स्वास्थ्य मन्त्रालयमा जोडियो कृत्रिम फोक्सो, वायु प्रदूषणले एक वर्षमै ४२ हजारको मृत्यु

स्वास्थ्य मन्त्रालयमा जोडियो कृत्रिम फोक्सो, वायु प्रदूषणले एक वर्षमै ४२ हजारको मृत्यु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवेशद्वारमा शुक्रबार कृत्रिम फोक्सो जडान गरिएको छ।

विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले अमेरिकी सहयोग नियोग (युएसएआईडी)को स्वच्छ हावा परियोजनासँगको सहकार्यमा कृत्रिम फोक्सो जडान गरेको हो।

वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्नका लागि फोक्सो जडान गरिएको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिए।

धेरै देशहरूले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्याङ्कले विश्वका १३१ देशहरूमध्ये धेरै वायु प्रदुषण हुने देशहरूमा नेपाल १६औं स्थानमा छ।

सन् २०१९ मा वायु प्रदुषणका कारण नेपालमा ४२ हजार १०० जनाको मृत्यु भएको र त्यसमध्ये काठमाडौंमा मात्रै ५ हजार ८० जनाको मृत्यु भएको अनुमान गरिएको छ।

नेपाल फोक्सोको दीर्घकालीन रोग सीओपीडी बढी हुने देश हो। सीओपीडी हुने कारणमध्ये ६६ प्रतिशत वायु प्रदुषणको कारणबाट हुन्छ।

कृत्रिम फोक्सोमार्फत मन्त्रालयले वायु प्रदुषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आम सर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम वायु प्रदुषणको समयमा घरबाट बाहिर ननिस्कने लगायतका कदम अपनाउन प्रोत्साहित गर्ने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

वायु प्रदुषणको अवस्था हेर्न तथा यसले मानिसलाई कस्तो असर गरिरहेको छ भन्ने देखाउनका लागि यो फोक्सो जडान गरिएको अधिकारीले बताए। कृत्रिम फोक्सोसँगै काठमाडौंको स्वस्थ हावाको मापदण्डसमेत नियमित देखाइनेछ।

चैत २४, २०७९ शुक्रबार १८:५०:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।