मतदानको समयमा फेसबुक लाइभ आएका रविले भने, 'मविरुद्ध घेराबन्दी भयो'

मतदानको समयमा फेसबुक लाइभ आएका रविले भने, 'मविरुद्ध घेराबन्दी भयो'

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान चलिरहेका बेला फेसबुक लाइभमा आएका छन्। 

चितवन क्षेत्र नम्बर २ मा आज भएको उपनिर्वाचनको मतदानका समयमा लामिछानेका समर्थकहरूले नाराबाजी गरेका थिए।

भरतपुर महानगरपालिका-११ नयाँ किरण माविमा मतदान स्थगित भएपछि त्यस क्षेत्रका उम्मेदवार लामिछानेले फेसबुक लाइभबाट आफ्ना पार्टीका स्वयंसेवकहरूलाई संयमित हुन आग्रह गरेका छन्। 

मतदान केन्द्रमा उनी पुग्दा उनका समर्थकहरूले नाराबाजी गरेका थिए। पछि अन्य दलका कार्यकर्ताले हस्तक्षेप गरेका कारण मतदान प्रक्रिया नै प्रभावित भएको थियो। 

लामिछानेले मतदान केन्द्रमा उम्मेदवार पुग्दा नाराबाजी हुनुलाई सामान्य भएको बताएका छन्। उनले निर्वाचनको प्रचारप्रसार रोकिएका बेला फेसबुक लाइभमा आएर आफूमाथि घेराबन्दी भएको दाबीसमेत गरे। 

उनले आफूभित्र पनि आक्रोश रहेको भन्दै आफ्ना समर्थकहरूलाई सामाजिक सञ्जालमा भड्काउ कमेन्ट नगर्नसमेत भनेका छन्। 

यसअघिको  निर्वाचनमा पनि आफू मतदान केन्द्रमा जाँदा नाराबाजी भएको तर अन्य प्रतिस्पर्धी उम्मेदवारहरूले त्यसलाई सामान्य रुपमा लिएको उनको भनाइ थियो। 

मंसिर ४ को निर्वाचनका आफ्ना प्रतिस्पर्धी नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरूले उनको प्रशंसा गरेका थिए।
त्यसबेला लामिछानेले बुथमा भएका आफ्ना कार्यकर्तालाई होहल्ला नगर्न आग्रह गरेका थिए।

१० बैशाख, २०८०, १४:३७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।