रविप्रति गोकुलको कटाक्ष : कानुन छलेर चितवनवासीलाई दुख दिने गोहीको आँसु झार्दै हिँडे, चुनावी कमान्डर देवी

रविप्रति गोकुलको कटाक्ष : कानुन छलेर चितवनवासीलाई दुख दिने गोहीको आँसु झार्दै हिँडे, चुनावी कमान्डर देवी

चितवन : एमाले नेता तथा सांसद गोकुल बाँस्कोटाले जान्नेलाई छान्ने भनेर जनतालाई अर्ती दिनेलाई विदेशी नागरिकता लिएर त्यागेपछि पुन नेपाली नागरिकता लिनुपर्छ भन्ने समेत नजान्दा चितवनका मतदाताले छोटो अवधिमै दोहोर्याएर मतदान गर्नुपरेको बताएका छन्।

एमालेले चितवन २ मा मङ्गलबार चुनावी रणनीति बनाउन बसेको जिल्ला कमिटी बैठकमा उनले रविले जानीजानी कानुन तोडेकोले कानुन बनाउने ठाउँमा जाने हैसियत गुमेको बताए।

रवि विरुद्ध मुख्य निर्वाचन कार्यालयमा उजुरी परिसकेको छ भने सर्वोच्च अदालतमा राहदानी दुरुपयोग मुद्दा ब्यूँतने कि नब्यूँतने भन्ने रिट परेको छ।

बाँस्कोटाले कार्यक्रममा रवि अहिले मेरा कारण कसलाई दुःख भएको छ र ? भन्दै गोहीको आँसु झार्दै हिँडेको भन्दै उनले कानुन तोड्दा चितवनका जनताले उपचुनावमा जानुपर्ने दुःख पाएको बताए।

उनले भने'यो दुःख कसले दियो ? हामीले हो ?'

एमालेले चितवन-२ मा राम न्यौपानेलाई उम्मेदवार बनाएको छ। उनले एमालेले विगतमा सामाजिक , राजनीतिक र आर्थिक सुधारका लागि गरेको कार्यक्रम र भावी योजना मतदातामाझ स्पष्ट ढङ्गले लैजान अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।

देवी ज्ञवाली चुनावी कमान्डर

बैठकमा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार एवम् जिल्ला अध्यक्ष न्यौपानेले उच्च मनोबलका साथ चुनावी मैदानमा होमिएको बताएका थिए।

बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, पोलिटब्युरो सदस्य देवी ज्ञवाली, नेताहरू विजय सुवेदी, कृष्णभक्त पोखरेल, जानुका सिम्खडा, शिवकुमारी गोतामेलगायत सहभागी थिए।

सोही बैठकले पोलिटब्युरो सदस्य ज्ञवालीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी समेत गठन गरेको छ। 

२१ चैत, २०७९, १७:३७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।