पहिलो नागरिक सुनुवाइमै आएनन् मेयर बालेन, उपमेयर सुनिताको झारा टार्ने उत्तर

पहिलो नागरिक सुनुवाइमै आएनन् मेयर बालेन, उपमेयर सुनिताको झारा टार्ने उत्तर

 

काठमाडौं : महानगरवासीको गुनासो र समस्या सुन्न पहिलो पटक आयोजना गरिएको सार्वजनिक सुनुवाइमै मेयर बालेन्द्र शाह(बालेन) उपस्थित भएनन्।

काठमाडौँ महानगरपालिकाका पदाधिकारीहरूले आफू निर्वाचित भएपछि पहिलो पटक आइतबार राष्ट्रिय सभा गृहमा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको थियो।

स्थानीय तहको निर्वाचनपछि आर्थिक वर्ष २०७९/०७९ को पहिलो सार्वजनिक सुनुवाइमै मेयर उपस्थित भएनन्। कार्यक्रममा सहभागीहरूले कार्यक्रममा बालेन नभएको भन्दै उनलाई उपस्थित गराउन माग गरिरहे। तर उनी आएनन्।

महानगरले फागुन १९ गते पहिलो सार्वजनिक सुनुवाइ गर्ने भनेर पछि फागुन २८ गते सार्यो। कार्यक्रममा महानगरवासीहरू निकै कम उपस्थित देखिएका थिए।

कार्यक्रममा सहभागीहरू खुल्ला मञ्चको व्यवस्थापनबारे आएको प्रश्नमा महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले भूमिगत पार्किङ बनाइ हाल्ने योजना नभएको दाबी गरेका थिए।

सहभागीहरूले सडक पेटी, पैदल यात्रामैत्री बनाउनुपर्ने, पार्किङ व्यवस्थापन हुनुपर्ने, विकास र सुविधा वितरणमा सरकारी कार्यालयबिच समन्वयको अभावको विषयलाई उठाएका थिए।

समावेशी र अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा ध्यान नदिएको, सार्वजनिकसाथमा नागरिकको सुरक्षाको प्रबन्ध नभएको, सार्वजनिक यातायातको व्यवस्थापन नभएको भन्दै ध्यानाकर्षण गराएका थिए।

सहभागीहरूको प्रश्नको जवाफ जनप्रतिनिधीहरुले हैन प्रशासकीय अधिकारीले दिएका थिए। उनले महानगर एक्लो प्रयासले सोचेजस्तो उपलब्धि नदेखिने, अनावश्यक तार झिक्ने, होर्डिङ बोर्ड हटाउने कामलाई तीव्र बनाइएको, सार्वजनिक यातायात प्रणाली र पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखिएको दाबी गरेका थिए।

महानगरकी उपप्रमुख सुनिता डङ्गोलले जनप्रतिनिधिको मुख्य दायित्व जनताको सेवा गर्नु रहेको झारा टार्ने सम्बोधन गरेकी थिइन्।

२८ फागुन, २०७९, २१:१८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।