सकियो अनुसन्धान परिषद्ले दुई दिने शिखर सम्मेलन, सात बुँदे घोषणापत्र जारी
काठमाडौं : सात बुँदे घोषणापत्र जारी गर्दै दुई दिने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचआरसी)को आयोजनामा मंगलबार र बुधबार काठमाडौंमा चलेको सम्मेलनले राज्यका सबै तहमा अनुुुसन्धानकर्ता, नीति निर्माता तथा कार्यक्रम व्यवस्थापकहरूबीच मजबुत सम्बन्धको विकास गर्दै तथ्यमा आधारित प्रमाणलाई नीति तथा कार्यक्रममा प्रयोग गर्ने र संयन्त्रको बढावा सुदृढिकरण संस्थागत गर्ने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी उच्च गुणस्तरको स्वास्थ्य नीति र प्रणालीगत अनुसन्धानका लागि अनुसन्धान तथा शैक्षिक संस्थाहरूबीचको आवश्यक सहकार्यलाई मजबुत एवं प्रवरद्धन गर्ने, स्वास्थ्यका वृहत्तर निर्धारकहरूलाई सम्बोधन गर्न गुणात्मक प्रमाणको आधारमा समाधानका उपाय पहिचान गर्ने, बहुक्षेत्रीय सरोकारवालाहरूबीचको समन्वय, सहकार्य र साझेदारीलाई सुदृढिकरण गर्ने घोषणा पनि सम्मेलनले गरेको छ।
‘स्वास्थ्यका प्रणालिका समस्याहरुलाई नविनतम समाधान प्रदान गर्ने नव पवर्तनमुखी अनुसन्धानलाई मूल्याङ्कन प्रवर्द्धन र वृहत्तर कार्यान्वयनका लागि संयन्य विकास एवं संस्थागत गरिनेछ’, जारी घोषणापत्रमा भनिएको छ।
त्यसैगरी, जनतालाई वित्तीय जोखिमबाट बचाउँदै स्वास्थ्यमा विश्वव्यापी पहुँचतर्फ प्रगतिशिल उपलब्धी हासिल गर्दै, समतामूलक पहुँचलाई सहजीकरण गर्न अनुसन्धानमा आधारित प्रमाणको उत्पादन तथा प्रयोग प्रवर्द्धन गर्ने सम्मेलनले जारी गरेको घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा भनिएको छ, ‘प्रमाणको आधारमा नीति तथा कार्यक्रमको व्यवस्थित संयन्त्र स्थापित गर्न यस अघिका सम्मेलन तथा त्यसका घोषणाहरूको समीक्षा तथा विश्लेषण गरिनेछ।’
त्यसैगरी सम्मेलनमा विभिन्न विधामा पुरस्कार समेत दिइएको छ। बेष्ट ओरल प्रिजेन्टेशनबाट विजय खत्रीले पाएका छन् भने बेष्ट पोष्टर्स प्रिजेन्टेशन अवार्डबाट सीता कोइरालाले पाएकी छन्।
मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्च अवार्ड (एनएचआरसी स्टाफ) नमिता घिमिरेले पाउँदा मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्च अवार्ड (डाक्टर क्याटागोरी) डा. रबिनमान कर्माचार्यले पाए। हेल्थ रिसर्च अवार्ड शिवराज मिश्रले हात पारे।
चैत २९, २०७९ बुधबार २१:३७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।