बढ्न थाले कोरोना संक्रमित, तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढदै गएपछि अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
दैनिक रुपमा कोरोना भाइरस संक्रमितको संख्या बढदै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो।
मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले अहिले देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ बढी संक्रामक रहेको बताए।
उनले यस नयाँ भेरियन्टले धेरै जनालाई संक्रमण सार्ने सम्भावना रहेकाले रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिइसकेको जानकारी दिए।
बुधबार मात्रै देशभर १०६ जना नयाँ संक्रमित देखा परेका थिए। हाल काठमाडौं उपत्यकामा २४ जना आइसोलेसन, १३ आइसियुमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयका अनुसार हाल वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पताल लगायतका अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको छ।
चैत २९, २०७९ बुधबार १३:३९:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।