अपाङ्गता भएकी सञ्चारकर्मी भूमिकलाको प्रसव पीडा र खुसी : आफ्नै ज्यान त स्याहार्न नसक्नेले के बच्चा जन्माएको ?

अपाङ्गता भएकी सञ्चारकर्मी भूमिकलाको प्रसव पीडा र खुसी : आफ्नै ज्यान त स्याहार्न नसक्नेले के बच्चा जन्माएको ?

४ वर्षको उमेरमा निस्लोट ज्वरो आयो उनलाई। औषधिपछि ज्वरो त निको भयो तर उनको पूरै शरीर चलेन। के कारण त्यस्तो समस्या आयो उनलाई अहिलेसम्म थाहा छैन। सानो उमेरमै शरीरको हलचल गुमेपछि उनका साइकल पसले बाबुले तीन पांग्रा भएको गाडी बनाइदिए। जसलाई धेरै बालबालिकाले खेल्न प्रयोग गर्छन्।

शुरुमा समाउन पनि सक्दिनथिन्। उठ्ने अनि लड्नेक्रम चलिरह्यो। खुट्टातिर लागेका चोटको दाग अझै छन्। त्यही तीन चक्के गाडीलाई समाउने चक्करमा उनी हलचल गर्ने भइन्। पछि त हिँड्न पनि थालिन्। तर देब्रे खुट्टाले भर दिएन। खुट्टा छोटो र कमजोर बनिदियो।

विभिन्न संघसंस्थाको सहयोग र उपचारले पैताला टेक्न र जुत्ता लगाउन सक्ने भइन् उनी। धेरै पटक लडिसकिन् तर पनि हरेस नमानी उठेर हिँड्छिन्।

मध्यम परिवारमा जन्मेकी उनी सरकारी विद्यालयमा पढिन्, चार कक्षाबाट एबीसीडी सुरु गरिन्। तर अहिले उनी अङ्ग्रेजी भाषा अनिवार्य भएका संघसंस्थामा अबद्ध छिन्। सुरुमा सहाराबिना उभिन नसक्ने उनी अहिले आफूजस्तै धेरै मानिसको सहारा बनेकी छन्। 

एसएलसी दिएपछि थप अध्ययनका लागि कि धरान, कि विराटनगर त कि काठमाडौँ आउनुपर्ने जमाना थियो त्यो। अवसर खोजिरहेका बेला एक संस्थाले तालिममा सहभागी हुने अवसर दियो र काठमाडौँ बोलायो। त्यही अवसरको धागो समातेर म काठमाडौँ आएकी उनले सुरुमा व्यवस्थापनको तालिम लिइन्।

नेपाल अपांग महिला संघको संस्थापक कोषाध्यक्षसमेत रहेकी उनले रेडियो नेपालमा स्वर परीक्षा पास गरेर ‘अपांग आवाज’ नामको कार्यक्रम चलाइन्। त्यसले पहिलो महिला अपांग पत्रकार तथा सञ्चारकर्मीको परिचय दिलायो। अहिले उनी विभिन्न संघसंस्थासँगै नेपाल टेलिभिजनमा अपांगता आवाज भन्ने कार्यक्रमको प्रस्तोता हुन्। सञ्चारकर्मसँगै आफूजस्तै शारीरिक रूपमा असक्त मानिसको अधिकारमा होमिएकी एक सन्तानकी आमा उनै भूमिकलाले उकेरासँग बाँडेको आफ्नो प्रसव पीडा र खुसी :

OOO

जति नै परिवर्तनका कुरा गरे पनि नेपाली समाजको सोच अहिले पनि पुरानै छ। अझ आजभन्दा झन्डै दुई दशकअघिको समाज कस्तो थियो होला! शारीरिक अपांगता भएका व्यक्ति, अझै मजस्तो छोरीले बिहे गर्ने, घरबार बनाउने भन्ने कुरा यो समाजले सोच्ने वातावरणै थिएन। त्यसैले मलाई पनि बिहे गरौँला, मेरो जिन्दगीमा पनि कोही हेरचाह गर्ने माया गर्ने मानिस आउला भन्ने सोच थिएन।

मेरो श्रीमान् गणेश सुवेदी लेखक, निर्देशक तथा गीतकार हुनुहुन्छ। विभिन्न इभेन्टहरू आयोजना गर्नुहुन्छ। म अभियन्ता हुँदा र कार्यक्रमहरू गर्दा उहाँसँगै भेेट भयो। हामी सँगै कार्यक्रमहरू आयोजना गर्ने भएपछि राम्रो साथी बन्यौँ।

त्यही सिलसिलामा उहाँले एक दिन मलाई प्रस्ताव गर्नुभयो, 'तपाईं मलाई राम्रो लाग्यो, बिहे गर्नुहुन्छ?'

