महानगरका साँघुरा गल्लीमा ‘फायर हाइड्रेन्ट’, तर छैनन् पानीका स्रोत

महानगरका साँघुरा गल्लीमा ‘फायर हाइड्रेन्ट’, तर छैनन् पानीका स्रोत

काठमाडौं : काठमाडौं महानगरपालिकाले ‘कोर एरिया’ लगायतका साँघुरो गल्ली र भिडभाड क्षेत्रलाई लक्षित गरेर छ वडामा सातवटा फायर हाइड्रेन्ट जडान गरेको छ।

गाडी जान नसक्ने भित्री गल्लीहरूमा भइपरी आउनसक्ने विपद्लाई ध्यानमा राख्दै महानगरले अहिले वडा नं १३, १५, १६, १७, २५ र २७ मा हाइड्रेन्ट जडान गरेको छ भने वडा नं ७ मा जडानका लागि टेन्डर प्रक्रियामा छ।

आगलागी भएको अवस्थामा गाडी जान नसक्ने साँघुरा गल्लीहरूमा फायर हाइड्रेन्टमा पाइप जोडेर आगलागी नियन्त्रण गर्ने गरिन्छ।

भित्री गल्लीमा जडान सम्पन्न भएका सम्पूर्ण फायर हाइड्रेन्ट तयारी अवस्थामा रहेको र अन्य वडामा पनि आवश्यकअनुसार पत्राचार गरिएको महानगरको विपद् व्यवस्थापन विभागका डिभिजन प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए।

‘स्थानीय जनप्रतिनिधिहरूलाई आवश्यक लाग्ने ठाउँमा हामीले फायर हाइड्रेन्ट राख्नुपर्ने स्थानहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेका छौँ’, उनले भने।

डिभिजन प्रमुख जोशीका अनुसार सबै वडाको विवरण आएपछि मात्र महानगरमा ठ्याक्कै यतिको संख्यामा हाइड्रेन्ट चाहिन्छ भनेर यकिन गर्न सकिन्छ।

अन्य वडामा एउटा र १७ नम्बर वडामा दुईवटा गरेर महानगरसँग अहिले सातवटा हाइड्रेन्ट तयारी अवस्थामा छ। हाइड्रेन्ट तयार गरे पनि पानीको स्रोतबारे भने महानगरको स्पष्ट योजना छैन। पानीको लागि भने महानगर संस्थानको भरमा छ।

फायर हाइड्रेन्टको लागि पानीको स्रोतको रूपमा बसन्तपुर र रामहिटीमा दुईवटा मात्र रिजर्भ ट्यांकी छन्। रामहिटीमा बनाएको डिपो नयाँ हो। त्यसबाहेक आवश्यकता अनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) चाबहिल र बालाजुको डिपोबाट लिने गरेको उनले बताए।

‘हाइड्रेन्टको लागि आफ्नै ट्यांकर र दमकलबाटै पानी लानुपर्छ। खानेपानी संस्थानले मैतीदेवीमा लाइन चाहिँ राखेको छ। तर, पानीको स्रोत चाहिँ जोडिएको छैन,’ जोशीले भने।

एउटा हाइड्रेन्ट ५०, ६०, १००, र १५० मिटरसम्मको फरकमा राखिएको छ।

‘वडाबाट माग भएअनुसार हामीले हाइड्रेन्ट राखेका छौं। अनि त्यसको पावर चाहिँ सबै पाइप नै हो। क्षेत्रअनुसार पाइप थप्ने गर्छौं,’ उनले भने।

हाइड्रेन्ट जडानका लागि क्षेत्रफल हेरेर बजेट खर्च हुन्छ। धेरै टाढासम्म पाइप लाने अवस्थामा धेरै खर्च लाग्ने जोशीले बताए। उनका अनुसार कम्तीमा एउटाको हाइड्रेन्ट जडानका लागि १५ लाख खर्च हुन्छ। कोर एरियामा हाइड्रेन्टको संख्या अझै थप हुनसक्ने जोशीको भनाइ छ।

महानगरले यसअघि हाइड्रेन्टको प्रयोग नगरेको र यसका लागि आफूहरू पनि नयाँ रहेको जोशीले बताए। उनका अुनसार कतै प्रयोग गर्नुपर्ने अवस्थामा आफूहरू तयारी अवस्थामा रहेको जानकारी दिए।

‘यो हाम्रो लागि पनि नयाँ हो। कोर एरियामा आगलागी भयो भने त दमकल दौडाएर पानीको लाइन दिएर निभाउने त थियो नि,’ उनि थप्छन्, ‘अहिलेसम्म धेरै प्रयोग गर्न परेको पनि छैन। सकेसम्म प्रयोग गर्नै नपरोस् भन्ने हो। गरिहाल्न पर्यो भने पनि हामी पूरा तयारीमा छौं।’

महानगरसँग अहिले आगलागी नियन्त्रणको लागि जम्मा ६ वटा दमकल सञ्चालनमा छन्। तीन वटा पहिलेदेखि थियो भने तीन वटा गत वर्ष मात्र खरिद गरिएको हो। जुन रामहिटी र बालाजुमा एउटा÷एउटा छन् भने बाँकी चारवटा बसन्तपुरमा छन्।

१६ चैत, २०७९, ०९:१४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।