कोरोना भाइरसको संक्रमण फेरि बढ्न थाल्यो, खोप लगाउनुस् : स्वास्थ्य मन्त्रालय
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढिरहेकाले यसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ।
मन्त्रालयले दैनिक रुपमा संक्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले संक्रमण बढिरहेकाले पहिलो मात्रा, दोस्रो मात्रा र बुस्टर डोज लगाउन आग्रह गरेका हुन्।
शून्यमा झरेको कोरोना भाइरसको संक्रमण अहिले दैनिक बढिरहेको छ। हिजो (शनिबार) मात्र ६४ जना नयाँ संक्रमित फेला परेका थिए भने हाल कुल सक्रिय संक्रमितको संख्या ३५६ जना पुगेका छ।
काठमाडौं उपत्यकामा मात्र हिजोसम्ममा १५ जना आइसोलेसनमा छन् भने आठ जनाले आइसीयूमा र पाँच जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
अहिले काठमाडौंसहित उपत्यकाका ठूला अस्पतालमा कोरोना भाइरस विरुद्धको बुस्टर डोज लगाइँदै छ।
हाल वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, नेपाल प्रहरी अस्पतालबाट बुस्टर डोज खोप प्रदान गर्दै आइरहेको छ।
चैत २६, २०७९ आइतबार १३:१५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।