सुरुमा त म छाँगाबाट खसेजस्तै भएँ। जोक गर्नुभएको हो कि भन्ने पनि लाग्यो। तर उहाँले निरन्तर एकै कुरा दोहोर्याएपछि मैले भने, 'म शारीरिक रूपमा अपांग छु। तपाईंको घरपरिवार छ। बुहारीको रूपमा मैले परिवारले सोचे जसरी कर्तव्य पूरा गर्न नसकूँला।'

मैले त्यसो भनेपछि उहाँले परिवारसँग कुरा गर्नुभएछ। तेरो खुसी उसैमा छ भने बिहे गर भनेर परिवारले स्वीकृति दिनुभएछ।

उताको परिवारमा स्वीकार भएपछि मैले मेरो परिवारसँग कुरा गरेँ। उहाँहरूले मेरो कुरा पत्याउँदै पत्याउनुभएन। पछि उहाँ आफै गएर कुरा गरेपछि बल्ल पत्याउनुभयो अनि परिवारको सहमतिमा बिहे भयो।

बिहे भएको झन्डै दुई वर्षपछि म गर्भवती भएँ।

समाजले बिहे भइसकेपछि मलाई अर्को चुनौती दिएको थियो, शारीरिक अपांगता भएकैले बच्चा नहुने हो कि। म आमा बन्न सक्षम छु भन्ने प्रमाणित गर्न पनि बच्चा मेरा लागि अनिवार्य थियो।

बच्चा पेटमा आएको समयमा म एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्थेँ। अपांगताहरूकै क्षेत्रमा काम गर्ने त्यो संस्थामा मेरो हाकिम विदेशी महिला हुनुहुन्थ्यो। उहाँका दुई सन्तान थिए। सायद त्यसैले होला मलाई गर्भावस्थाको समयमा धेरै सजिलो भयो।

सुरुमा केही महिना पेटमा पानीसमेत अडिँदैनथ्यो। कमजोर पनि भएँ। खाएको केही नअडिने भयो। अफिसले रेष्ट गर भनेर अवसर दियो। त्यसैले धेरै गाह्रो भने भएन।

जब डेलिभरीको समय नजिक आयो, पेट ठूलो हुँदै गयो। त्यो बेला एकदमै गाह्रो भयो। एउटा खुट्टा कमजोर, त्यसैमाथि पेटभित्र एउटा जीवन बढिरहेको थियो। एक खुट्टाले मात्रै धान्न गाह्रो हुन्थ्यो। म बच्चा बेलामा जसरी घस्रिँदै हिँड्थेँ, त्यो समयमा पनि त्यस्तै अनुभूति भयो।

बसमा बस्न सक्दैनथेँ। त्यसैले टेम्पुमा यात्रा गर्थेँ। बच्चा पेटमा आएपछि मलाई गुलियो खानेकुरा एकदमै खान मन पर्थ्यो । तराईमा जन्मेकाले पनि हुन सक्छ, तराईमा पाइने मिठाइहरू, बुनियाँ, जुलेबीहरू एकदमै मन पर्थ्यो। तर पकाएको खाना भने पटक्कै मन पर्दैनथ्यो। भान्सामा छिर्दै छिर्दैनथे। पकाएर दिएको थोरै भात पनि तीन पटक खाँदासमेत सकिन्नथ्यो।

पेट ठूलो भएपछि मनमा उब्जिएको डर थियो- लड्छु कि। अन्य समयमा म कति लडेँ, कति चोट खाएँ त्यसको हिसाब छैन। तर बच्चा पेटमा आएपछि आफ्नो ज्यानको भन्दा बच्चाको माया लाग्ने रहेछ। मेरो कारण बच्चालाई असर नपरोस् भन्ने कुरामा एकदमै सचेत बनेकी थिएँ।

