स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा हुने

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा हुने

काठमाडौं : नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ।

चैत २८ र २९ गते हुने यस वर्षको सम्मेलनको नारा ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ रहेको छ। 

यस सम्मेलनमा नेपालका विभिन्न स्थानमा रहेको स्वास्थ्य अनुसन्धानकर्ताहरू, जनसंख्याविद्हरु, तथा नीति निर्माणकर्ताहरुको सहभागी हुने आयोजक राष्ट्रिय अनुसन्धान परिषदले जनाएको छ।

आयोजकका अनुसार विज्ञको कदर गर्दै तथ्यमा आधारित नीति निर्माण गर्न तथा दिन प्रतिदिन बढ्दै गएका जनस्वास्थ्यका मुद्दाहरुको अन्तरविषयात्मक अनुसन्धानद्वारा सम्बोधन गर्न उद्देश्य सम्मेलनको रहको छ।

सम्मेलनपछि धेरैभन्दा धेरै शीर्षकमा नीतिगत छलफल र निचोड निकाली मन्त्रालयमार्फत नेपाल सरकारलाई नीति निर्माण गर्न सहयोग पुर्याइने परिषदले जनाएको छ। 

सम्मेलनमा एक दर्जनभन्दा बढी आमन्त्रित विज्ञले प्रस्तुति दिने आयोजकले बताएको छ। पेस भएको कार्यपत्र मध्ये एक सय ५० वटा मात्र प्रस्तुतीकरण हुने परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए। 

जनस्वास्थ्यसँग सम्बन्धित २०१ वटा अनुसन्धानका एब्स्ट्रयाक्ट प्राप्त भएको परिषदले जनाएको छ। जसमध्ये १३७ वटा मौखिक प्रस्तुति र ६४ वटा पोष्टर प्रस्तुति रहेका छन्। सम्मेलनमा प्रस्तुत भएका उत्कृष्ट मौखिक प्रस्तुतीकरण र पोष्टर प्रस्तुतीकरण मध्येबाट एक एक जनालाई अवार्ड प्रदान गरिनेछ।

त्यसैगरी स्वास्थ्य अनुसन्धान पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (चिकित्सकलाई मात्र), उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार (परिषद् कर्मचारिलाई मात्र), स्वास्थ्य अनुसन्धान तथा कृति प्रकाशित गरी ६० वर्ष उमेर पुगिसकेको एक जना अनुसन्धानकर्तालाई लाइफ टाइम एचिभमेन्ट पुरस्कारबाट सम्मानित गरिने परिषदले जनाएको छ। 

शिखर सम्मेलनको उद्घाटन  प्रधानमन्त्री पुष्प कमल दाहालले गर्ने बताइएको छ।

चैत २२, २०७९ बुधबार १०:४२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।