गण्डकीमा खगराज नेतृत्वको सरकार जोखिममा, आज समर्थन फिर्ता लिंदै माओवादी

गण्डकीमा खगराज नेतृत्वको सरकार जोखिममा, आज समर्थन फिर्ता लिंदै माओवादी

पोखरा : गण्डकी प्रदेशमा माओवादी केन्द्रले एमालेका खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने भएको छ।

पछिल्लो समय केन्द्रमा सत्ता समीकरण बदलिएसँगै माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार गण्डकीमा माओवादीले समर्थन फिर्ता लिन लागेको हो। 

गत पुस १० मा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीमा माओवादीले समर्थन गरेको थियो।

प्रचण्डले अधिकारी सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठन प्रक्रिया थाल्न निर्देशन दिएसँगै माओवादीका संसदीय दलका नेता तथा भौतिक योजनामन्त्री हरिबहादुर चुमानले शुक्रबारका लागि संसदीय दलको बैठक बोलाएका छन्।

केन्द्रमा एमालेसँगको सत्ता गठबन्धन तोडिएर राष्ट्रपतिमा माओवादीको समर्थनमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएपछि गण्डकीको मुख्यमन्त्री भने माओवादीले पाउनुपर्ने चुमानले दावी गर्दै आएका छन्। 

उनले शीर्ष नेताहरूलाई भेटेर गण्डकीको नेतृत्व माओवादीले पाउनुपर्ने माग समेत राखिसकेका छन्।

यसअघि गण्डकीमा दुई पटक एमाले र एक पटक कांग्रेसलाई माओवादीले मुख्यमन्त्रीमा समर्थन दिएकाले यो पटक मुख्यमन्त्री माओवादीले पाउनुपर्ने चुमानले दावी गर्दै आएका छन्। 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीले गण्डकीमा एमालेका खगराज नेतृत्वको सरकारबाट बाहिरिन निर्देशन दिएकाले संसदीय दलको बैठकमा छलफल गरेर सरकारबाट बाहिरिने चुमानले बताए।

प्रदेशको मुख्यमन्त्री माओवादीले दावी गरिरहेको बेला आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि तारतम्य मिलाउन कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे भने केही समयदेखि काठमाण्डौंमा डेरा जमाएर बसेका छन्। 

उनले राष्ट्रपति र उपराष्ट्रपति चुनाव सकिएसँगै लगत्तै गण्डकीमा आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेतालाई दबाब दिंदै आएका छन्।

मंगलबार प्रधानमन्त्री प्रचण्डले गोरखामा मोटर बाटो उद्घाटनका क्रममा प्रदेश सरकार फेरबदल हुने बताउँदै अब नयाँ गठबन्धन दलबीच प्रदेशका सरकार संचालनमा आलोपालो हुने संकेत गरेका थिए। 

माओवादीले संसदीय दलको बैठकपछि मन्त्रीको राजिनामासँगै समर्थन फिर्ता लिने तयारी गरेकाले गण्डकीमा खगराज नेतृत्व सरकार फेरिनेछ। 

६० सदस्यीय प्रदेशसभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन ३१ सीट चाहिन्छ। कांग्रेसका २७ र माओवादी केन्द्रका ८ सीटसहित नयाँ सरकार बनाउन ३५ सीट पुग्छ।

एकीकृत समाजवादी समेत नयाँ सत्ता समीकरणमा भएकोले मनाङबाट स्वतन्त्रबाट निर्वाचित भएर पछि समाजवादीमा प्रदेश गरेका राजीव गुरुङ (दीपक मनाङे) को पनि समर्थन नयाँ सरकारलाई हुनेछ। जसले गर्दा ३६ सीट पुग्ने देखिन्छ।

यसअघि खगराज भने एमालेका २२, माओवादीका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए।

अहिले खगराज नेतृत्वको सरकारमा एमालेका चार, माओवादीका दुई र राप्रपाका एक गरी सात मन्त्री रहेका छन्।

१० चैत, २०७९, १०:४७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।