फिल्मको आवरणमा ठगी : निर्माता बनाउँछु भन्दै फिल्म प्रसाद-२ को निर्माता थापाले ६२ लाख ठगे, प्रहरीले खोजेपछि फरार

फिल्मको आवरणमा ठगी : निर्माता बनाउँछु भन्दै  फिल्म प्रसाद-२ को  निर्माता थापाले ६२ लाख ठगे, प्रहरीले खोजेपछि फरार

काठमाडौँ : निर्माता बनाउँछु भन्दै ६२ लाख ५० हजार ठगी गरेको आरोपमा फिल्म प्रसाद २ का निर्माता सुवास थापा विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ परिसरका प्रहरी थापाको खोजीमा छन्। उता चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी उनै फरार थापाको पक्षमा लागेका छन्।

प्रसाद फिल्म बनाएका थापाले प्रसाद-२ बनाउने घोषणा गर्दै निर्माता बनाउँछु भन्दै ठगी गरेका थिए। उनले छोराको नामको कम्पनीको नाममा फिल्म दर्ता गरेर निर्माता बनाउँछु भन्दै आफ्नो नामको कम्पनीबाट सहमति गर्दै ठग्दै आएका थिए।

उनै थापाको चङ्गुलमा परे मेडिकल व्यवसायी केशव पाण्डे। पाण्डेलाई थापासम्म एक चलचित्र पत्रकारले पुर्याएका थिए। फिल्मको निर्माता बनाउने लिखित सहमति गरेपछि थापाले पाण्डेसँग ६२ लाख ५० हजार लिए।

यो प्रकरणबारे एक जानकारका अनुसार थापाले आफू र छोराको नाममा दुई कम्पनी खोलेका छन्। सहमति आफ्नो नामको कम्पनीबाट गर्ने तर फिल्म दर्ता लगायतका काम भने छोराको कम्पनीको नाममा गर्दै आएका थिए।

प्रारम्भमा बराबरको पार्टनरसिप भनेर सहमति गरे। पत्रकार सम्मेलन नि गरे। अनि छायाङ्कन गर्न कास्कीको ल्वाङगाउँ पुगेपछि थापाको ठगीको नियत खुल्यो। पाण्डेसहित कलाकार र प्राविधिक सुटिङ नगरी फर्किए।

काठमाडौँ आएपछि निर्माता थापा, निर्देशक सुदर्शन थापा लगायतकाहरु फिल्म सुटिङको वातावरण बनाउन जुटे। सुवासले फिल्म बनाउँछु भनेर लिएको पैसा खर्च गरिसकेको खुल्यो। पैसा फिर्ता दिन नसक्ने भएपछि निर्देशक सुदर्शनसहितको रोहबरमा पाण्डेलाई फिल्मको ९० प्रतिशत स्वामित्व दिने लिखित सहमति भयो।

'९० प्रतिशत मेरो स्वामित्व हुने गरी सहमति भयो। फिल्मको सबै लगानी मैले गर्ने र सुवास थापाले फिल्मको कानुनी अधिकार मलाई दिन राजी भए' पाण्डे भन्छन्' तर ठग्न यो सबै गरिएको रैछ। निर्माता, पत्रकार, निर्देशक सबै मिलेर मलाई ठगे। चलचित्र विकास बोर्ड पनि अन्यायमा परेको व्यक्तिलाई हैन ठगलाई नै जोगाउन लाग्यो।'

पाण्डेका अनुसार थापाले पैसा फिर्ता गरेर आफैँ फिल्म बनाउँछु भन्दै ३० लाख र ३२ लाख ५० हजारको चेक दिए। यो पनि उनलाई झुक्याउन गरिएको खुल्यो। यता चेक दिएपछि सुवासले नयाँ निर्माता खोजेर फिल्मको सुटिङ सुरु गरे। कास्कीको ल्वाङ गाउँमा विपिन कार्की, केकी अधिकारी लगायतका कलाकार लगेर सुटिङ सक्काए।

यता पाण्डेको चेक साटिएन। सुवासले पैसा पनि दिएनन्। अनि पाण्डेले जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन दिए। थापाले एक सातामा पैसा दिन्छु भन्दै यता फिल्म रिलिजको तयारी गरे। तर पैसा दिएनन्। अनि पाण्डेले जाहेरी दिए।

उच्च अदालत पाटनले थापा विरुद्धको बैङ्किङ कसुरमा पक्राउ पुर्जी जारी गर्यो। प्रहरीले खोज्न थालेपछि थापा मोबाइल अफ गरेर बसेका छन्।

