जन-प्रशासन क्याम्पसमा भ्रष्टाचार : लेखाका कर्मचारीले निकाले विद्यार्थीको धरौटी रकम

जन-प्रशासन क्याम्पसमा भ्रष्टाचार : लेखाका कर्मचारीले निकाले विद्यार्थीको धरौटी रकम

काठमाडौं : जन-प्रशासन क्याम्पसको लेखा शाखाले विद्यार्थीको धरौटी रकम हिनामिना गरेको खुलेको छ। क्याम्पसको आन्तरिक छानबिनले लेखा शाखाका कर्मचारीले धरौटी रकम हिमामिना गरेको खुलाएको हो।

चैत दोस्रो हप्तादेखि जन-प्रशासन क्याम्पसमा आन्तरिक  लेखा परीक्षण शुरू भएको थियो। लेखा परीक्षण गर्ने कर्मचारीले ५ वटा भौचरमा कैफियत देखे।

उनीहरूले पाँचवटा भौचरबारे अनुसन्धान गर्न सुझाएपछि क्याम्पस प्रमुख हरिभक्त शाहीले राधा घिमिरेको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेका थिए।

१० दिन लगाएर गरेको अनुसन्धानमा आन्तरिक लेखा परीक्षणले जे त्रुटी औँल्याएको थियो त्यही त्रुटी देखियो। समितिले रजिष्ट्रार कार्यालयमा प्रतिवेदन बुझायो।

क्याम्पस प्रमुख शाहीले लेखा शाखालाई क्याम्पस प्रमुखले कारबाही गर्न नमिल्ने देखिएपछि रजिष्ट्रार कार्यालयमा प्रतिवेदन बुझाइएको बताए।

‘आन्तरिक लेखा परीक्षणले ५ वटा भौचरमा गडबडी देखाएपछि छानविन समिति बनेको थियो। छानविन समितिले पनि त्यही गडबडी औँल्याएपछि त्यो प्रतिवेदनसहित आवश्यक कारबाही गरिपाऊँ भनेर हामीले रजिष्ट्रार कार्यलयमा पठाएका छौँ,’ उनले भने, ‘प्रतिवेदन नै उता बुझाएकाले के थियो अहिले नभनौँ के रे।’

छानविन समितिका एक सदस्यका अनुसार ५ वटा भौचरमा सही तरिकाले अभिलेख राखिएको छैन।  विद्यार्थीले धरौटीको चेक लिएर जाँदा चेक बुझिलिएको हस्ताक्षर पनि गरेका छैनन्। ५ वटा भौचरको रकम १२ हजारमा गडबडी देखिएको छ।

क्याम्पस प्रमुखले चेक हस्ताक्षर गरेपछि लेखा शाखा हुँदै धरौटी फिर्ता लिने विद्यार्थीले चेक लिने गर्छन्। 

चेक इस्यु भएको तर विद्यार्थीले बुझिलिएको हस्ताक्षर पनि नगरेको र बैंक स्टेटमेन्ट सो रकम घटेको देखिएपछि छानविन समितिले लेखा शाखाका प्रमुख प्रताप रेग्मीको भूमिका शंकास्पद देखिएको भन्दै उच्च तहबाटै थप छानविन गर्नको सुझाएको छ। 

छानविन स्रोतका अनुसार २ वर्षअघि क्याम्पस छाडेर गएका विद्यार्थीको धरौटी रकममा हिनामिना भएको देखिएको छ।

घटनाको प्रकृतिले लेखा शाखाका कर्मचारीले लामो समयदेखि यस्तो गडबडी गरेको शंका बढाएकाले धरौटी रकमबारे विस्तृत छानबिन गर्नुपर्ने देखिएको क्याम्पस स्रोत बताउँछ।

‘तत्काल रकम थोरै देखिए पनि धरौटी रकममा लेखाका कर्मचारीले लामो समयदेखि अनियमितता गरेको हुनसक्छन्,’ छानविनमा संलग्न स्रोतले भन्यो, ‘यसबारे विस्तृत छानबिन हुनुपर्ने देखियो।’

वैशाख १८, २०८० सोमबार १४:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।