माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
पूर्व मिस नेपाल माल्भिका सुब्बा चर्चित कार्यक्रम जीवन साथीकी प्रस्तोता समेत हुन्। उद्घोषणकला, वाककला लगायतका प्रशिक्षक समेत रहेकी उनी अहिले मानसिक स्वास्थ्यबारे वकालतमा समेत सक्रिय छिन्।
लामो समयसम्म आफै मानसिक स्वास्थ्यसँग जुधेको बताउने माल्भिका सिङ्गल मदर हुन्। एक सन्तानकी आमा उनले बच्चा पेटमा हुँदा नै वैवाहिक जीवनमा आएका समस्यासँग जुध्नुपर्यो।
कला देखाउने मिडिया फिल्डमा भएका आमाहरूले पारिवारिक जिम्मेवारी र करियरलाई कसरी अगाडि बढाइरहेको छ भन्ने विषयमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छलफल कार्यक्रम राखिएको थियो। त्यहाँ दिइएका उत्तर सहित माल्भिका सुब्बाले भोगेका प्रसव पिडा र खुसी यस्तो छः
OOO
म आमा भएकैले मात्र विशेष अनुभव गर्दिन। बच्चा जन्माएकै कारण म त्यस्तो महत्त्वपूर्ण व्यक्ति हो जस्तो पनि लाग्दैन। मसँग बच्चा पाउने इच्छा थियो, प्रिभिलेज थियो अनि आर्थिक रूपमा पनि सक्षम। त्यसैले म अभिभावक हुन पाँए। तर यतिकै कारण म आफूलाई स्पेसल अनुभव भने गर्दिन।
मेरो योजना ४० वर्षको उमेरमा बच्चा पाउने थियो। त्यसै भनेको पनि थिएँ। तर २०७२ सालमा भूकम्प आएपछि जीवनको भर छैन भन्ने महसुस गरायो। अनि ३५ वर्षको उमेरमा मैले बच्चा जन्माएँ। बच्चा पेटमा आइसकेपछिको ९ महिनाको यात्रा फरक भयो।
बच्चा पेटमा आउनुअघि म हरेक काम गर्न सक्षम थिएँ। जहाँ जान मन लाग्यो जान पाउँथे। जे गर्न मन लाग्यो त्यही गर्न पाउँथे।
मेरो स्वभाव अलि हतारिएर काम गर्ने थियो। ओर्कोहोलिक थिएँ, आफैंलाई समय दिँदैनथे।
प्रेग्नेन्ट भएपछि आफूलाई समय निकाल्नुपर्ने भयो। भुकम्पको समय भएकाले मानसिक रूपमा फेरि जमिन हल्लियो भने कसरी दौडिने जस्ता कुरा दिमागमा २४ सै घण्टा खेल्थ्यो।
बच्चा पेटमा आएपछि मलाई मेरो मानसिक स्वास्थ्यसँग जुध्नुपर्यो। एन्जाइटी बढ्न थाल्यो, धेरै कुराहरूको डर लाग्थ्यो। मुटु ढुकढुक ढुक भएर आउँथ्यो। अलि कमजोर जस्तो महसुस गर्थेँ, याज अ ह्युमन बिइङ।
त्यही समयमा मेरो व्यक्तिगत जीवनमा पनि उतारचढाव आयो। मेरो वैवाहिक जीवनमा समस्या आयो। जुन समयमा श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो हुनुपर्ने थियो, त्यही समयमा वैवाहिक जीवनमा आएको उतारचढावले मलाई झनै समस्या पार्यो।
गर्भवती भएको बेलामा निकै एक्लो अनुभव गरेको थिए। जहाँ म एक्लो थिएँ, त्यहाँ बच्चाको कारण ओभरवार्मिङ अनुभूति भएको थियो। विशेष गरेर राती सुत्ने समयमा मेरो श्रीमान् मसँग हुँदै हुनुहुँदैनथ्यो। त्यही समयमा पेटमा बच्चाले किक हान्थ्यो। बच्चाले किक गर्दा मलाई आनन्द महसुस हुन्थ्यो।
