आज रामनवमी, मधेश प्रदेशमा सार्वजनि बिदा

आज रामनवमी, मधेश प्रदेशमा सार्वजनि बिदा

काठमाडौं : चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन्।

भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ।  ​कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ। 

रामनवमीमारामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ। ​रामनवमीकाे अवसरमा उनको जन्मभूमि अयोध्या (भारत) र ससुराली जनकपुर (नेपाल) क्षेत्रमा उत्सव चल्छ।

आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ।

काठमाडौंमा बत्तीसपुतली र पाशुपतक्षेत्रस्थित राममन्दिरमा भक्तजनको घुइँचो लागेको छ। रामनवमीकै दिन वासन्ती नवरात्र पूरा हुन्छ।

रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

१६ चैत, २०७९, ०८:०६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।