रविका चालकले घटनाका दिन अत्यधिक मदिरा पिएको पुष्टि, केस नै ‘अनसल्भ्ड मिस्ट्री’ हुने जोखिम

रविका चालकले घटनाका दिन अत्यधिक मदिरा पिएको पुष्टि, केस नै ‘अनसल्भ्ड मिस्ट्री’ हुने जोखिम

काठमाडौंः उपनिर्वाचनको ठिक ६ दिनअघि (वैशाख ४ गते) बिहान ४ बजेतिर रास्वपा सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा (शम्भु) घरको छतबाट लडेर घाइते भए। 

लामिछानेको चितवनस्थित घरको छतबाट लडेर गम्भीर घाइते भएका उनको हिजो (मंगलबार) मेडिसिटी अस्पताल ललितपुरमा मृत्यु भयो। 

तीन तलामाथिबाट खसेर टाउकोमा गम्भीर चोट लागेर घाइत भएका उनको कलेज अफ मेडिकल साइन्सेस, भरतपुरमा शल्यक्रिया गरिएको थियो। तत्पश्चात् नै मेकानिकल भेन्टिलेटरको सहायतामा उपचाररत उनको ललितपुरस्थित नेपाल मेडिसिटीको आईसीयूमा मृत्यु भएको हो। 

स्रोतका अनुसार वैशाख ५ गते उपचारका लागि मेडिसिटी ल्याउँदा उनको अवस्था नाजुक थियो। उनी त्यतिबेला कोमामा थिए र मस्तिष्कले कुनै प्रतिक्रिया जनाइरहेको थिएन।

चिकित्सकीय भाषामा उनी 'ब्रेन डेथ'को अवस्थामा थिए। मेडिसिटी अस्पतालको आईसीयूमा उपचार हुँदै गर्दा उनले स्वःस्फूर्त रूपमा सास फेर्न खोजेको संकेत देखिएको स्रोतले दाबी गरेको छ।

त्यसैले गर्दा पनि उनलाई भेन्टिलेटरबाट निकालेर 'ट्र्याक्सटोमी' (घाँटीमा प्वाल पारेर स्वास फेर्नका लागि पाइप जोड्ने कार्य) गर्न सकिन्छ कि भनेर पनि उपचाररत चिकित्सकहरूले परिवारलाई सुनाएका थिए। तर, उनलाई पुनः निमोनिया भएपछि भने त्यो सम्भावना पनि समाप्त भयो।

उपनिर्वाचनले रवि व्यस्त भए पनि दिलबहादुरकी श्रीमतीसँगै रविकी श्रीमती निकिता चिकित्सकको प्रत्यक्ष सम्पर्कमा थिइन्। रवि निर्वाचनको मौन अवधि सुरु भएर प्रचारप्रसार बन्द भएपछि दिलबहादुरको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। 

उनी चितवन-२ बाट निर्वाचित भएपछि पनि दिलबहादुरलाई भेट्न अस्पताल गएका थिए।  

गत शुक्रबारदेखि भने दिलबहादुरको स्वास्थ्य अवस्था निकै खस्किएको थियो। उपचारमा संलग्न चिकित्सकहरूले अथक प्रयासका बाबजुद पनि अब उनलाई बचाउन सकिने हरसम्भव प्रयास सकिएको गत आइतबारै परिवारका सदस्यलाई स्पष्ट पारेका थिए। 

त्यसपछि परिवारका सदस्यले सोमबार उनलाई छोराहरूलगायत परिवारका अन्य सदस्यलाई देखाएपछि ठोस निर्णय लिने जानकारी गराए। यसैक्रममा मंगलबार १ः३५ मा चिकित्सकहरूले उनलाई मृत घोषित गरे।

उनलाई मृत घोषित गरेसँगै प्रहरीले अनुसन्धान गरिरहेको घटना भएका कारण चिकित्सकले उनको शवको पोस्टमार्टम गर्न सिफारिस गरे। चिकित्सकहरूले 'डेथ सर्टिफिकेट' बनाएर परिवारलाई दिएका थिए।

त्यसअनुसार दिलबहादुरको पोस्टमार्टम गर्न शव पाटन अस्पताल लगियो। तर प्रहरीको मुचुल्कालगायतका प्रशासनिक कार्य सकिन समय लाग्यो र पोस्टमार्टम बुधबारका लागि सारियो।

भएको के हो ? 

छतबाट खसेर घाइते भएका दिलबहादुरको श्रीमतीले सुरुमा उनले मादक पदार्थ सेवन नगर्ने र चुरोट भने खाने गरेको बताएको स्रोतको दाबी छ।

तर भरतपुर अस्पतालले रगतमा मादक पदार्थको मात्रा जाँच गर्न नमुना संकलन गरेर पठाएको रिपोर्ट आएपछि भने उनले अत्यधिक मात्रामा मादकपदार्थ सेवन गर्ने गरेको पुष्टि भएको थियो। 

सामान्य रूपमा मादकपदार्थ सेवन गर्ने व्यक्तिभदा उनको रगतमा मादक पदार्थको मात्रा ५ गुणा बढी देखिएको प्रहरी उच्च स्रोतले दाबी गरेको छ।

'उक्त रिपोर्ट चिकित्सकलाई देखाएपछि उनले नियमित उच्च मात्रामा मादकपदार्थ सेवन गर्थे भन्ने देखियो,' स्रोतले भन्यो।

स्रोतका अनुसार लामिछानेले समेत आफ्ना केही निकट व्यक्तिलाई बिहान गाडी चलाउँदा दुई जना मात्रै भए पनि उनले किन मास्क लगाउँथे भन्नेबारे बल्ल बुझेको बताएका थिए। 

घटना भएको अघिल्लो दिन वैशाख ३ गते तनहुँको सभामा सहभागी भएर फर्किँदा रातको ११ बजेको थियो। स्रोतका अनुसार दिलबहादुरले विसञ्चो महसुस भएको बताउँदै दिउँसो पनि राम्रोसँग खाना खाएका थिएनन्। बेलुका घर पुगेपछि उनले के खाए र के गरे त्यो रहस्य बनेको छ। 

उनले मादक पदार्थ सेवन गरे भन्ने विषयमा कुनै दुई मत नभए पनि एक्लै पिए कि कोहीसँग बसेर पिए भन्ने खुलेको छैन। प्रहरीले पनि त्यसबारे केही ठोस प्रमाण भेटेको छैन।

अब सो घटनाका पीडित दिलबहादुरको मृत्यु भएसँगै यो घटनाको रहस्योद्घाटन हुन प्रायः असम्भव जस्तै देखिन्छ। ठोस निष्कर्ष आउन कठिन हुने भएसँगै यो घटना प्रहरीको फाइलमा पनि 'अन्सल्भ्ड मिस्ट्रीका रुपमा दर्ज हुन सक्छ।

वैशाख २०, २०८० बुधबार १६:१६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।