बच्चा पेटमा आएपछि समयअनुसार फरक अनुभव हुन्छ, हरेक व्यक्तिलाई। मेरो कस्तो भयो भने, पहिलो चरणमा धेरै सुतेको सुत्यै भएँ। दोस्रो चरणमा एकदमै रमाइलैसँग बित्यो। तेस्रो चरणमा छाती नै घाँटीमा आएको जस्तो हुन्थ्यो, खुट्टाहरू सुन्निन्थ्यो।
शरीर बढेर ८८ केजी पुगेको थिएँ। हिँड्न पनि गाह्रो हुन्थ्यो। हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो। कहिले बच्चा निस्कन्छ जस्तो फिल हुन्थ्यो। यो समय यहीँ रोकियो भने भन्ने खालको भाव पनि आउँथ्यो मनमा। अनि अत्यास लाग्थ्यो।
मलाई प्रेसेन्ट प्रिभिया थियो। त्यसैले म लेवरमा जान मिल्दैनथ्यो। त्यस्तो भएको खण्डमा बिल्डिङ नरोकिने सम्भावना थियो। त्यसैले मैले अप्रेसनै गर्नुपर्ने वाध्यता थियो।
बच्चा पेटमा आएदेखि नै वैवाहिक जीवनमा आएको उतारचढाव र करियरलाई लिएर एन्जाइटी भइरहेको थियो। बच्चा जन्मेपछि झनै धेरै मेन्टल हेल्थसँग जुध्नुपर्यो। पोष्टपार्टम डिपेसनसँग जुध्नुपर्यो।
छोरा जन्मिसकेपछि धेरै वटा मेन्टल ब्लकेजहरु हुने रहेछ। मैले पोष्टमर्टम डिप्रेसनसँगै मेमोरीलसको समस्या पनि केही समय भोग्नुपर्यो। विगतका कतिपय कुराहरू कसैले सम्झाउनुपर्ने हुँदो रहेछ।
म एउटा यस्तो प्रोफेसनमा छु, जसमा मैले स्क्रिप्ट कण्ठ पार्नुपर्छ, दिमाग तिखो राख्नुपर्छ। तर मेरो दिमाग पुरै डल हुन्थ्यो। आफ्नो कन्टेम्पोररी साथीहरू भन्दा हार्डवर्क गर्नुपर्थ्यो लाइन अनि स्क्रिप्ट सम्झन।
समयमा काममा पुग्न त्यस्तै समस्या हुन्थ्यो। बच्चा हेर्न, काम व्यवस्थापन गर्न, राम्री देखिएर अगाडि राम्रोसँग बोल्न समस्या आउन थाल्यो। बच्चा नभएको बेलामा भन्दा भएपछि दश गुणा बढी काम गर्नुपर्यो।
छोरा ६ महिनाको हुँदा डिप्रेसनका कारण आत्महत्याको प्रयास पनि गरेँ। त्यो बेला म एकदम नराम्रो र डार्क स्टेजमा पुगेको थिएँ।
रातको ११ बजे मलाई सुसाइडल फिलिङ्स आएपछि मेरो बेस्ट फ्रेण्ड निलु, जो अहिले यो संसारमा छैन, उसलाई फोन गरेँ। उसले मलाई झन्डै १ घण्टा फोनमा सम्झायो। उसले मलाई 'योर् सन नीड यु' भन्ने कुरा सम्झायो।
निलुको कुराले म सामान्य हुँदै आए। भोलिपल्ट उठेपछि जीवनको न्यारेटिभ चेन्ज गर्ने अठोट लिएँ र थेरापिष्टकोमा गएँ।
त्यस्तो ओर्कोहोलिक मान्छे म तर चार महिनासम्म घरबाट बाहिर पनि निस्किन। मेरो बच्चालाई २ सेकेन्ड पनि छाड्दैनथेँ। ओभरप्रोटेक्टिभ टाइगर मम भएकी थिएँ।
