‘अंगदानको घोषणा गरेकै व्यक्तिको पनि परिवारले अंग निकाल्न दिँदैनन्’
काठमाडौं : मतिस्क मृत्युपछि अंगदानको घोषणा गरेकै व्यक्तिको अंग प्राप्त गर्न व्यावहारिक समस्या झेल्नुपरेको सरोकारवालाहरुले बताएका छन्।
आइतबार भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्वास्थ्य पत्रकार मञ्चको आयोजनामा भएको ‘मस्तिस्क मृत्युपछि अंगदानमा देखिएका कानूनी तथा व्यावहारिक जटिलता’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले घोषणा गरेकै व्यक्तिको अंग प्राप्ती गर्न झन्झट भएको अनुभव राखे।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जनचेतनाको अभावका मृत्युपछि अंगदान गर्ने घोषणा गरेका व्यक्तिको पनि अंग प्राप्त गर्न झन्झट बेहोर्नुपरेको बताए।
‘घोषणा गरेको व्यक्तिको अंग प्राप्त गर्न व्यावहारिक जटिलता उत्पन्न भएको पाएको छु,’ उनले भने, ‘प्रहरी, अस्पताल र अंग प्रत्यारोपण समन्वय एकाइबीच प्रभावकारी समन्वय हुनुपर्छ।’
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले मस्तिस्क मृत्युपछि अंग दान गर्ने विषय त्यति सहज नभइसकेको बताए। यद्यपि मन्त्रालयले यस विषयलाई प्राथमिकतामा राखेको भन्दै बजेटमा समस्या नहुने उनको भनाइ छ।
त्यसैगरी कानूनी चिकित्सा (फरेन्सिक मेडिसिन) विशेषज्ञ प्रा.डा. हरिहर वस्तीले मस्तिस्क मृत्युपछि अंग दानका लागि जनचेतना जनाउन आवश्यक रहेको बताए। मस्तिस्क मृत्युसम्बन्धी पहिचान गर्ने अस्पतालमा भएका फरेन्सिक मेडिसिन विज्ञसँग समेत समन्यव गर्न उनले सुझाव दिए।
पूर्व निमित्त स्वास्थ्य सचिव डा. तीर्थराज बुर्लाकोटीले पनि समन्वय समितिले गरेको समन्वय अझै कमी भएको बताए। सर्वसाधारणलाई बुझाएर उचित समन्वय गरेमा नेपालमा पनि धेरैले कम पैसामा अंग प्रत्यारोपण गर्न पाउने उनले उल्लेख गरे।
मस्तिस्क मृत्युसम्बन्धी कानून बनाउन भएको झन्झटबारे सम्झिँदै उनले भने, ‘धेरै मेहनत ग¥यौं। समन्वय गरेर अगाडि धेरै नै गाह्रो थियो।’
कार्यक्रममा बोल्दै न्यूरो सर्जन डा. वसन्त पन्तले जनचेतनाकै कारण अंग दान गर्नेको संख्या न्यून रहेको बताए। व्यक्तिको मृत्यु भए पनि शरीरका अन्य अंग चल्ने भएकाले मस्तिस्क मृत्यु भएका व्यक्तिको मृत्यु भइसकेको हो भन्ने विषय अधिकांश व्यक्तिलाई स्वीकार्नै कठिन हुने अनुभव उनले सुनाए।
‘मान्छेको मुटु चलिरहेको छ, छाम्दा तातो छ, अनि यो मान्छे मरेको भनेर कसरी भन्ने,’ उनले भने।
त्यतिमात्रै हैन। परिवारका सदस्यले पनि व्यक्तिको मृत्युपछि अंग निकाल्न नदिने समस्या त्यतिकै रहेको उनले सुनाए। व्यक्तिले मृत्युपछि अंग दान गर्ने घोषणा गरे पनि कयौं मृतक व्यक्तिको त अंगदानका लागि अंग नै काम नलाग्ने डा. पन्तले बताए।
त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्र मरासिनिले व्यक्तिको मृत्युपछि अंग दान गर्ने सवालमा धेरै छलफल हुन नै बाँकी रहेको बताए।
‘अस्पतालहरूमा पनि छलफलका लागि वर्कसप गरेर सबैलाई जानकारी गराउन बाँकी नै छ जस्तो लाग्छ मलाई,’ उनले भने, ‘ब्रेन डेथ भएका बिरामीलाई अंग हार्भेष्ट गर्नुपर्छ भन्ने नै धेरैलाई थाहा छैन।’
चैत २०, २०७९ सोमबार ०८:४३:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।