कर्णाली प्रदेश अस्पतालमा अप्रेशनका लागि ४ महिना कुर्नुपर्ने, बिरामीको चाप बढ्दो, डाक्टरको दरबन्दी कम

कर्णाली प्रदेश अस्पतालमा अप्रेशनका लागि ४ महिना कुर्नुपर्ने, बिरामीको चाप बढ्दो, डाक्टरको दरबन्दी कम

सुर्खेत : वीरेन्द्रनगर स्थित कर्णाली प्रदेशस्तरको एक मात्र प्रदेश अस्पतालमा दिनप्रतिदिन बिरामीको संख्या बढ्दै गएपछि अस्पताललाई बिरामीको चाप थेग्नै हम्मेहम्मे परेको छ।

कर्णाली प्रदेशका जुम्ला बाहेक अन्य ९ जिल्लासँगै सुदूरपश्चिमका केही जिल्लाका बिरामी समेत यहाँ आउने गरेका छन्। जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान छ।

यो प्रदेश अस्पताल अन्य जिल्लाहरुको रेफरल सेन्टरका रूपमा रहेको छ। हाल अस्पतालमा दुई सय ८० बेड सञ्चालनमा छन्। तर, दरबन्दी भने १५० बेडको छ।

हाल अस्पतालमा विभिन्न जिल्लाहरुबाट उपचार गर्न दैनिक आठ सयदेखि एक हजार जनासम्म बिरामी आउने गरेको अस्पतालका प्रवक्ता एवं वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन डाक्टर विकास केसीले बताए।

बिरामीको यो संख्या अनुसार चिकित्सकको संख्या भने न्यून छ। बिरामीको चाप बढेपछि अस्पतालले अपरान्ह पाँच बजेसम्म ओपीडी सेवा दिन सुरु गरेको छ।

‘अहिले विशेषज्ञसहितको सेवा यहाँ हुँदा बिरामीलाई नेपालगञ्ज, काठमाण्डौं जान परेको छैन। बिरामीको चाप पनि बढ्दो छ। १५० बेडको दरबन्दीमा ३०० बेडसम्मको हिसाबले चलाएका छौं,’ डा. केसीले भने, ‘दरबन्दी अनुसार पनि जनशक्ति छैन। करिब ९० प्रतिशत करारका कर्मचारीले अस्पताल धानेका छौं।’

उनका अनुसार दरबन्दीको स्थायी चिकित्सक आठ जना मात्र छन्। ६ महिनालाई बजेट आउने र फेरि बजेट सकिएर माग गर्नुपर्ने भएकाले करारका कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको उनले बताए। प्रदेश लोकसेवा मार्फत विज्ञापन खुलाई पदपूर्ति गर्न अस्पतालले पहल गरिरहेको उनको भनाइ छ।

अहिले अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसहित साढे चार सय जना कार्यरत छन्। अस्पतालले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत ‘विशेषज्ञ सेवा’ शीर्षकमा करार कर्मचारी राखेको छ। जसमा नेपाल सरकारबाट छात्रवृत्ति पाएकाहरुलाई करारमा राख्ने गरिएको छ।

अस्पतालमा अप्रेशन गर्ने बिरामीको पनि चाप बढिरहेको छ। अहिले अस्पतालमा झन्डै ५० जनाको विभिन्न शल्यक्रिया भइरहेको छ। इमर्जेन्सीबाहेक अन्य बिरामीले अप्रेशनका लागि चार महिनासम्म पनि अस्पतालमा पालो कुर्नुपर्ने अवस्था छ।

प्रदेश अस्पतालले बिरामी चेकजाँचसँगै मिर्गौला र पित्तथैलीको पत्थरीको अप्रेशन गरिरहेको छ, जसमा दैनिक १० जनासम्मको अप्रेशन भइरहेको अस्पतालको तथ्याङ्कले देखाउँछ।

त्यस्तै एपेन्डिसाइड, गर्भवतीको सीएस, हाडजोर्नी, मेरुदण्ड र न्युरो सर्जरी पनि भइरहेको छ। हप्ताको दुई दिन आँखाको मोतीबिन्दु र अन्य अप्रेशन पनि हुने गरेका छन्।

प्रदेश अस्पताललाई स्तरोन्नति गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रदेश सरकारको योजना छ। अस्पताललाई पाँच सय शैयासहितको बनाउन पूर्वाधार निर्माण गर्न थालिएको अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए।

‘पूर्वाधार निर्माणका लागि भवनको तला थप्न लागेका छौं। अस्पताललाई सुविधा सम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा विस्तार, विशेषज्ञ चिकित्सकको व्यवस्था, आधुनिक र प्रविधिमैत्री चिकित्सासहितको सेवा दिन हामी लागिरहेका छौं,’ उनले भने, ‘जनशक्ति अभावको विषयमा प्रदेश सरकारसँग समन्वय पनि गरेका छौं।’

यहाँ आएका बिरामीलाई अन्यत्र स्वास्थ्य संस्थामा पठाउन नपर्ने गरी सुविधा विस्तार गर्न लागिएको उनको भनाई अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा पनि सञ्चालनमा ल्याएको छ। पहिला यही सेवा लिन काठमाडौं नै जानुपर्ने वाध्यता रहेको थियो।

यसैगरी अस्पतालले अप्थाल्मोलोजी, न्यूरो सर्जरी र स्पाइनल सर्जरी सेवा थप गरेको छ। अक्सिजन प्लान्टको व्यवस्था, रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टमको समेत सञ्चालन गर्दै आएको छ।

२७ बैशाख, २०८०, ०९:३१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।