बलात्कार आरोपीलाई पक्रँदा प्रहरीमाथि ढुङ्गामुढा, दुई जना घाइते

बलात्कार आरोपीलाई पक्रँदा प्रहरीमाथि ढुङ्गामुढा, दुई जना घाइते

सुर्खेत : बलात्कार आरोपीलाई पक्रन गएको प्रहरीमाथि कालीकोटमा ढुङ्गामुढा भएको छ।

जिल्लाको पलाँता गाउँपालिका–६ सैनामा जबरजस्ती करणी मुद्दाका आरोपीलाई पक्रन गएको प्रहरी टोलीमाथि स्थानीयले ढुङ्गामुढा प्रहार गर्दा एक जना प्रहरी र एक स्थानीय घाइते भएका हुन्।

सोमबार विहान जबरजस्ती करणीको आरोप लागेका वडा नम्बर ५ का ३१ वर्षीय शंक बुढालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पलाँतातर्फ लैजाने क्रममा स्थानीयले ढुङ्गामुढा गरेका थिए।

झडपमा ईलाका प्रहरी कार्यालय पलाँताका सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुङ्गेल रावल र स्थानीय धनमल विक घाइते भएको प्रहरी प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक एवं प्रवक्ता सुवराज बमले जानकारी दिए।

ढुङ्गेलको टाउकोमा चोट लागेको छ। उनलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार थालिएको छ। यस्तै विकको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ।

बमका अनुसार घटनापछि आरोपी बुढा भने फरार छन् उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट १८ जनाको थप टोली त्यसतर्फ खटाइएको उनले जानकारी दिए।

बुढामाथि २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ। पीडित परिवारले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिएका थिए।

२५ बैशाख, २०८०, १५:५७:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।