कालो भएपछि निकालियो स्वास्थ्य मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो
काठमाडौं : दुई साताअघि स्वास्थ्य मन्त्रालयमा राखिएको एक जोडी कृत्रिम फोक्सो १५औं दिनमा झिकिएको छ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले काठमाडौं उपत्यकामा उच्च स्तरको प्रदूषणका कारणले मन्त्रालयको मूलगेटमा राखिएको फोक्सो १५ दिनमै कालो भएपछि झिकिएको बताए।
अधिकारीले भने, ‘काठमाडौं उपत्यकामा उच्च स्तरको प्रदूषणका कारणले उक्त कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ। यसले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको छ।’
मन्त्रालयले १५ दिनमा आएको परिवर्तनलाई तस्बिरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामूलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको छ।
काठमाडौंका सामुदायिक विद्यालयका विद्यार्थीहरूले वायु प्रदूषणले फोक्सोमा पार्ने असरबारे जानकारी दिन र परीक्षणद्वारा उनीहरूको फोक्सोको जाँच गरी सचेतनासम्बन्धी कार्यक्रम आयोजना गरी उक्त कृत्रिम फोक्सो जडान गरिएको थियो।
नेपालमा वायु प्रदूषणको मुख्य कारणमा सवारीसाधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलोको साथै घर, रेष्टुराँ तथा होटल व्यवसायबाट हुने उत्सर्जन र ऊर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदिको प्रयोग रहेका छन्।
प्रदूषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन्। वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याका साथै हृदयघात, मतिष्कघात, आँखा, छालासम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउँछ।
वैशाख ८, २०८० शुक्रबार २१:४३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।