सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी किशोर लम्सालले जानकारी दिए।

‘केही दिन अघिदेखि जंगलमा आगो लागिरहेको रहेछ, बुधबार काम गरिरहेको अवस्थामा उनीहरुलाई आगोले जलाएछ। दुई पटक गरेर हेलिकप्टर मार्फत उनीहरुलाई नेपालगञ्ज ल्याइएको छ,’ प्रमुख लम्सालले भने, ‘आगलागीको कारणबारे हामीले अनुसन्धान गरिरहेका छौं।’

घाइतेको उपचारका लागि कुनै कसर बाँकी नराख्ने आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता कृष्ण जिसीले बताए ।

‘आकस्मिक घटना घटेछ। उहाँहरुलाई उद्धार गरि उपचार गरिएको छ,’ मन्त्री जिसीले भने, ‘सरकारले उपचारमा कुनै कसर बाँकी राख्ने छैन।’

२८ बैशाख, २०८०, ०८:२४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।