फेसन डिजाइनर लक्ष्मीको प्रसव पीडा र खुसी : नर्मल डेलिभरी हुन्छ कि भनेर तीन दिनसम्म सहेँ, त्यसपछि मात्रै सर्जरी गरियो

फेसन डिजाइनर लक्ष्मीको प्रसव पीडा र खुसी : नर्मल डेलिभरी हुन्छ कि भनेर तीन दिनसम्म सहेँ, त्यसपछि मात्रै सर्जरी गरियो

दाङमा जन्मिए पनि फेसन डिजाइनर लक्ष्मी केकसीको बाल्यकाल काठमाडौंमा बित्यो।

सानैदेखि केही गर्ने हुटहुटी बोकेकी लक्ष्मीले भारतमा फेसन डिजाइनको कोर्स सकिन् र नेपालमा आफ्नै बुटिक सञ्चालनमा ल्याइन्।

२०७२ सालमा उनी गर्भवती भइन्। चलिरहेको राम्रो व्यवसाय बन्द गर्दै सन्तानको भविष्य बनाउनतिर लागिन्।

लक्ष्मीकी छोरी अहिले बाल मोडल भइसकेकी छन्। करिअरमा छोरीको भविष्य देखिरहेकी लक्ष्मीले चर्चा कमाइरहेकी छोरीलाई जन्माउँदादेखि हुर्काउँदासम्मको अनुभूति यसरी साटिन्।

म मेरो पारिवारिक पृष्ठभूमि धेरै खुलाउन चाहन्न। तर हाम्रो परिवारमा कला, संस्कार र संस्कृतिलाई माया गर्ने मानिस छन्। सायद त्यसैको प्रभाव हुन सक्छ, मेरी छोरी एन्जल पढाइसँगै बाहिरी क्रियाकलाप र कला क्षेत्रमा एकदमै रुचि राख्छिन्। छोरीको कारण तपाईं म भएसम्म आइपुग्नुभएको हो, यही नै मेरो सफलता हो।

मलाई सानैदेखि फेसनमा रुचि थियो। बच्चा बेलामा सबैको रुचि डाक्टर बन्ने भएजस्तै मेरो पनि गाइनोकोलोजिष्ट बन्ने सपना थियो। अहिले मेरी छोरी आफैँ गाइनोको डाक्टर बन्छु भन्छिन्, भोलि के हुन्छ थाहा छैन।

भारतमा फेसन डिजाइनिङको कोर्स सकेर नेपाल आएकी थिएँ। मनमा फेसनबारे केही गर्ने हुटहुटी थियो। तीन जना मानिस पसलमा बस्ने गरेर मैले फेसन स्टुडियो खोलेकी थिएँ।

तर त्यही समयमा म गर्भवती भएँ। गर्भवती भए पनि बिजनेश चल्दै थियो, बच्चा दुई महिनाको हुँदा भूकम्प गयो।

भर्खर पेटमा बच्चा आएको छ, परकम्पनहरू रोकिएको थिएन। त्यो क्षण मलाई सबैभन्दा धेरै डर बच्चाकै भयो। जमिन हल्लिँदा बच्चा खेर जान्छ भन्ने हल्ला व्यापक थियो। बच्चा जन्मिहाले पनि शारीरिक रूपमा केही हुने हो कि भन्ने अर्को डर।

त्यसैले भूकम्प आएको केही समयमै म भारत गएँ। तर विडम्बना, त्यहाँ मेरो ज्यानले बस्न साथ दिएन।

त्यहाँको हरेक खानेकुरा मेरो शरीरले सहँदैनथ्यो। एउटा राज्य हैन, त्यहाँका धेरै राज्यहरूमा डुलेँ, तर कतै गएर पनि मेरो शरीरले सुख पाएन।

बच्चाको मायाले भारत गएकी मलाई मेरै ज्यान नरहे कसरी बच्चा हुन्छ भन्ने डर लाग्यो। अनि फेरि नेपाल आएँ। नेपालमा मेरो आडभरोसा पशुपतिनाथतिर थियो। भारतबाट फर्केपछि अधिकांश समय पशुपति क्षेत्रतिरै बसेँ, उतै बिताएँ।

