कर्णालीबाट पदक जित्न सफल खेलाडीलाई प्रदेश सरकारले गर्‍यो पुरस्कृत

कर्णालीबाट पदक जित्न सफल खेलाडीलाई प्रदेश सरकारले गर्‍यो पुरस्कृत

सुर्खेत : कर्णाली प्रदेशबाट विभिन्न खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीहरूलाई प्रदेश सरकारले पुरस्कृत गरेको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न विधाका खेलमा पदक दिलाउने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेको हो। 

जसअनुसार सन् २०२१ मा भारतको सिक्किममा आयोजित स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा स्वर्ण पदक विजेता सुर्खेतकी खगिसरा घर्तीलाई नगद दुई लाखसहित सम्मान गरिएको छ।

यस्तै गत भदौ २१ देखि असोज ३ गतेसम्म काठमाडौंमा सम्पन्न साफ महिला फुटबल प्रतियोगितामा रजत पदक विजेता हुम्लाकी दीपा शाहीलाई ५० हजार प्रदान गरिएको छ।

गण्डकीमा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता सुर्खेतका दीपक हमाल र एथलेटिक्समा स्वर्ण विजेता जुम्लाका दुर्गबहादुर बुढालाई दुई–दुई लाख नगदसहित सम्मान गरिएको हो।

त्यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत जित्ने चार जनालाई जनही एक लाख ५० हजार र कास्य पदक जित्ने ११ जना खेलाडीलाई नगद एक/एक लाख, काठमाडौंमा सम्पन्न १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कर्णालीलाई स्वर्ण दिलाउने सुर्खेतका सुरेश चौधरी र अजय विक तथा कालीकोटका भावना फर्साललाई २०/२० हजार नगदसहित सम्मान गरिएको छ।

सोही प्रतियोगितामा रजत पदक विजेता सात जना खेलाडीलाई १५ हजार र कास्य पदक विजेता १६ जनालाई १० हजारका दरले पुरस्कार वितरण गरिएको हो।

कर्णालीलाई पदक दिलाउने खेलाडीको सम्मान र उनीहरूमा थप उत्प्रेरणा बढाउन नगद पुरस्कार उपलब्ध गराइएको कर्णाली प्रदेश खेलकुद विकास परिषदले जनाएको छ। 

१० चैत, २०७९, ०९:३१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।