अब अनलाइनबाटै एनओसी प्रिन्ट गर्न सकिने

अब अनलाइनबाटै एनओसी प्रिन्ट गर्न सकिने

काठमाडौँः उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरूलाई प्रदान गरिने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब  अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो ।

एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि भने अनलाइनबाट प्रिन्ट पनि गर्न मिल्ने बनाउन लागिएको एनओसी शाखा प्रमुख वासुदेव वस्तीले जानकारी दिए। 

ढिलोमा अर्को हप्ताबाट अनलाइनबाटै आफैले प्रिन्ट गर्न मिल्ने व्यवस्था हुनेछ उनले बताए ।

सरोकारवाला शैक्षिक संस्थाको ‘एपीआई इन्ट्रिग्रेड’ गरी आवेदकले प्रविष्ट गरेका कागजातका आधारमा ‘अटोनोमस भेरिफिकेसन’ गर्ने शाखा प्रमुख वस्तीले बताए। 

उनले भने, 'विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए/नलिएको विवरणसमेत बैंक तथा वित्तीय संस्थाबाट ‘अटोमेटिक’ हुनेछ । यसका लागि शाखाले बैंक तथा वित्तीय संस्थालाई अभिमुखीकरण गरेको छ । उनीहरूका मागअनुसार ‘युजर म्यानुअल’समेत तयार भइसकेको छ ।' 

नेपाल राष्ट्र बैंकले अनलाइनमार्फत एनओसीका आधारमा विद्यार्थीलाई विदेशी मुद्रा सटही सुविधा दिन सर्कुलर गरेको छ । राष्ट्र बैंककले जारी गरेको परिपत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ बमोजिम उक्त मन्त्रालयले व्यवस्था गरेको पोर्टल प्रयोगमा आएपश्चात् बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उपलब्ध नो अब्जेक्सन सर्टिफिकेटसम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउनुपर्ने भनिएको छ ।

अहिले सरोकारवाला निकायका ‘सफ्टवेयर’ शाखाको अनलाइन प्रणालीसँग जोड्ने काम भइरहेको छ । कतिपय सरोकारवाला निकाय अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्नसक्ने अवस्थामा नभएका कारण केही ढिलाइ भइरहेको एनओसी शाखा प्रमुख वस्तीले जानकारी दिए।

'यसका लागि २५ भन्दा बढी सरोकारवाला निकायसँग समन्वय आवश्यक हुन्छ', उनले भने, 'राहदानी विभाग, विश्वविद्यालय, अध्यागमनलगायत सरोकारवाला निकायसँगको समन्वय आवश्यक हुन्छ ।'

सबै सरोकारवाला निकायले अनलाइनमार्फत सेवा प्रवाह गरेका मात्रै एनओसी शाखाले शतप्रतिशत सेवा प्रवाह गर्नसक्ने उनको भनाइ छ ।

सरकारले वैदेशिक अध्ययनलाई व्यवस्थित गर्नका लागि ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेको छ ।

निर्देशिका एनओसी लिने कार्यलाई सहज, सरल, तथ्यपरक, व्यवस्थित, प्रविधिमैत्री तथा प्रभावकारी बनाउन र विदेशी मुद्रा सटही सिफारिससम्बन्धी कार्यलाई व्यवस्थित गर्न बनाइएको हो । सोही आधारमा एनओसी जारी गर्ने प्रक्रिया पूर्ण रूपमा अनलाइनबाट गर्न लागिएको हो । 

वैशाख २१, २०८० बिहीबार १५:१६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।