राष्ट्रपति रामचन्द्र कुमारी घर जाँदा अपनाएको कारकेड नयाँ हैन, राजकीय अनि राष्ट्रिय कारकेड नसुधारिए सास्ती उस्तै

राष्ट्रपति रामचन्द्र कुमारी घर जाँदा अपनाएको कारकेड नयाँ हैन, राजकीय अनि राष्ट्रिय कारकेड नसुधारिए सास्ती उस्तै

काठमाडौँ : सवारीको शैली बदलेर नागरिक मैत्री बनेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको मिडियादेखि सामाजिक सञ्जालसम्म प्रशंसा जारी छ। प्रशंसाको कारण हो शनिबार वसन्तपुरमा रहेको कुमारी घर जाँदा अपनाइएको सहज सवारी पद्धति।

सवारी आवागमन नरोकी थोरै सङ्ख्यामा सवारीसाधन लिएर पौडेल कुमारी घर पुगेर कुमारीको दर्शन गरे। अनि उस्तै शैलीमा राष्ट्रपति निवास फर्किए।

राष्ट्रपति पौडेलको सवारीमा अगाडि राष्ट्रपतिको सवारी सुरु भएकोबारे सुरक्षाकर्मीलाई अलर्ट गराउन ट्राफिक प्रहरीको भ्यान साइरन बजाउँदै गुडेको थियो। त्यसको अलि टाढै विशेष सुरक्षा बलको अगुवा अनि पछुवाको बीचमा राष्ट्रपति पौडेल उनको श्रीमती चढेको गाडी थियो।

सवारी अगाडि राष्ट्रपतिले प्रयोग गर्ने लेनमा सकेसम्म सवारीको भिड हुन नदिएको तर पूर्ण रूपमा नियन्त्रण नगरिएको उपत्यका ट्राफिक महाशाखाका एक अधिकृतले उकेरालाई बताए।

'निजी अनि अनौपचारिक भ्रमणमा लेन खाली गर्नैपर्छ भन्ने हुन्न। त्यो भिभिआइपीको सुरक्षा समन्वय गर्नेमा भर पर्छ,' ती अधिकृतले भने' शनिबार राष्ट्रपति वसन्तपुर जानेबारे सूचना आएपछि आवश्यक सडक प्रबन्ध गरेका थियौँ। लेन खाली गर्न निर्देशन थिएन। गरेनौँ।'

उपत्यका प्रहरी कार्यालयका अर्का अधिकृतका अनुसार वसन्तपुर कुमारी घर अगाडि भिडभाड हुन नदिन सुरक्षाकर्मीको सङ्ख्या सामान्य रूपमा बढाइएको थियो। राष्ट्रपति कार्यालयबाट निजी भ्रमण भनिएकाले थप सुरक्षा प्रबन्ध नगरिएको ती अधिकारीले भने।

राष्ट्रपति चढेको गाडी भिड छिचोल्दै सडकमा गुडेको दृश्य दुर्लभ समान बनेकाले यसलाई कारकेडहिन सवारी अनि राष्ट्रपतिको सुरक्षा प्रबन्धका लागी अपनाउने सुरक्षा पद्धति नै ब्रेक गरेर भनेर प्रशंसा भयो।

राष्ट्रपति रामचन्द्र पौडेलको शनिबारको निजी कारकेड।

शनिबारको सवारी कारकेडहिन अनि सवारी नियमै ब्रेक भएको हो त? यसबारे उकेराले विशिष्ट व्यक्तिको सुरक्षा पद्धति र भिभिआइपी सुरक्षा निर्देशिकाबारे जानकार केही बहालवाला र केही पूर्व सुरक्षा अधिकारीहरूसँग कुरा गरेको थियो। विशिष्ट व्यक्तिको सुरक्षा पद्धति गृहको वर्गीकरणमा अति गोप्य सूचीमा सूचीकृत भएकाले बहालवाला अनि अवकाश पाएका जानकारहरूले पनि आफ्नो नाम उल्लेख गर्न चाहेनन्। तर आवश्यक जानकारी भने साझा गरे।

शनिबारको सवारी कारकेडहिन हो त ?

