गण्डकी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय, आजै मन्त्रीहरूले राजीनामा दिने

गण्डकी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय, आजै मन्त्रीहरूले राजीनामा दिने

पोखरा : गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्र फिर्ता हुने भएको छ।

शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकले मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार छाड्ने र उनलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरि चुमानले उकेरालाई जानकारी दिए।

‘हाम्रो संसदीय दलको बैठकले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ,’ उनले भने,  ‘पार्टीका तर्फबाट सरकारमा सहभागी दुई मन्त्रीको समेत आजै राजीनामा आउँछ।’

गत पुस १० मा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीमा दिएको समर्थन फिर्ता लिन माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएपछि समर्थन फिर्ता लिइएको हो।

केन्द्रमा सत्ता समीकरण फेरिएर राष्ट्रपतिमा माओवादीको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएपछि गण्डकीको मुख्यमन्त्री माओवादीले पाउनुपर्ने भन्दै संसदीय दलका नेता हरिबहादुर चुमानले दावी गर्दै आएका छन्।

माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार अल्पमतमा परेको छ। अब, कानुनत अधिकारीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ।

अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए।

६० सदस्यीय प्रदेशसभा सदस्य रहेका गण्डकीमा सरकार बनाउन ३१ सीट चाहिन्छ। कांग्रेसका २७ र माओवादी केन्द्रका ८ सीटसहित नयाँ सरकार बनाउन ३५ सीट पुग्छ।

एकीकृत समाजवादी समेत नयाँ सत्ता समीकरणमा भएकोले मनाङबाट स्वतन्त्रबाट निर्वाचित भएरपछि समाजवादीमा प्रबेश गरेका राजिब गुरुङ (दीपक मनाङे) को पनि समर्थन हुने भएकाले नयाँ सरकारका पक्षमा ३६ सीट पुग्छ।

यसअघि खगराज एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए। अहिले खगराज नेतृत्वको सरकारमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ गरि ७ मन्त्री छन्।

१० चैत, २०७९, १६:००:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।