गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरियो, दुई मन्त्रीले दिए राजीनामा

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरियो, दुई मन्त्रीले दिए राजीनामा

पोखरा : माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले राजीनामा दिएका छन्।

शुक्रबार अपरान्ह प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी समक्ष माओवादीका तर्फबाट पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जालीले राजीनामा बुझाएका हुन्।

माओवादीको संसदीय दलको शुक्रबार दिउँसो बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार छाड्ने र उनलाई दिएको समर्थन लिने निर्णण गरेको थियो।

केन्द्रमा सत्ता समीकरण फेरिएरसँगै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार छाड्न निर्देशन दिएका थिए।

६० सदस्यीय प्रदेशसभा सदस्य रहेका गण्डकीमा सरकार बनाउन ३१ सीट चाहिन्छ। कांग्रेसका २७ र माओवादी केन्द्रका ८ सीटसहित नयाँ सरकार बनाउन ३५ सीट पुग्छ।

एकीकृत समाजवादी समेत नयाँ सत्ता समीकरणमा भएकोले मनाङबाट स्वतन्त्रबाट निर्वाचित भएरपछि समाजवादीमा प्रबेश गरेका राजिब गुरुङ (दीपक मनाङे) को पनि समर्थन हुने भएकाले नयाँ सरकारका पक्षमा ३६ सीट पुग्छ।

यसअघि खगराज एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए। अहिले खगराज नेतृत्वको सरकारमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ गरि ७ मन्त्री छन्।

१० चैत, २०७९, १८:०५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।