सात बुँदे घोषणापत्र जारी गर्दै सकियो स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन
काठमाडौंः स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन सात बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ।
काठमाडौंमा मंगलबार र बुधबार चलेको सम्मेलनले उच्च गुणस्तरको स्वास्थ्य नीति र प्रणालिगत अनुसन्धानका लागि अनुसन्धानकर्ता तथा शैक्षिक संस्थाहरुबीचको आवश्यक सहकार्यलाई मजबुत बनाउने घोषणापत्र जारी गरेको छ।
राज्यका सबै तहमा अनुसन्धानकर्ता, नीति निर्माता तथा कार्यक्रम व्यवस्थापकहरुबीच मजबुत सम्बन्धको विकास गर्दै तथ्यमा आधारित प्रमाणलाई नीति तथा कार्यक्रममा प्रयोग गर्ने संयन्त्रको विकास गर्ने घोषणापत्रमा उल्लेख छ।
सम्मेलनले स्वास्थ्यका वृहत्तर निर्धारकहरुलाई सम्बोधन गर्न गुणात्मक प्रमाणको आधारमा समाधानका उपाय पहिचान गर्ने बहुक्षेत्रीय सरोकारवालाहरुबीचको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढीकरण गर्ने घोषणापत्र जारी गरेको छ।
त्यसैगरी जनतालाई वित्तीय जोखिमबाट बचाउँदै स्वास्थ्यमा विश्वव्यापी पहुँचतर्फ उपलब्धि हासिल गर्ने, समतामूलक पहुँचलाई सहजिकरण गर्न अनुसन्धानमा आधारित प्रमाणको उत्पादन तथा प्रयोग प्रवर्द्धन गर्ने सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख छ।
सम्मेलनमा बेष्ट ओरल प्रिजेन्टेशनको उपाधि विजय खत्रीले पाएका छन् भने बेष्ट पोष्टर्स प्रिजेन्टेशनको अवार्ड सीता कोइरालाले हात पारेकी छन्।
मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योगं हेल्थ रिसर्च अवार्ड (एनएचआरसी स्टाफ) नमिता घिमिरेले पाएकी छन्। त्यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योगं हेल्थ रिसर्च अवार्ड (डाक्टर क्याटागारी) डा. रबिनमान कर्माचार्यले जिते। हेल्थ रिसर्च अवार्ड भने शिवराज मिश्रले पाए।
चैत ३०, २०७९ बिहीबार ०८:३७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।