पोखराको वन विज्ञान अध्ययन संस्थानमा स्ववियु निर्वाचन आइतबार

पोखराको वन विज्ञान अध्ययन संस्थानमा स्ववियु निर्वाचन आइतबार

पोखरा : अदालतको आदेशमा स्थगित भएको पोखरा वन विज्ञान अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आइतबार हुने भएको छ।

विद्यार्थी सङ्गठनहरूले मतदाता झुक्किने गरी डमी सङ्गठन दर्ता गराएको विषयमा विवाद अदालतसम्म पुगेपछि पोखराका वन विज्ञानसहित ६ वटा क्याम्पसको स्ववियु निर्वाचन रोकिएको थियो। 

वन विज्ञान क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबिच विद्यार्थी भर्ना सम्बन्धी विषयले उग्र रूपमा लिएपछि  तालाबन्दी भएको थियो। त्यसले चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचनको प्रक्रिया रोकिएको थियो।

फागुन २५ गते विद्यार्थीको नामावली सार्वजनिक नभएको विरोधमा नेविसंघ र अखिल क्रान्तिकारीले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थिए। मनोनयन दर्ताको प्रक्रिया सुरु नहुँदै तालाबन्दी भएपछि तोकिएको मितिमा स्ववियु निर्वाचन हुन सकेको थिएन।

पोखराका पृथ्वीनारायण (पिएन) क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र विन्ध्यवासिनी संस्कृत विद्यापीठमा समेत विद्यार्थी सङ्गठनबीच विवाद बढेर अदालतमा मुद्दासहित क्याम्पसमा तालाबन्दी गरिएकाले निर्वाचन स्थगित भएको थियो।

बन क्याम्पसमा बुधबार विद्यार्थी सङ्गठनबीच निर्वाचन प्रक्रिया सुरु गर्ने सहमति भएसँगै कार्य तालिका सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आङ्गिक र सामुदायिक गरेर कास्कीका ६ क्याम्पसमा स्ववियु निर्वाचन गर्ने तयारी थियो।

तर, कतै आन्तरिक विवाद र कतै अदालतले रोक लगाइदिएका कारण अन्य क्याम्पसको निर्वाचन भने अनिश्चित नै छ।

९ चैत, २०७९, २१:४५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।