अमेरिकाको मिसिसिपीमा आँधी, कम्तीमा २३ जनाको मृत्यु

अमेरिकाको मिसिसिपीमा आँधी, कम्तीमा २३ जनाको मृत्यु

एजेन्सी : अमेरिकाको मिसिसिपीमा शुक्रबार राति आएको आँधीबेहरी र भीषण हावाहुरीका कारण कम्तीमा २३ जनाको मृत्यु भएको छ।

मिसिसिपी इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (एमईएमए)का अनुसार राज्यको राजधानी ज्याक्सनबाट करिब ११० किलोमिटर उत्तरमा रहेको शार्की र हम्फ्रेज काउन्टीमा आँधीबेहरी र हावाहुरी आएको हो। अहिले त्यहाँ उद्धारकार्य जारी छ।

‘मिसिसिपी डेल्टाका धेरैलाई आज राति तपाईंको प्रार्थना र ईश्वरको सुरक्षाको खाँचो छ,’ स्थितिको भयानक तस्बीर चित्रण गर्दै गभर्नर टेट रिभ्सले ट्वीटरमा लेखेका छन्।

उनले लेखेका छन्, ‘हामीले प्रभावितका लागि थप एम्बुलेन्स र अन्य आपतकालीन सम्पत्ति उपलब्ध गराउने गरी मेडिकल सहयोग जारी गरेका छौँ। खोजी र उद्धार कार्य जारी छ।’

मौसमको रिपोर्ट हेर्न र सतर्क रहन स्थानीयबासीलाई उनले आग्रह गरे।

शुक्रबार राज्यभरका विभिन्न काउन्टीमा चक्रवातको चेतावनी जारी गरिएको थियो। तर, स्थानीय समयअनुसार शनिबार बिहान २ः४८ बजे ज्याक्सनका लागि ‘चक्रवातको अवधि समाप्त भएको’ राष्ट्रिय मौसम सेवाले बताएको छ।

११ चैत, २०७९, २१:०५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।