अधिकांशले शनिबार राष्ट्रपति पौडेलले कारकेडविना नै हिँडेको टिप्पणी गरे। नागरिक दैनिकमा राष्ट्रपति पौडेलका सञ्चार सहयोगी खिला कार्कीलाई उद्धृत गर्दै 'राष्ट्रपति पौडेलले कारकेडविना हिँड्न चाहेको' उल्लेख गरिएको छ।

अगाडि ट्राफिक प्रहरीको वार्निङ सवारी, त्यसपछि सेनाको विशेष सुरक्षा बलको अगुवा कार, त्यसको बीचमा राष्ट्रपतिको कार अनि पछाडि पुन सेनाको विशेष सुरक्षा बलको पछुवा कारको सवारी शैली पनि कारकेड नै हो।

'कारकेड भन्दा धेरैलाई सवारीसाधनको लावालस्करसहितको राष्ट्रपतिको सवारी भन्ने लाग्ने रहेछ। तर शनिबार अपनाइएको सवारी शैली पनि कारकेड नै हो,' कारकेड सुरक्षा पद्धतिबारे जानकारस्रोतले भन्यो' शनिबार अपनाइएको कारकेड अनौपचारिक र निजी सवारीको कारकेड हो।'

सुरक्षा निर्देशिकामा राष्ट्रपतिको सवारीलाई राजकीय, राष्ट्रिय, औपचारिक, अनौपचारिक अनि निजी गरेर विभाजित गरिएको छ।

तत्कालीन राष्ट्रपति भण्डारीको घोडसवारसहितको राजकीय कारकेड।

निर्देशिकामा राष्ट्रपतिको निजी भ्रमणमा जम्मा तीन वटा गाडीको प्रयोग हुने उल्लेख छ। जस अनुसार विशेष सुरक्षा बलको अगुवा, राष्ट्रपति सवारी गाडी बीचमा अनि बलकै पछुवा। शनिबार ट्राफिकको वार्निङ जिप समेत प्रयोग भएको थियो।

अनौपचारिक कारकेडमा ट्राफिक प्रहरीको वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा गाडी, विशेष सुरक्षा बलको अगुवा, राष्ट्रपति सवार गाडी, विशेष सुरक्षा बलको पछुवा, जगेडा कार, एम्बुलेन्स अनि प्रहरीको पछुवा मोटरसाइकल हुन्छ।

शनिबारको सवारीमा यो शैली अपनाइएको थिएन। त्यसैले शनिबार राष्ट्रपतिको सचिवालय र सुरक्षा समितिको निर्णयमा कुमारी घर जान राष्ट्रपतिलाई निजी सवारीको कारकेड शैली अपनाइएको देखियो।

सडक रोक्नै पर्ने हो त?

सुरक्षा निर्देशिका अनुसार राष्ट्रपतिको हरेक सवारीमा सडक मार्ग अवरुद्ध पारिँदैन। राजकीय अनि राष्ट्रिय समारोहको सवारी बाहेकको अवस्थामा सडक मार्न रोक्ने नगरिएको जानकार सुरक्षा अधिकारीले जानकारी दिए।

'निर्देशिकामा अनौपचारिक अनि निजी सवारीको समयमा सडकको अवस्था हेरेर एकतर्फी सडक मार्ग खाली गर्ने या नगर्ने निर्णय हुने गरेको छ,' ती अधिकारीले भने' सडकमा जामको अवस्था भए एक लेन खाली पनि गराइन्छ। सामान्य अवस्था छ भने खाली गराइन्न। तर जोडिने सहायक सडकका सवारीलाई भने हल्का डाइभर्ट गरिन्छ।'

शनिबार गरिएको पनि यही हो। शनिबार सितलनिवासदेखि कुमारीघरसम्मको सडकको अवस्था सामान्य रहेको जानकारीपछि निजी कारकेडको शैलीमा सडक अवरोध नगरी सामान्य रूपमा राष्ट्रपतिलाई कुमारी घर पुर्याएर फर्काइएको देखियो।

शनिबारको सवारी शैलीबाट प्रभावित भएर अधिकांशले अब सधैं यस्तै शैली अपनाउन राष्ट्रपति कार्यालयलाई सुझाव दिएका छन्। निजी र अनौपचारिक सवारीमा राष्ट्रपतिले 'तामझाम देखाउने' लोभ नगरे शनिबारकै शैलीमा सवारी चलाउन सम्भव छ।