मलाई अर्को सबैभन्दा ठूलो डर थियो, मेरो बच्चा पनि म जस्तै शारीरिक रूपमा अपांग जन्मने हो कि भन्ने। किनभने नेपाली समाजले त जस्तो आमा उस्तै बच्चा जन्मन्छ भन्ने धारण बनाएको छ नि त।

त्यसैले स्वास्थ्य परीक्षणमा मैले धेरै ध्यान दिएँ। ओम हस्पिटलमा नियमित चेकजाँच गराएकी थिएँ। अस्पतालले बच्चाको स्वास्थ्य एकदम राम्रो छ भनेको थियो। डेलिभरी हुनुएक महिनाअघि अफिसले बिदा दियो। म माइती गएँ। बच्चा कोसी हस्पिटलमा जन्मियो।

हस्पिटलमा जाँदा पो त्यहाँको चिकित्सकले मेरो पाठेघरको मुख सानो छ, बच्चा नर्मल जन्माउन सम्भावना छैन भने। मलाई त एकदमै धेरै डर लाग्यो। सुरुमा नर्मल डेलिभरीका लागि प्रयास भयो। तर सकिएन। अनि अप्रेशन गर्न छलफल भयो।

दुई-दुई व्यथा किन सहनु भनेर मैले अपरेसनकै लागि चिकित्सकलाई अनुरोध गरेँ। अपरेसनका लागि एनेस्थेसिया दिने चिकित्कसको कुरा अहिले सम्झँदा पनि नरमाइलो लाग्छ। उनको त्यो एटिट्युड र कुरा गराई साह्रै चित्तदुख्दो थियो।

मलाई बेडमा चढ्न उनले भने। उनको बोली एकदमै झर्किलो थियो। मैले म शारीरिक रूपमा अपांग छु, बिनासहारा बेडमा चढ्न सक्दिनँ भनेँ। ती नर्स साह्रै नराम्रोसँग रिसाइन् र एक पिर्काजस्तो ल्याएर राखिदिइन्। म त्यसैमा चढेर बेडमा उक्लिएँ। उनले एनेस्थेसिया दिँदै नमिठो आवाजमा भने, 'आफै असक्त, हिँड्न नसक्ने। आफ्नै ज्यान स्याहार्न नसक्नेले पनि के बच्चा जन्माएको होला, अब अर्को बच्चा नजन्माउनू।'

मेरो बच्चा जन्माउन पाउने, आमा बन्न पाउने अधिकारलाई उनले साह्रै नराम्रोसँग अपहेलना गरे। अपांगता भएका महिलालाई केही राहत देलान् कि भन्ने सोचिरहेको समयमा यस्ता व्यवहारले नराम्रो लाग्यो।

मैले छोरी जन्माएँ। आमा भएपछि मलाई मेरो जिम्मेवारी थपियो। अझै पैसा कमाउनुपर्छ, अव परिपक्व भएँजस्ता अनुभूतिहरू एकैसाथ आए। अपांग महिलाको बिहे हुँदैन, बच्चा जन्माउन सक्दैन, यौन सुख दिन सक्दैन, श्रीमानलाई खुसी बनाउन सक्दैन जस्ता कुराहरू समाजमा अहिले पनि आउँछ। तर ती सबैलाई मैले चुनौती दिएँ जस्तो लाग्यो। आमा बन्नेबित्तिकै मलाई मैले धेरै लडाइँ जितेँ भन्ने अनुभूति भएको थियो।

बच्चा जन्माउन्जेलको यात्रामा मलाई मेरो ममीले एक्लै छाड्नुभएन। सासूको माया उस्तै पाएँ। श्रीमानको फिजिकल, इमोसनल र जिम्मेवार बाँडफाँटमा पाएको साथ एकदमै मीठो थियो।

अहिले छोरी बुढानीलकण्ठ स्कुलमा पढ्छिन्। उनी शारीरिक अनि मानसिक रूपमा एकदमै स्वस्थ छिन्। बच्चालाई परिवार, आमाबुबाका कारण पनि इम्ब्यारेस भइरहेको हुन्छ। तर मेरी छोरीले मप्रति धेरै प्राउड गर्छिन्। हरेक कुरामा मलाई सपोर्ट गर्छिन्। यो देखेर एकदमै खुसी लाग्छ।

यो पनि
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

१० बैशाख, २०८०, १८:३८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।