उपनिर्वाचनको तीन क्षेत्रमध्ये बारा-२ मा धेरै उम्मेदवारी, तनहुँ-१ मा कम

उपनिर्वाचनको तीन क्षेत्रमध्ये बारा-२ मा धेरै उम्मेदवारी, तनहुँ-१ मा कम

काठमाडौँ : वैशाख १० को उपनिर्वाचनका लागि सबैभन्दा धेरै बारा-२ मा उम्मेदवारी परेको छ। बारामा दल र स्वतन्त्र गरी ३६ जनाको उम्मेदवारी परेको हो। चितवन- २ मा २४ र तनहुँ-१ मा ९ जनाको उम्मेदवारी परेको छ।

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि  तनहुँ १ रिक्त भएको थियो। रामसहाय प्रसाद यादव उपराष्ट्रपति चुनिएपछि खाली भएको बारा २ र नागरिकता प्रकरणमा रवि लामिछानेले पद गुमाएपछि प्रतिनिधिसभा सदस्यविहीन भएको चितवन २ मा उप निर्वाचन हुन लागेको हो।

बारामा एमालेबाट पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेललगायतको उम्मेदवारी परेको छ।

चितवन-२ मा दलका १२ र १२ जना स्वतन्त्र गरी २४ जनाको उम्मेदवारी परेको छ। एमालेबाट रामप्रसाद न्यौपाने, नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतको उम्मेदवारी परेको छ।

तनहुँ-१ मा दलका ९ जनाको उम्मेदवारी परेको छ। काँग्रेसबाट गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेसहितको उम्मेदवारी परेको छ।

निर्वाचन आयोगका अनुसार दुई दिन दाबी विरोधका लागि समय छुट्टाइएको छ भने अन्तिम नामावली प्रकाशन २३ गते गरिनेछ । उपनिर्वाचनमा नेकपा माओवादी र एकीकृत समाजवादीले भने गठबन्धनका उम्मेदवारहरूलाई नै समर्थन गरेका छन् ।

२० चैत, २०७९, २१:३०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।