तर राजकीय र राष्ट्रिय समारोहमा निर्देशिका संशोधन नगरी राष्ट्रपति वा राष्ट्रपतिको सचिवालयले मात्र चाहेर सहज रूपमा सवारी चलाउन सम्भव छैन।

सुरक्षाका चार प्रकार, चारै घेराको पद्धति

विशिष्ट व्यक्तिको नियमित वा आकस्मिक सुरक्षाका लागि केन्द्रमा गृह सचिवको अध्यक्षतामा, रक्षा सचिव तीन सुरक्षा निकायका प्रमुख, सेनाको युद्धकार्य महानिर्देशनालयले प्रमुख र गृहको सहसचिव सदस्य सचिव रहेको केन्द्रीय निर्देशन समिति रहेको छ। कसको सवारी कसरी चलाउने वा कसलाई कस्तो सुरक्षा दिने भन्ने निर्णय यही समितिले गर्छ।

केन्द्र अनुसारै प्रदेश अनि जिल्लामा समेत सुरक्षा समिति बनेका हुन्छन्। सो समितिले पदीय हैसियत अनि व्यक्तिको सुरक्षा चुनौतीको मूल्याङ्कनको आधारमा  अति उच्च, उच्च, मध्यम स्तर अनि सामान्य चुनौतीमा सूचीकृत गरेर सोही अनुसार क,ख, ग अनि घ श्रेणीको सुरक्षा प्रबन्ध गर्ने गरेको छ।

सुरक्षामा परिचालित हुँदा भौतिक, कार्य र निगरानीलाई महत्व दिने जानकार एक अधिकृतले बताए।

राष्ट्रपतिको राष्ट्रिय कारकेड। तस्बिर : अनलाइनखवर।

निर्देशिकामा राष्ट्रपतिदेखि मन्त्रीसम्मको सुरक्षाको पद्धति उल्लेख गरिएको छ। त्यसमा सुरक्षाका प्रकार अनि त्यही अनुसारको वर्ग समेत उल्लेख गरिएको छ।

पहिलो राजकीय। निर्देशिकाहरु संसदमा बजेट पेस गर्ने, संसदको पहिलो बैठक, विदेशी सरकार प्रमुख/ राष्ट्र प्रमुखको निमन्त्रणामा हुने विदेश भ्रमण अन

नेपाल सरकारले तोकेको अन्य भ्रमणलाई राजकीय सवारीमा राखेको छ।

राजकीय भ्रमण बग्गीसहित अनि बग्गीरहित छ। बग्गी रहितमा सडक मार्ग पुरै खाली गर्नैपर्छ।

अनि प्रहरी वार्निङ मोटरसाइकल, प्रहरी अगुवा, विशेष सुरक्षा बलको अगुवासँगै राष्ट्रपतिको गाडी ११ वटा मोटरसाइकलले घेरिएको हुन्छ।

त्यसपछि विशेष सुरक्षा बलको पछुवा, जगेडा कार, प्रहरीको एआइजीको कार, एम्बुलेन्स, प्रहरी पछुवा अनि प्रहरी मोटरसाइकल पछुवा हुन्छ।

यस्तो सवारीमा निश्चित गतिसहित सवारी चलाउनु अनिवार्य रहेकाले भिडभाडकाविचमा सवारी चलाउन सम्भव नभएको सुरक्षा अधिकारीहरूको मत छ।

बग्गी कारकेड त यो भन्दा थप जटिल हुन्छ सडक मार्गमा अवरोध नगरी चलाउन।

बग्गी सवारीमा कारकेडको अगाडि प्रहरीको वार्निङ मोटरसाइकल, त्यसपछि प्रहरी अगुवा, त्यसपछि १८ वटा क्याभलरी घोडचढी हुन्छ।

अनि विशेष सुरक्षा बलको अगुवा, ६ वटा घोडाले तान्ने बग्गीमा राष्ट्रपति र बग्गीको साइडमा २ वटा क्याभलरी स्कर्ड अधिकृत समेत हुन्छन्।

त्यसपछि विशेष बलको पछुवा, १२ वटा घोडा, जगेडा कार, एआइजीको कार, एम्बुलेन्स, प्रहरी पछुवा जिपपछि प्रहरीको पछुवा मोटरसाइकल हुन्छ।

