तनहुँ १ मा एमालेबाट पूर्व आइजिपी खनाल सहित आधा दर्जनको सिफारिस

तनहुँ १ मा एमालेबाट पूर्व आइजिपी खनाल सहित आधा दर्जनको सिफारिस

पोखरा :  तनहुँ १ मा आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनालसहित ६ जनाको नाम सिफारिस गरेको छ।

यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै रिक्त रहेको उक्त क्षेत्रमा हुने उपनिर्वाचनका लागि बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले आधा दर्जन आकाङ्क्षीको नाम सिफारिस गरेको हो।

चुनाव लड्न आकाङ्क्षा व्यक्त गरेका पूर्वआईजीपी सहित पुरामबहादुर गुरुङ, परितोष पौडेल, किरण धिताल, मोहन विक र सोझा गुरुङको नाम सिफारिस गरेको हो।

यसअघि एमालेबाट पुर्वमन्त्री किरण गुरुङको नाम आकाङ्क्षीका रूपमा चर्चामा आए पनि उनले निर्वाचन क्षेत्र परिवर्तन गरेर चुनाव नलड्ने बताएपछि एमालेले ६ जना आकाङ्क्षीको नाम सिफारिस गरेको हो।

नेपाली कांग्रेसले त्यस क्षेत्रबाट नेबिसंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

यस क्षेत्रबाट राप्रपा लगायतका दलहरूले भने कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न बाँकी छ। विगतको निर्वाचनमा पौडेलविरुद्ध उम्मेदवार बनेका काँग्रेस नेता गोविन्दराज जोशीले पनि फेरि उम्मेदवारी दिने चर्चा भए पनि उनले अहिलेसम्म चुनाव लड्नेबारे प्रखर हेरको अवस्थामा रहेका छन्।  

१६ चैत, २०७९, २०:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।