'चेक अनादरको जाहेरीमा सुवास थापाविरुद्ध पक्राउ आदेश आइसकेको छ' काठमाडौँका एसएसपी दानबहादुर कार्कीले भने' हामीले खोजिरहेका छौँ।'

बोर्ड अध्यक्षदेखि वितरकसम्म फरारको पक्षमा

पाण्डे मात्रै हैन थापाको ठगीको चङ्गुलमा परेको। फिल्मका कलाकारदेखि प्राविधिकसँगै फिल्म सुटिङ गरेको ल्वाङ गाउँका स्थानीयलाई समेत उनले ठगे। अहिले थापाविरुद्ध विकास बोर्ड, प्राविधिक सङ्घदेखि निर्माता सङ्घसम्म उजुरीको चाङ छ।

तर बोर्डका अध्यक्ष भुवन केसी लगायतकाहरु थापाबाट ठगिएको पैसा फिर्ता गराउन भन्दा उनले ठगीले बनाएको फिल्म प्रसाद-२ रिलिज गर्ने तयारीमा छन्।

थापाको फिल्म वितरणको जिम्मा गोपाल कायस्थले लिएका छन्। निर्माता थापा पक्राउ पर्ने डरले लुकेर बसेका छन्। अहिले फिल्म रिलिज गराउन उनी नै सक्रिय देखिन्छन्।

फिल्म बनाउँछु भनेर ठगी गर्ने व्यक्ति विरुद्ध चलचित्र विकास बोर्डमा निवेदन दिन जाँदा निवेदनै दर्ता नभएको बताउँछन्। छोराको नामको कम्पनीको नाममा फिल्म दर्ता छ भन्दै बोर्डले उल्टो आफूलाई दुख दिएको उनले बताए।

'विकास बोर्डको व्यवहारले त उसको नीति फिल्म क्षेत्रको विकास हैन विनाश गर्ने पो देखियो' आक्रोशित हुँदै पाण्डे भन्छन्' फिल्मको नाममा ठग्दै हिँड्नेको संरक्षण गरेर फिल्म क्षेत्रको विकास हुन्छ?'

बोर्डका चलचित्र निर्माण अधिकृत हरिसिंह रैखोला प्रसाद २ बारे बोर्डमा आएका उजुरीहरू लिएर दुवै पक्षलाई राखेर छलफल गराउने काम भइरहेको बताए।

'फिल्मबारे पैसा नपाएको लगायतका निवेदनहरू आएका छन्। उजुरी लेनदेनको हेर्ने निकाय हामी हैनौँ। तै पनि दुवै पक्ष राखेर समन्वयको प्रयास गर्छौँ' उनले भने।

६२ लाख ५० हजार ठगी गरेको निवेदन किन नलिएको भन्ने जिज्ञासामा उनले आएका जति निवेदन लिएको तर निर्माताले कोसँग कहाँ-कहाँ सम्झौता गर्दै हिँड्छन् ती सबैबारे बोर्ड जानकार नहुने बताए।

'नतिर्ने नियत हैन नियति यस्तै भो'

फरार रहेका थापा सामाजिक सञ्जाल फेसबुकमा भने सक्रिय छन्। उनले सोमबार मात्र फेसबुकमा आफूले विभिन्न व्यक्तिलाई पैसा तिर्न बाँकी रहेको स्विकार्दै चलचित्र रिलिजपछि सबै रकम पहिला तिर्नु पर्नेलाई तिरेर मात्र आफ्नो भागको रकम लिने दाबी गरेका छन्।

उनले हलबाट आउने रकम सबै चलचित्रसँग सम्बन्धित कुनै संस्थामा रहने र सबैको हिसाब त्यहीबाट तिर्नु पर्नेलाई दिई बाँकी रहेको रकम आफूलाई बुझाउने गरी गरेमा आफ्नो मन्जुरी रहेको लेखेका छन्।

'यो चलचित्रमा धेरैको मेहनत छ। तसर्थ सबै मिलेर चलचित्र रिलिज हुने वातावरण बनाई सबैको रकम चलचित्र प्रदर्शनपछि प्राप्त हुने गरी गरिदिनुहुन सबै सरोकारवाला सङ्घसंस्था, व्यक्तिमा आग्रह गर्छु। नतिर्ने मेरो नियत होइन, नियतिले यो अवस्था आयो।’

२० चैत, २०७९, १६:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।