कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको अवसरमा आज सार्वजनिक​​​​​​​ बिदा

कैलाली र कञ्चनपुरमा खखडेहरा पर्वको अवसरमा आज सार्वजनिक​​​​​​​ बिदा

काठमाडौं : सुदूर पश्चिम प्रदेश सरकारले राना थारू समुदायको खखडेहरा पर्वका अवसरमा आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ।

होली पर्वको अन्तिम दिन खखडेहरा पर्व मनाइने गरिन्छ। राना थारू समुदायमा जिउँदो होली, मरेको होली र खखडेहराका रूपमा ३८ दिनसम्म होली पर्व मनाइने चलन छ।

होली पर्वमा श्रीकृष्ण र रामका कथाहरूलाई गीतमा ढालेर गाइने गरिन्छ। जिउँदो होली माघ पूर्णिमादेखि फागु पूर्णिमासम्म महिला र पुरुष मिलेर ढोलको तालमा गीत गाउँदै, नाच्दै मनाउने गरिन्छ।

होलीको टीकाको दिनदेखि आठौं दिन खखडेहराको दिनसम्म खेलिने होलीलाई ‘मरेको होली’ भनिन्छ। खासगरी यो होली दिउँसो र राति दुवै समयमा खेल्ने गरिन्छ।

प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीका अनुसार प्रदेश राजपत्रमा प्रकाशित २०७९ सालको बिदासम्बन्धी सूचनाअनुसार खखडेहरा पर्वको बिदा आगामी चैत १ गते कायम गरिएकामा प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले संशोधन गरी आज बिदा दिने निर्णय गरेको हो।

३० फागुन, २०७९, १०:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।