मैले ओम अस्पतालमा नियमित चेकजाँच गराएँ। त्यहाँका चिकित्सकहरूले मलाई दिनुभएको आड भरोसाको म सधैँ ऋणी रहनेछु। उहाँहरूले मलाई त्यो समयमा धेरै सहयोग गर्नुभएको थियो।

बच्चा पेटमा आएपछिको केही समय एकदम धेरै बान्ता आउने भयो। पकाएका खानेकुरा देख्यो कि रिस उठ्थ्यो। त्यो समयमा म बाँचेको भनेकै मसरुमको सुप खाएर हो। त्यो पनि खासै खाउँ-खाउँ त लाग्दैनथ्यो, तर खाएपछि पेटमा अडिन्थ्यो।

सुरुदेखि नै मेरो स्वास्थ्य क्रिटिकल नै थियो। बच्चा जन्माउने दिन नजिक आएपछि त गाह्रो भयो। तर पनि नर्मल डेलिभरी गर्न धेरै कोशिस गरेँ। ३ दिनसम्म प्रसव पीडा सहेँ। तर नर्मल डेलिभरी गर्न सकिनँ। सीएस (सर्जरी) गरेर मेरो बच्चा निकालियो।

बच्चा नालमा बेरिएको रहेछ। त्यसैले चाहेर पनि नर्मल डेलिभरी गराउन सकिएन।

बच्चा जन्मिनु अघिसम्म मैले केही सोचेको थिइनँ। नाम के राख्ने भन्ने पनि दिमागमा थिएन। जब मैले बच्चा जन्माएँ, डाक्टरले, लक्ष्मीजी तपाईंले त परी जन्माउनुभएछ भन्नुभयो।

यसो बच्चा हेरेको त, पिंक कलरको एकदमै क्युट, परीजस्तै। अनि मैले त्यही बेलामा नाम सोचें, एन्जल।

भूकम्पले बिथोलेको व्यवसायतिर मेरो ध्यानै गएन। बस्, अब मेरो भविष्य यही छोरी हो भन्ने भयो। मैले मेरा हरेक इच्छा चाहना त्यागेँ र छोरीलाई हेरचाह गर्न थालेँ।

निकै चञ्चले स्वभावकी एन्जल हक्की र निडर छिन्। अहिले सात वर्ष मात्रै पुगिन् तर उनको सोच्ने क्षमतासँग मेरो क्षमता म्याच नै हुँदैन। म अलि लजालु स्वभावको छु। मैले केही बोल्न परे उनी अगाडि सरेर सिकाउन थाल्छिन्।

उनमा भएको कन्फिडेन्ट देखेर रमाइलो लाग्छ भने कहिलेकाहीँ डराउँछु। कतै कुनै दिन ओभर कन्फिडेन्टले भविष्य नबिगारोस् भन्ने कुरामा एकदमै धेरै सचेत छु।

समय हाम्रो बेलाको जस्तो छैन। म उनलाई किताबमा अलि धेरै प्रेसर दिन्छु। मोडलिङ र अतिरिक्त क्रियाकलापले उनलाई रिफ्रेस मात्रै गराओस् भन्ने मेरो चाहना छ।

शब्दमा बयान गर्न नसकिने मातृत्व अनुभवसँगै आमाबुवाको कर्तव्य एक्लैले निर्वाह गर्दा गाह्रो त हुन्छ नै।

तैपनि छोरीलाई हेरेरै म मोटिभेट हुन्छ। काहिलेकाहीं मनमा लाग्छ- मैले मेरो इच्छा चाहना त कतै भुलेँ। तर सन्तान हेर्छु अनि हुर्केपछि इच्छा पूरा गरौँला भनेर सम्झाउँछु।

यो पनि

कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

२४ बैशाख, २०८०, २१:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।