'राजकीय अनि बग्गी सवारीको शैली अनुसार सडक मार्ग अवरुद्ध नगरी सवारी चलाउन सम्भव छैन। सडक मार्ग अवरुद्ध नगर्ने हो भने निर्देशिकै संशोधन गरेर सहज पद्धति उल्लेख गर्नुपर्छ।'

अब दोस्रो आयो औपचारिक कार्यक्रम। सरकारी सूची अनुसार यो १० वटा छ।

लोकतन्त्र दिवस, गणतन्त्र दिवस, भोटोजात्रा, इन्द्रजात्रा, सेनाको फूलपाती बढाई, वसन्त श्रवण, प्रजातन्त्र दिवस, सेना दिवस, सेना दिवसको रात्रि भोज अनि घोडेजात्रा राष्ट्रपतिको सवारी राष्ट्रिय शैलीमा हुन्छ।

यसमा पनि सडक मार्ग अवरुद्ध गर्नै पर्ने प्रावधान रहेको छ।

यस्तो सवारीमा प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा जिप, विशेष सुरक्षा बलको अगुवा, छ वटा मोटरसाइकलले घेरिएको राष्ट्रपतिको कार, विशेष सुरक्षा बलको पछुवा, जगेडा कार, प्रहरी अतिरिक्त महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरीको पछुवा अनि पछुवा मोटरसाइकल सहित राष्ट्रपतिको सवारी चल्छ। राष्ट्रपतिको विदेश भ्रमणको क्रममा मिनी कारकेड प्रयोग गर्न सकिने व्यवस्था छ। त्यसमा जम्मा ६ सवारीसाधनको प्रयोग हुन्छ।

बाटो खुलाउने अगुवा कार, शिष्टाचार महापाल, विशेष सुरक्षा बलको अगुवा कार, राष्ट्रपतिको कार, विशेष सुरक्षा बलको पछुवा कार अनि अन्तिममा जगेडा कार राखेर यो सवारी चलाइन्छ। यसमा सडक मार्ग अवरुद्धै गर्नुपर्ने प्रावधान छैन।

दैनिक कार्यालय जाँदाको कारकेड भने भिन्न छ। त्यसमा ६ वटा गाडीको प्रयोग हुन्छ। प्रहरी वार्निङ मोटरसाइकल, प्रहरीको अगुवा, विशेष सुरक्षा बलको अगुवा, राष्ट्रपति, पछुवा अनि जगेडा कारसहित राष्ट्रपति कार्यालय जाने आउने गर्नेछन्।

निजी र अनौपचारिकमा सम्भव छ

पौडेलले शनिवार अपनाएको शैली अनौपचारिक अनि निजी भ्रमणको क्रममा उल्लेख गरिएको निर्देशिका अनुसारकै शैली भएको जानकार सुरक्षा अधिकारीले बताए।

राजकीय भ्रमणको क्रममा स्नाइपरसहितको विशेष टोली नै परिचालित हुने, कुन सुरक्षा निकायले के गर्ने पहिल्यै तय भइसकेकाले निर्देशिका संशोधन नगरेसम्म राष्ट्रपतिले चाहेर पनि सुधार नहुने ती अधिकारीले बताए।

तर निजी भ्रमणमा पिएसओ, विशेष सुरक्षा बल अनि आवश्यकता अनुसार प्रहरी परिचालित हुन सक्छन्। यसमा निकट सुरक्षामा पिएसओ, भित्री सुरक्षामा सेना, अनि मध्य र बाहिरी सुरक्षामा प्रहरी र सशस्त्र खटिन सक्छन्।

सवारीमार्गका लागि सम्बन्धित सुरक्षा निकायहरूले सुरक्षा योजना बनाएर सडक मार्गको सुरक्षा व्यवस्थापन गर्ने उल्लेख छ। राजकीय र ‌औपचारिकको सडक मार्ग नै उल्लेख गरेर सडक मार्ग पुरै खाली गर्नुपर्ने प्रोटोकलमै उल्लेख छ।

अनौपचारिक र निजीमा सडक मार्ग खाली गर्नु पर्दैन। कार्यालय र सचिवालयले सुरक्षा निकायसँगको समन्वयमा भ्रमणको शैली अपनाउन सक्ने उल्लेख भएकाले शनिवार सचिवालयले त्यही निर्देशिकाको उपयोग गर्यो।

५ चैत, २०७९, १५:१९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।