नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई डिस्टर्ब नगर्न तीन दल सहमत

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीलाई डिस्टर्ब नगर्न तीन दल सहमत

काठमाडौं : तीन प्रमुख दलका शीर्ष नेताहरूबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले गरिरहेको अनुसन्धानमा डिस्टर्ब नगर्ने सहमति भएको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रहरीले गरिरहेको काममा डिस्टर्ब नगर्ने सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए।

उनले भने, ‘यो विषय (नक्कली भुटानी शरणार्थी प्रकरण)मा प्रहरीले जसरी अनुसन्धानलाई अघि बढाएको छ, उसलाई कुनै डिस्टर्ब गर्नुहुँदैन भन्नेमा हामी सबैको सहमति भयो।’

साथै प्रधानमन्त्री दाहालले प्रहरीलाई र सरकारको नेतृत्वमाथि आशंका नगर्नसमेत आग्रह गरेका छन्।

‘प्रहरीले आफ्नो काम विधिसम्मत हिसाबले गरेको छ,’ उनले थपे, ‘यसमा द्वविधा र आशंका गर्नुपर्ने ठाउँ छैन, हामीले स्पष्ट भाषामा भनेका छौं, दोषी कोही नछुटोस्, निर्दोष कोही नपरोस्।’

त्यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र सुशासनविना समृद्धि हासिल गर्न नसकिने भएकाले आफूहरू सुशासनको दिशामा अघि बढेको बताएका थिए। 

२७ बैशाख, २०८०, १७:०४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।