मेरो बच्चालाई कसैले २ मिनेट समात्यो भने पनि मलाई रिस उठ्थ्यो। थेरापीमा गएपछि बल्ल मेन्टल हेल्थ के हो, किन जान जरुरी छ भन्ने कुराहरू थाहा पाएँ।
थेरापीमा गएपछि फेरि उल्टो भयो। मलाई मेरो बच्चा हेर्नै मन लाग्दैनथ्यो। जतिखेरै काममा मात्रै रहन मन लाग्थ्यो। त्यसपछि फेरि बच्चा म सँग आउन नमान्ने, बाउसँग जाने हुन थाल्यो।
कसलाई सबैभन्दा धेरै माया गर्छौ भनेर सोध्दा, हजुरबा, हजुरआमा, बाबापछि बल्ल मेरो पालो आउँथ्यो। त्यो समयमा पनि धेरै चित्त दुख्यो।
केही महिना मैले छोराको इग्नोरेसन्स भोगेँ। म पहिला भन्दा राम्रो भएपछि छोरासँग समय बिताउन थाले। अहिले त म उसको फेवरेट भइसकेँ।
सिङ्गल प्यारेन्ट, सिङ्गल मम भएर पनि होला, मेरो छोरो दुई ओटा परिवारमा हुर्किरहेको छ। त्यो झनै चुनौतीपूर्ण रहेछ भन्ने लाग्छ। अहिले मेरो छोरो ७ वर्षको भयो, ग्रेड वानमा पढ्छ।
अहिले हाम्रो कुरा भनेकै बुल्ली, कम्युनिकेसन, नो मिन्स नो अर्थात् रिजेक्सन फ्रम गर्ल्स्, रिजेक्सन फ्रम पिपल लगायतका विषयमा हुन्छ।
उ २ वर्षको हुँदा रिसाउनै नआउने स्वभावको थियो। रिस उठ्यो भने मुठ्ठी कसेर दाँत किटेर काँप्थ्यो। छोराहरू नन कम्युनिकेटिभ, कुरा लुकाउने स्वभावका हुन्छन्, प्रायः हेर्दा।
मलाई मेरो छोरो पनि त्यस्तै होला भन्ने एकदम डर लाग्थ्यो। अहिले पनि डर लाग्छ। त्यही भएर अहिले मैले भन्ने नै 'यु ह्याव टु कम्युनिकेट है, जे मन लाग्छ भनिहाल्ने' भनेर सिकाउँछु।
एउटा पब्लिक फिगर भइसकेपछि उसको बच्चालाई आम आमाले भन्दा फरक तरिकाले हुर्काउनै पर्ने रहेछ। मलाई पनि उ सानो छँदा उसका साना साना मोमेन्टहरु खिचेर सामाजिक सञ्जालमा राख्न मन लाग्थ्यो। तर जब उ ४ वर्षको पुग्यो, फोटो खिच्न खोज्दा नो आइ डन्ट वान्ट भन्न थाल्यो। त्यो बेलादेखि मैले उसको फोटो भिडियो सामाजिक सञ्जालमा राख्न छाडेँ।
एउटा पूर्ण परिवारको लागि बच्चा आवश्यकता छ भन्ने हुँदैन। मलाई समाजले बनाइदिएको एउटा बाउ, एउटा आमा र दुइटा छोराछोरी पूर्ण परिवार भन्नेमा समेत विश्वास लाग्दैन।
मैले जीवन साथी भन्ने कार्यक्रममा एउटा लेस्वियन जोडी ल्याएको थिएँ। उहाँहरूले एउटा बच्चा एडप्ट पनि गर्नुभएको रहेछ तर त्यसमा सरकारले बनाएको नीति नियमका कारण समस्या छ। उहाँहरू पनि पूर्ण परिवार हो। मातृत्व भनेको बच्चा जन्माउनु मात्रै हो जस्तो लाग्दैन। मातृत्व भनेको एउटा अनुभूति हो जुन एउटा बाउले पनि दिन सक्छ। मातृत्व अनुभव गर्न बच्चा जन्माउनैपर्छ भन्ने छैन।
यो पनि
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
चैत १२, २०७९ आइतबार १७:४५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।