अनुदान कटौतीको निर्णय फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग

अनुदान कटौतीको निर्णय फिर्ता लिन किसान महासंघ रुपन्देहीको माग

भैरहवा : एमाले निकट अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देहीले कृषि क्षेत्रमा अनुदान कटौती गर्ने निर्णय अविलम्ब फिर्ता लिन  सरकारसँग माग गरेको छ।

शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाउँदै महासंघले सरकारले गरेको निर्णयले समग्र कृषि क्षेत्र र आम उपभोक्ता मारमा परेकाले निर्णय फिर्ता लिन माग गरेको हो।

‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुका सट्टा उनीहरूलाई थप मारमा पर्ने गरी आएको सरकारको यसप्रकारको गैरजिम्मेवार निर्णयप्रति अखिल नेपाल किसान महासंघ जिल्ला कार्यसमिति, रुपन्देही खेद प्रकट गर्दै घोर भ्रत्सना गर्दछ,’ ज्ञापनपत्रमा उल्लेख छ।

माग सम्बोधन नगरिए देशभरका किसान सडकमा उत्रिन बाध्य हुने र यसको जिम्मेवार सरकार हुने महासंघका जिल्ला अध्यक्ष कृष्ण पन्थीले चेतावनी दिए।

उनले भने, ‘खेतीको समयमा सदैव मलको अभाव खेपिरहेका किसानलाई अझ थप समस्यामा धकेल्ने गरी आएको अनुदान कटौतीको यो निर्णयले किसान र कृषि क्षेत्रलाई थप निरुत्साहित गरेको छ।’

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले अखिल नेपाल किसान महासंघबाट प्राप्त ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने बताए।

कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।

३ चैत, २०७९, १७:२४:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।