‘वानएक्स बेट’को जालो डिजिटल वालेटदेखि दूरसञ्चारसम्म : नक्कली कम्पनीको नाममा कर्पोरेट खाता, ३४६ सिमकार्डबाट ९ करोड कारोबार

‘वानएक्स बेट’को जालो डिजिटल वालेटदेखि दूरसञ्चारसम्म : नक्कली कम्पनीको नाममा कर्पोरेट खाता,  ३४६ सिमकार्डबाट ९ करोड कारोबार

काठमाडौं : नेपालमा गैरकानूनी रहेको बेटिङ अर्थात् सट्टेबाजी गरिरहेको अवस्थामा चैत ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ जनालाई पक्राउ गर्यो।

सट्टेबाजीका लागि रकम संकलन गर्ने र गराउने कार्यमा संलग्न उनीहरूले अहिलेसम्म करोडौं रकमको सट्टेबाजी गरिसकेका रहेछन्। उनीहरू खेलहरूमा सट्टेबाजी अर्थात बेटिङ गर्ने वेबसाइट तथा एप्लिकेसन ‘वाएक्स बेट’का नेपालस्थित एजेन्टहरू भएको कार्यालयले पुष्टि गर्यो।

उनीहरूको साथबाट प्रहरीले विभिन्न सेवा प्रदायक कम्पनीका ३४६ वटा सिमकार्ड, १० वटा मोबाइल, ३ वटा चेकबुक, १४ वटा एटिएम कार्ड र एउटा ल्यापटप फेला पार्यो।

पक्राउ परेका सबै १९ देखि ३२ वर्ष उमेर समूहका हुन्। उनीहरूले हालसम्म जम्मा ९ करोड ८ लाख १३ हजार १०८ रुपैयाँ बराबरको रकम बेटिङमार्फत् कारोबार गरेको कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा १९ वर्षीय नयन राज भण्डारी, २८ वर्षीय वरुण कुमार सिंह, ३२ वर्षीय वासुदेव पाण्डे, २६ वर्षीया शिवानी तामाङ तथा २३ वर्षीय दिलिप सिंह कठायत र भुपाल राज न्यौपाने छन्।

मुलुकी अपराध सहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टेबाजी गर्न/गराउन नहुने कसुर अन्तर्गत उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

पक्राउ परेका दिलिप सिंह विगत १ वर्षदेखि सट्टाबाजी एजेन्टको रूपमा सक्रिय छन् भने भुपाल राज ९ महिना, नयनराज र वरुण कुमार ६ महिना र वासुदेव १ महिनादेखि सक्रिय रहेको प्रहरी अनुसन्धानमा देखिएको छ।

शिवानीले भने आफ्नै नाममा खाता खोली रोसन गुरुङ नाम गरेको व्यक्तिलाई खाता चलाउन दिई ८ महिनादेखि सक्रिय रहेको पाइएको छ।

सिम किन्दै वालेटमा खाता खोल्दै
रकम संकलन र भुक्तानी गरेको आधारमा कमिसन रकम निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा उनीहरूले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेटको खाता खोली कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ। जसका लागि एकदमै धेरै सिम कार्डको प्रयोग गरिएको कार्यालयका प्रमुख एसएसपी मनाेजकुमार केसी बताउँछन्।

दिलिप सिंहले बेटिङको लागि वालेट खोल्न ८३ , भूपालराजले १३८, नयनराजले १२३ र बरुण कुमारले २ वटा गरि जम्मा ३४६ सिमकार्ड प्रयोग गरिरहेका थिए। फेला पारेको भन्दा अझै बढि सिमकार्ड प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान छ।

सट्टेबाजीका लागि वालेटको अत्यधिक धेरै दुरुपयोग भएको स्वीकार गर्दै अपराध कार्यालय प्रमुख केसी भन्छन्, ‘एउटा सिमकार्ड हुने बित्तिकै वालेटमा पहुँच बढाउन सजिलो छ। त्यै भएर सिम किन्दै वालेट खोल्ने गरेको पाइएको छ।’ 

यस विषयमा दूरसञ्चार प्राधिकरणसँग पनि समन्वय गरेर अघि बढिरहेको उनले बताए।

‘के आधारमा एउटै व्यक्तिलाई यति धेरै सिमको प्रयोग गर्न दिइन्छ भनेर दूरसञ्चार प्राधिकरणसँग पनि कुरा गरेका छौं,’ उनले थपे, ‘आवश्यक परे एक व्यक्तिको नाममा एकभन्दा बढि सिमकार्ड वितरणमै पनि रोक लगाउँछौं।’

दिलिप सिंह, भूपालराज र नयनराजले भने आफ्नै नाममा रहेको ८ वटा र बहिनीको नामको २ वटा विभिन्न वालेटबाट रकम संकलन गर्ने गर्थे।

बैंक खाताको हाल पनि त्यस्तै!
त्यस्तै उनीहरूले ‘इन्फीवेब’ नामको नक्कली कम्पनी समेत खडा गरेर कम्पनीको नाममा पनि २ वटा कर्पोरेट खाता खोलेका रहेछन्।

जम्मा १२ वटा खाताबाट भएको बेटिङमा ९ वटा खाताबाट हालसम्म जम्मा ७ करोड ७७ लाख ८७ हजार ३२८ बराबरको बेटिङ भएको प्रहरीले फेला पारेकोमा बाँकी ३ वटा खाताको विवरण भने अझै प्राप्त हुने क्रममै छ।

त्यसैगरी बरुण कुमारले आफ्नो नाममा चारवटा र विभिन्न कम्पनीको नाममा खोलिएको अन्य ४ वटा गरि जम्मा ८ वटा बैंक खाता खोलेर बेटिङ गर्ने गरेको खुलेको छ।

त्यसमध्ये कारोबार विवरण प्राप्त भएको एउटा खातामा मात्र ८२ लाख ३२ हजार ७७० रुपैयाँ बराबरको कारोबार देखिएको छ। अन्य ७ वटा खाताको विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

शिवानीको नामबाट भने तीनवटा खातामार्फत वेटिङ कारोबार हुने गरेकोमा २ वटा खाताको विवरण प्राप्त भएको छ। जसमा ४७ लाख ९३ हजार १० रुपैयाँ बराबरको रकम कारोबार भएको देखिएको छ। बाँकी एउटा खाताको विवरण आउने क्रममा छ।

अहिलेसम्मको अनुसन्धानले १५ जना व्यक्तिको नाममा रहेको ३४ वटा बैंक खाताबाट १२ करोड २५ लाख ३५ हजार ९११ रुपैयाँ बराबरको रकम बेटिङ कारोबार भएको देखाउँछ। ती सबै बैंक खाताहरू पनि प्रहरीले अहिले रोक्का गरेको छ।

अनलाइन सट्टेबाजीका लागि मोबाइल वालेट मात्र नभएर बैंक खातासम्म प्रयोग हुने गरेको देखिन्छ। यसले गर्दा वालेट मात्र नभएर बैंकमा पनि एजेन्टहरूको सजिलै पहुँच पुगेको प्रष्टै हुन्छ।

चैत २३, २०७९ बिहीबार १७:०९:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।