'भ्यालेन्टाइन डे' मा देउवा निवासमा भावी सभापतिको खोजी, तर नेताले पाएनन् स्वीकृति

'भ्यालेन्टाइन डे' मा देउवा निवासमा भावी सभापतिको खोजी, तर नेताले पाएनन् स्वीकृति

काठमाडौं : १४ फ्रेब्रुअरीको दिन पारेर नेपाली कांग्रेस संस्थापक समूहका सदस्य मानिने नेताहरू पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठमा रहेको निवासमा पुगे। उनीहरू आफ्नो समूहबाट भावी सभापतिको लागि देउवाको 'राजनीतिक प्रेम' को खोजीमा देउवा निवास पुगेका थिए।

संस्थापनइतरदेखि संस्थापन समूह बन्दासम्म देउवाप्रति 'वफादार' उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजयकुमार गच्छदार लगायतका नेता थिए समूहमा। त्यसैमा मिसिएका थिए पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि। उनीहरूको मुख्य चाहना देखियो ‘भावी नेतृत्वका लागि देउवाको 'राजनीतिक आशीर्वाद'।

विगतमा प्रेमी-प्रेमिकाले एक-अर्कालाई वफादार रहने वचन दिए झैँ, यी नेताहरूले भ्यालेन्टाइन डे पारेर पार्टी सभापति देउवालाई ‘विगतदेखि नै साथ दिएको’ सम्झना गराउँदै अब आफ्नो समूहबाट कसलाई सभापतिको उम्मेदवार बनाउने भनेर जिज्ञासा राखे।

अहिलेकै विधान कायम रहेमा पार्टी सभापतिमा यो देउवाको अन्तिम कार्यकाल हो। अन्तिम कार्यकाल सकिन १० महिना मात्र बाँकी छ।

अर्को समूहबाट शेखर कोइराला अनि गगन थापाले भावी सभापतिको उम्मेदवारको रूपमा सक्रियता बढाए पनि देउवा समूहबाट कसैले भावी सभापतिमा दावेदारी पेस गरेका छैनन्। देउवा समूहबाट पूर्णबहादुर खड्का भावी सभापतिको उम्मेदवारको रूपमा हेरिए पनि न देउवाले मुख खोलेका छन् न त खड्का नै अगाडि सर्न सकेका छन्।

उल्टो शशाङ्क कोइरालाले आफू देउवाको समर्थनमा १५ औँ महाधिवेशनमा पार्टी सभापति बन्ने दाबी गरिरहेका छन्।

शुक्रवारको भेटघाटको मुख्य उद्देश्य त्यही संस्थापन समूहबाट १५औँ महाधिवेशनका लागि देउवाबाट कसले 'राजनीतिक उत्तराधिकार' पाउने भन्नेमै केन्द्रित भएको थियो।

करिब साढे दुई घण्टासम्म चल्यो छलफल। छलफलमा सहभागी नेताहरूको दाबी अनुसार भावी सभापतिको उम्मेदवार को हो भन्नेबारेमा छलफल त चल्यो तर छलफलमा सहभागी कसैले पनि म हुनुपर्छ भनेर दाबी पेस गर्न सकेनन्।

छलफलमा सहभागी भएका नेताहरुमध्ये सिटौला र निधिले पार्टी सभापति हुन प्रयास गरिसकेका छन्। अन्यले देउवासँग प्रतिस्पर्धा नगरे पनि आकाङ्क्षी भने हुन् नै।

तर पहिलो पटक प्रेम प्रस्ताव राख्न हिचकिचाए जस्तै देखिए छलफलमा सहभागी नेता, मनमा १५ औँ महाधिवेशनमा सभापतिमा देउवाको ‘हुन्छ’ भन्ने स्वीकृति खोजिरहेका थिए। तर बाहिर भन्न सकेनन्।

देउवा पनि के कम। प्रस्ताव आए पनि ‘मैले त त्यस्तो सोचेकै छैन’ भन्ने जवाफ झैँ उनले पनि मनको कुरा खोलेनन्।

छलफलमा सहभागी रहेका पार्टी प्रवक्ता प्रकाश शरण महतको दाबी अनुसार देउवाले ‘समय आएपछि म भनिहाल्छु’ भनेर टार्दिए।

यसरी २०२५ को भ्यालेन्टाइन डे मा देउवा निवासमा संस्थापन समूहबाट भावी सभापतिको खोजी तर भयो तर प्रयास सफल भएन।

फागुन २, २०८१ शुक्रबार २०:०१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।